३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

नसुर्ताऊ म्यागी!

Share:
  
- महेश थापा
लभ्ली म्यागी! संसारको सबै ढोका बन्द भए'नि तिम्रो लागि नेपाल देश छँदैछ।

प्यारी म्यागी,

महाभूकम्प गएको डेढ महीनामा पनि परकम्पले हायलकायल पार्न छोड्या छैन। यहीवेला छिमेकी देशमा तिमीले दश म्याग्निच्यूडको धक्का थेग्नुपरेको सुन्दा साह्रै भरङ्गिएको छु। भूकम्पनले हाम्रो जमीनमा धाँजा फाट्यो, तिम्रो त जगमै भ्वाङ पारेको खबर सुनें। यतिवेला पाताल प्रवासी होइएला कि भनेर तिमी पिरोलिएकी हौली। चेपुवामा परेको बखत मन पनि नकारात्मकतातिरै ढल्किन खोज्छ, तर ढुक्क होऊ प्रिय! 'बेस आइसोलेसन' गरिएको तिम्रो जब्बरे महलका लागि यस्ता धक्का झारपाते साबित हुनेछ, जस्तो कि विगतमा भएको थियो।

सिसा र अजिनोमोतो बढ्तै ठोकिएको भन्दै देशभित्रका प्रान्तीय सरकारहरूले भटाभट प्रतिबन्ध लगाउन थाल्दा बेलायत र सिङ्गापुरले पनि तिम्रो विशुद्धतामा प्रश्न उठाउँदै जाँचको फरमान निकालेछन्। अब यो बतासलाई पछ्याउँदै अरू दुई/चारवटा देशले पनि नखरा देखाइटोपल्लान्, देखाउन्। 'देश खाई शेष' भएकी तिमीले क्षणभंगुरतासँग उतर्सिने कामै छैन। नानाभाँतीका चकलेटाँ अनेक काण्ड मच्चिँदा कसैको केही लछारियो? मनुवाहरूले आखिरी 'मुँह मिठा' गर्न छाडेनन् नि!

कुन–कुन बजाराँ के–के खपत हुँदैछ भन्ने कुरा राज्य संयन्त्रका मठाधीश र तिनका लाउकेहरूलाई भलिभाँती थाहा छ, जो अहिले तिमीमाथि खनिन प्रलय हुनलागेको स्वाङ पारेर मर्दैछन्। तिम्रो शूर्पणखाकरण गर्न हरेक झिल्झिले डिब्बा भित्र अमृतै हुनुपर्छ, अखाद्यतत्व मिसाउन पाइन्न भन्दै कुकाइरहेका छन्। तर म्यागी, साम्यवादीमाझ् 'केही मान्छे बढी समान' भए जस्तै बजारवादमा मान्छे त सबै मान्छे नै हुन्छन्, तर केही मान्छे बढी मान्छे हुन्छन्! कुनै क्षेत्रविशेषका 'बढी मान्छे' का निम्ति तैबिसेक माल पठाएर झोरझार जति दक्षिणएशिया र अफ्रिकालाई भिडाउने तिकडम् अजमाएकै हौली भन्ने अटल विश्वासमा छु।

तिमीलाई थाहै भएको कुरा, तेस्रो विश्वको गाँठी समस्या 'रि–प्रडक्सन' हो। बन्ध्याकरणमा बम्पर उपहारको उरुङ लाउँदा पनि 'रि–प्रडक्सन' उर्लिएकोले तेस्रो विश्वमा मान्छेको भाउ कौडीमा हुन्छ। यसपालि तिम्रो स्वर्गमा आसुरी हमला हुनु एक किसिमको भवितव्य नै हो। लेकिन, चिन्ताको कौनै बात छैन, लभ्ली म्यागी! संसारको सबै ढोका बन्द भए'नि तिम्रो लागि नेपाल देश छँदैछ।

नेपालाँ पनि मेरो हुक्कापानी बन्द गराएर साखुल्य पल्टिन्छौ भन्दै ओंठ लेप्राउनु अघि तिमीले बुझनुपर्छ कि यो त दिल्लीमा पानी पर्दा यता काठमाडौंमा छाता ओढ्ने थिति धानेको मात्र हो। ओखती भन्दै किरानापसलबाट विषादी ठेलिने अजब नेपालमा सुर्ताउनु पर्दैन– तिमी हिजो पनि डार्लिङ, आज पनि डार्लिङ र भोलि पनि डार्लिङ। हाम्रातिर टीनका डिब्बा र प्लाष्टिक पोकाका खान्कीमा पत्ती, काँटी, सिसा, आर्सेनिक र कोलिफर्मदेखि भाइरससम्म चल्छ भने अजिनोमोतो र ढुसी खाने चिजै हो।

एकबारको जुनीमा मान्छेले नमरी धरै नभएकाले हामी नेपाली बाँच्नेमा भन्दा लगानीको वातावरणमा बढ्ता ध्यान दिन्छौं। फेरि, नेपालाँ भूकम्पपीडितलाई म्याद गुज्रेका सडियल जिनिस ठेल्ने विश्व (अ)खाद्य कार्यक्रमले पनि तिम्रो पक्षमा दर्विलो लबिइङ गर्नेमा पनि कुनै शंका नाइँ। भर्खरै अगुल्टो भेटेको रनाहमा तिम्लाई यो सब गफजस्तो लाग्ला, तर म नेपाली खाद्यबजारमा मैमत्तहरूलाई लगाम कस्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको न्वारानमै दोष छ भनेर तिमीलाई विश्वस्त पार्दछु। त्यसले गुणलाई नियन्त्रण गरेर दुर्गुणलाई खुला छाड्ने कुरामा तिमी विश्वास गर, डार्लिङ।

तिम्रा प्रचारकहरूलाई अदालतले उर्दी जारी गरे'सि बलिउडे 'ब्रान्ड एम्बेसडर'हरू शीताङ्गिएकोमा पनि कौनो चिन्ता नलिनू, यता कलिउडेहरू मरिहत्ते हुन तयार छन्। जहाँसम्म अधिकारकर्मी र पत्रकारहरूको फाइँफुट्टीको कुरा छ, ढिलोचाँडो तिम्रो द्वारमा आएर बत्तिसी नदेखाई तिनको पनि जिउनी चल्दैन क्यारे! वर्षेनि अर्बौंको विज्ञापन खर्चले दिलाउन नसक्या प्रचार फोकटमा मिलेको नभुल म्यागी, तिमी। बजारको रमझ्ममा रुमल्लिने उपभोक्ता नामक जीवलाई त तिमीले राम्ररी चिनेकै छ्यौ।

खासमा म्यागी, तिम्रो–हाम्रो बहुतै जम्नेवाला छ!

comments powered by Disqus

रमझम