३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

मजलिसको आँखा– १५: पृथ्वीनारायणको 'चार बुर्जा'

Share:
  
- क.दी.
व्यापक र पुरातात्विक सूझबूझका साथ जीर्णोद्धार नहुने हो भने पृथ्वीनारायण शाहको हनुमानढोका या बसन्तपुरको 'चारबुर्जा' चाँडै नै उनी जस्तै इतिहास बन्नेछ!

हामीले यस स्तम्भको अघिल्लो प्रकरणमा नेपालका तीनओटा 'चार–बुर्जा' भवनहरूको चर्चा गरेका थियौं। त्यस लेखोटमा हामीले तीभन्दा पनि पुरानो र झ्न् महत्वपूर्ण अर्को एउटा 'चार बुर्जा' को उल्लेख गर्नै छुटाएछौं। त्यस त्रुटिको परिमार्जन गर्न खोजिएको छ आज यस प्रकरणमा। गएको १२ वैशाखमा ठूलो भैंचालो नआएको भए सम्भवतः हामी अझै पनि त्यस दरबारलाई सम्झ्ने थिएनौं। तर त्यो महाभूकम्पले यो दरबारका चार बुर्जाहरूमध्ये केहीलाई क्षति पुरुर्‍याएछ र मात्र हाम्रो ध्यान ऐले त्यतापट्टि गएको हो। यति हामीले स्वीकार्नै पर्छ। र हामीले झ्ण्डै बिर्सेको त्यो पुरातन सम्पदाको नाम हो बसन्तपुर दरबारको 'चार–बुर्जा', पृथ्वीनारायण शाहले नेपाल खाल्डोमा खडा गरेको पहिलो कीर्ति।

बसन्तपुर दरबारः १२ वैशाख २०७२ पहिले र अहिले।

यो चाहिं 'चार बुर्जा' अत्यन्त ऐतिहासिक हो। यसका बारेमा दुई जना विद्वान्हरूले कलम चलाएका छन् र संयोगले दुवै जनाका पुस्तक पनि एकै साल प्रकाशित भएका रहेछन् संवत् २०३३ मा। डा. जगदीशचन्द्र रेग्मीले आफ्नो शाहकालीन कला र वास्तुकला पुस्तकमा पृथ्वीनारायण शाहको स्थापत्यकलाको चर्चा गर्दा 'बसन्तपुर दरबार' भनेर पाँच पृष्ठ (४४–४९) दिएका छन्। गौतमबज्र बज्राचार्यले भने एउटा पूरै पुस्तक यस दरबार परिसरका सम्बन्धमा लेखेका छन् हनुमानढोका राजदरबार नामको। स्वाभाविक छ, हनुमानढोका नै विषय भएकाले गौतमबज्रजीले निकै विस्तृत र गहिरो अध्ययन गर्न भ्याएका छन् यस दरबार वरिपरिको। त्यसै हुँदा यी चार बुर्जाका बारेमा पनि उनले निकालेको निष्कर्ष विश्वसनीय लाग्छ। शुरूमा उनले लेखेका छन्– 'यस चोकको चार कुनामा रहेका बुर्जाहरूको नाम वि.सं. १८८७ मा टिपिएको श्री बखतमानसिंह बस्नेतको संग्रहमा रहेको एउटा कागजमा दिइएका छन्। त्यस अनुसार आग्नेय कोण (दक्षिण–पूर्व कुना) को बुर्जालाई विलासमन्दिर, नैऋत्य कोण (दक्षिण–पश्चिम कुना) को बुर्जालाई वसन्तपुर कैलाश, वायव्य कोण (पश्चिम–उत्तर कुना) को बुर्जालाई बङ्गला तथा ईशान कोण (पूर्व–उत्तर कुना) को बुर्जालाई लक्ष्मीविलास मन्दिर भनी लेखिएको छ। यी चारै बुर्जाको निर्माण पृथ्वीनारायण शाहले गराएका हुन् भनी लेखिएको छ।'

