२४-३० जेठ २०७२ | 7-13 June 2015

'यह भि बदल जायगा'

Share:
  
- शीतल दाहाल
महाभूकम्पको यातनाबाट निस्कने बेला भइसक्यो। किनकि हामीले घरमात्र होइन, देश पनि बनाउनु छ।

महाभूकम्पपछिको केही दिनपछि विदेशमा रहेका साथीसँग कुरा गर्दै मैले अनायासै भनेछु, 'म घरमै छु।' तर, म त बारीको पाटोमा टुत्रु्कक्क बसेकी थिएँ। भूकम्पले काठमाडौं, रामकोट–३ गोदामथोकको हाम्रो घर पनि भत्काएको थियो। बारम्बार भन्ने घरको त्यहाँ कुनै अस्तित्व थिएन। त्यो स्वर्ग जस्तो घरको खण्डहर म हेर्न सक्तिनँ, सम्झ्ँदै रिंगटा लाग्छ।

भूकम्पको भोलिपल्ट, १३ वैशाखको दिन अँध्यारो थियो, साँझ्मा त मुसलधारे पानी नै बर्सियो। मध्यरातमा भूकम्पसँगै मेघ गर्जी–गर्जी पानी पर्‍यो। कसलाई लागेन होला मृत्युको भय! पानीसँगै म पनि रोएँ। लाग्यो, मृत्यु यसैगरी आउँछ। भूकम्प हाम्रो मृत्युको रूप बनेर आएको छ। तर, बिहानै यस्तो चहकिलो घाम लाग्यो कि, फर्केर प्रकृतिलाई धन्यवाद दिन मन लाग्यो।

विपश्यना ध्यान शिविरको प्रवचनमा सुनिने धेरैमध्येको एउटा कथा! कथामा दुई पात्र छन्। एकजनाको हातमा हीराको औंठी छ, अर्कोको हातमा 'यह भि बदल जायगा', अर्थात् 'यो पनि बदलिनेछ' लेखिएको चाँदीको औंठी। एक समय ती पात्रका जीवनमा ठूलो बज्रपात पर्छ। हीराको औंठी लगाएको पात्र यति हतास हुन्छ उसको मनमा पटकपटक आत्महत्याको भाव पलाउँछ। चाँदीको औंठी लगाउने पात्र पनि दुःखमा उसैगरी आत्तिन्छ, तर जब उसको आँखा औंठीमा लेखिएको 'यह भि बदल जायेगा' मा पुग्छ, ऊ क्षणभरका लागि नै सही, परिवर्तनप्रति आशावादी बन्छ।

१२ वैशाखको महाभूकम्प र त्यसपछिका परकम्पहरूले हामीलाई पनि कथाका तीनै दुई पात्रको अवस्थामा पुर्‍याइदिएको छ। सधैंका लागि भावशून्य हुने या नयाँ सृजनामा अग्रसर हुने? रोजाइ हाम्रै हुन्।

भूकम्प गएको झ्न्डै डेढ महीना बितिसकेको छ। एक अर्थमा भूकम्प विगत बनेको छ। अब भूकम्पको यातनाबाट निस्कने बेला भइसक्यो। किनकि हामीले घरमात्र होइन, देश पनि बनाउनु छ। उखानै छ– एक पन्थ दुई काम। देश र घर सँगै बनाइन्छ। र, यो मौका महाभूकम्पले जुराइदिएको छ। आपत्को घडीमा सहयोगको हात बढाएर मीठा सम्झ्ना कोर्ने समय पनि हो, यो। मौका यही हो, आफूलाई सुधार्ने, परख गर्ने, सके परमार्थको अनुभव लिने।

म र म जस्ता भूकम्प प्रभावितको घर भत्किएको छ तर मन होइन। घर त अर्को बनाउनैपर्छ, नयाँ संरचनाका साथ सस्तो तर बलियो। अब बन्ने घर ८ म्याग्निच्यूडको भूकम्पले पनि भत्काउन नसक्ने बनाउनुछ, फेसबुक वालमा देखिएभन्दा सुन्दर।

यही बेला भूकम्पपीडितका नाममा भइरहेका र हुनसक्ने भेदभाव, अनियमितताका कुरामा पनि तपाईं, हामी नै सचेत हुनुपरेको छ। पीडितलाई सहयोग र न्याय गर्ने काममा एक भई जुट्नु छ। प्रतिकूल घडीमा छिमेकी, आफन्त अनि आपत् परेकालाई खुला हृदयले सहयोग गर्नेहरू नै भोलि ऐनामा हेरी मुस्कुराउन सक्नेछन्। आत्मसन्तोषको सास फेर्ने छन्, गर्वले फुल्नेछन्।

comments powered by Disqus

रमझम