२४-३० जेठ २०७२ | 7-13 June 2015

पूर्वी पहाडको परकम्प

Share:
  

पुस्तक लाटो पहाड (कथा संग्रह)

लेखक उपेन्द्र सुब्बा

प्रकाशक फिनिक्स बुक्स

पृष्ठ २२२,

मूल्य रु.३००

भूकम्प र परकम्पहरूले उद्वेलित मन शान्त र स्थिर बनाउने अनेकौं सूत्र मनोविद् तथा मनोचिकित्सकले पस्किरहेको देखिन्छ। यो पंक्तिकारको भने एउटा लाटो सल्लाह– तपाईं उपेन्द्र सुब्बाको कथासंग्रह लाटो पहाड माथि आँखा दौडाउनुहोस्। घर, टहरा, टेन्ट वा पालमा बसेरै 'अनलिमिटेड फन' पाउनुहुनेछ। एउटा फरक 'राहत'।

सुब्बाले छुपेरुस्तम पारामा कविता लेखिरहे। खासै प्रचार चाहेनन्। यसै बीच सुब्बाले छापामा छापामारकै शैलीमा कथा लेखेको पनि देखियो। पूर्वी पहाड र त्यसमाथि पनि लिम्बू जातिका कथाहरू कमै लेखिएका बेला सुब्बाले लाटो पहाड ल्याइदिए।

लाटो पहाड मा १३ वटा कथा संग्रहित छन्। 'प्रभू माइला', 'खुङ्खार भाले', 'नसपाते बूढा', 'थोते साइँलो', 'मानसिंको चैते दशैं' पूर्व प्रकाशित कथा हुन् भने 'ऐंठन', 'ससुराली', 'पुचुने धामीको मरण', 'हन्दनेको बिहे', 'हरियो ढुङ्गा', 'सुगुत', 'मनमाया' र 'लाटो पहाड' अप्रकाशित। 'हरियो ढुङ्गा' बाहेक सबै कथा लिम्बू परिवेश र संस्कृतिका हुन्। रतुवा खोला वरपर ढुङ्गा कुट्ने भूटानी शरणार्थीको कथा 'हरियो ढुङ्गा' मा एउटा मूल्यवान् ढुङ्गा भेटिएपछि मूलपात्र निचुले कान्छाको परिवारमा आएको विग्रह र विछोडको मार्मिक कथा समेटिएको छ। 'ऐंठन' सपनाको स्वैरकल्पनाको कथा हो, जसमा सुब्बा अन्य आञ्चलिक कथाको तुलनामा प्रयोगधर्मी देखिन्छन्।

'लाटो पहाड' मा सुब्बाले लिम्बू समुदायको मनोविज्ञान उतारेका छन्। दलहाङ, खोक्सुङ, नसपाते बूढा, लन्डने, हन्दने, थोते साइँलो, पुचुने धामी, प्रभू माइला, मानसिं आदि पात्र एकैसाथ हास्य र करुणा रस पैदा गर्छन्। कथामा पात्र नै मियो देखिन्छन्। यस अर्थमा कथानक माथि पात्र हावी भएका छन्। आफ्नै परिवेशका पात्रका कारण सुब्बा चरित्रको गठन, उठान र चित्रणमा समर्थवान् नै देखिन्छन्।

'सुगुत' का दलहाङ श्रीमती बितेको दश दिनपछि गाउँ फर्केको एउटा पात्र हो। उसकी श्रीमती छोरालाई जन्म दिंदा बितेकी छे। दलहाङमाथि दुई कलिला छोरी र दशदिने छोरो हुर्काउने अभिभारा थपिएको छ। दलहाङ एकातिर लिम्बू मुन्धुम अनुसार श्रीमतीको सुगुत (काँचो वायु मन्साउने विधि) कर्म गर्छ भने अर्कोतिर सालीलाई फकाएर निरस जीवनमा रस भर्न तथा छोराछोरीलाई मातृत्वको ओत दिने प्रपञ्च गर्छ। उनले लिम्बू मिथकका प्रसङ्गबाट कथालाई मौलिक अनि रोचक बनाएका छन्। ज्वाइँ नामका टिठलाग्दा पात्रहरू उभ्याउँदै भनिरहेका पनि हुन्छन्, 'लिम्बूहरूमा ज्वाइँ र कुकुरलाई बराबर इज्जत हुन्छ।'

लाटो पहाड का सबै कथा सबल छन्। तर, शीर्ष अनि सबैभन्दा लामो कथा 'लाटो पहाड' शैलीका कारण आलोचना मुक्त छैन। पटकथा शैलीमा प्रस्तुत यसमा थोरै मिहिनेत पुगेको भए अर्को कथा बन्न सक्थ्यो। दुई वा तीन कथामा टुक्र्याएर सरल बनाइन सकिन्थ्यो। यहाँनेर उनी चुकेकै हुन्। कथामा व्याकरणगत त्रुटि बग्रेल्ती छन्। लिङ्ग, वचन, पदसंगतिमा व्यापक गोलमाल छ।

यस्ता केही प्राविधिक गल्तीकै बीच पनि लाटो पहाड नेपाली आञ्चलिक कथाका फाँटमा एउटा मानक संग्रह बनेको छ।

शेखर खरेल

comments powered by Disqus

रमझम