तर, त्यसैको अलि तल गएर उनले भनेका छन्, “...उपरुर्युक्त शिलालेख र वंशावलीको आधारमा विचार गरी हेर्दा वसन्तपुर कैलाश र विलासमन्दिर पृथ्वीनारायणका समयमा र लक्ष्मीविलास, बङ्गला आदि अरू बाँकी भाग प्रतापसिंहका पालामा बनेका देखिन आएका छन्।” (पृ. १२९)। गौतमबज्रले यो 'चार बुर्जा' या 'चौक्वाथ' भनिने स्थापत्यकलाको विकास मल्लकालमा भैसकेको सिद्ध गरेका छन्। त्यसका लागि उनले 'गोपालवंशावली' लगायत धेरै वंशावली तथा ठ्यासफूहरूको हुलिया दिएका छन्। चारकुने चोकका साथै माथि 'पञ्चपुर' अर्थात् पाँच बुर्जा भएका भवनहरू समेत निर्माण भएका थिए मल्लकालमा भनेका छन् उनले।

शाहकालमा सीमित भएकाले डा. रेग्मीले भने मल्लकालपट्टि चियाएकै छैनन्। शाहकालमा पनि उनले वंशावली र अरू स्रोतभन्दा सुन्दरानन्दको त्रिरत्नसौन्दर्यगाथा लाई धेरै पछ्याएका छन् र त्यसबाट उनले केही चाखलाग्दा कुरा पनि झिकेर पस्केका छन्। उदाहरणार्थ, पृथ्वीनारायण शाहका अन्यत्र कतै जान्न नपाइएका 'खूबी' बखानेका रहेछन् सुन्दरानन्दले। यसरीः पृथ्वीनारायणले “कान्तिपुर राजधानीमा विराजमान हुँदा अन्तःपुरीको चमत्कार शोभा बढाउना र यश कीर्ति राषना निमित्त बसन्तपुरमा कोट बनाउना निमित्त शुद्ध बुद्धि हितचित्त भयाका हरिवंश नामा ब्राह्मणलाई हुकुम गर्दा भया। ती राजा आफु पनि नाना तह्रका विचित्र शिल्पविद्यामा अभ्यास गर्ने भयाका, ती राजा समान एस नेपालभरमा शिल्पविद्याकन जान्या कर्मी नभूतो नभविष्यति। ... ती राजाले नेपालका नाना वर्ण जातिका मस्त मस्त पुरुषकन शिल्पविद्या सिकाउँदा भया। ढुङ्गाको, फटिकको, हस्तीदन्त भयो, सिसा भयो, चित्र विचित्र रंग भयो, वर्ण वर्णको वज्रलेप भयो, इसिपात आदि भयाका लोहाको कामकन लोहारलाई सिकाउँदा भया। एस्ता एस्ता काममा सिपालु कालिगर कर्मीहरूकन बटोली वसन्तपुरीनामा जगह बनाउनाकन भूमी परीक्षा गराई वास्तु नागकन पूजा गरी वास्तु बसा(ल्या)।” (पृ.४७)

ऐले त बसन्तपुर भन्ने नाम नै 'दरबार' बाट माथि उक्लेर एउटा इलाका या टोल नै भैसकेको छ। यस्तो अवस्थामा त्यस दरबारभित्रका विभिन्न नाम गरिएका ती चार बुर्जालाई कल्ले सम्झोस्, तर यो १२ वैशाखको महाभूकम्पले यी चार बुर्जामा पनि निकै क्षति पुरुर्‍याएकाले मान्छेले सम्झ्न कर लागेको छ। किनभने, बसन्तपुर भन्ने नाम कायमै रहे पनि यी चारओटा बुर्जाको अस्तित्व चाहिं संकटमै छ। कारण, यी चारमध्ये 'विलासपुर कैलाश' र 'बङ्गला' भन्ने बुर्जा भत्केका छन् र विलास मन्दिर भनिने सबभन्दा अल्गोको चाहिं माथ्लो दुई तला केही झुकेको छ।

comments powered by Disqus

रमझम