३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

घर बाङ्गो कि मन?

Share:
  
- मिलन बगाले
ठीकठाक घरलाई पनि बांगियो, लच्कियो, धस्सियो भनेर छिमेकीलाई अत्याउने काम कतै नबुझेर त कतै नियतवश भएको छ।

बिक्रम राई
“ज्या, घर त भसक्कै बांगिएछ। कस्तो दशा लागेछ तपाईंलाई। यस्तो घरमा कसरी बस्नुहुन्छ? वेलैमा जस्तापाता किनेर टहरो हालिहाल्नुस् अनि यसलाई भत्काइहाल्नुस्। सानोतिनो भूकम्पले घर लडिहाल्यो भने के गर्ने?”

“ओहो, तपाईंको घर त कस्तो लच्केजस्तो देखिएको, भत्काउनै पर्ने पो हो कि?” “तपाईंको घर धेरै चर्केछ, हामीलाई किचेर मार्ला जस्तो भो। मिस्त्री बोलाएर फुटाइहाल्नुस्।”

“ज्या, कस्तरी बांगिएछ! कठै! ओहो! आम्मै! धत! हरे!”

भूकम्पन घट्दै जाँदा धेरैलाई आफ्नो घरप्रति विश्वास बढ्न थालेको छ। त्रिपालबाट पिंढीहुँदै घरभित्र पसेर नियमित जीवनशैलीमा फर्किने उपक्रम बढेको छ। सानोतिनो चर्काइले पीर पार्न छोडिसक्यो। अलि समय अत्तालिएका बालबालिका अस्थायी अध्ययन केन्द्रहरूमा रमाइरहेका भेटिन्छन्। प्रत्येक रात अनि दिनको ११.५६ बजे, साताका प्रत्येक मंगलबार र शनिबारले धेरैलाई भित्री मनमा अलिअलि अत्याएकै छ। छिमेकी, इष्टमित्र र नातागोताले घरको चिरा समाएर मानसिक यातना दिने क्रम भने कम भएको छैन, बरु बढेकै होला। आडैमा ढल्न ठिक्क परेजस्तो देखिने अग्ला घरले वरिपरिका सद्दे घरकाहरूलाई पिर्नु पिरेको यथार्थ पनि छँदैछ। अपार्टमेन्ट वरिपरिका घरधनीहरू धेरै त्रसित छन्। होचा घरवालाबाट अग्ला घरवाला पीडित बनेको उदाहरण पनि शहरभित्रै छ। ठीकठाक रहेको घरलाई पनि त्यसै बांगियो, लच्कियो, धस्सियो भनिदिने, वर्षौंअघिको स–सानो चिरालाई आजै चर्केको, भित्रसम्म पुगेको भन्दै अत्याउने छिमेकी धेरै छन्।

नक्शा पास गरेर प्रचलित मापदण्ड अनुसार बलियोसँग बनेको बहुतले घरलाई समेत छिमेकीले 'आडैको त्यो घर ढल्न आँटेजस्तो छ, असुरक्षा भयो' भन्दै उजुर गरेको पनि भेटियो। कतिपय ठाउँमा अग्लो घरवालाको पक्ष लिएको भन्दै प्राविधिकहरूलाई पनि शंकाले हेरेको पाइयो। पालमा सँगै बसेका छिमेकीहरू आ―आफ्नो ढलान घरभित्र छिर्नेबित्तिकै एक अर्कालाई अत्याएर रमाउने यो अत्यन्तै घातक प्रवृत्ति हो।

नेपालका अधिकांश शहरमा चारपाटा चट्ट मिलेका जग्गामा अति कम घर छन्। बांगो सडकसँग जोडिएको टेढो घडेरीमा घर बनाउँदा एकतिर या दुईतिर जग्गा नछोडी टाँसेर बनाउने चलन छ, अधिकांश शहरमा। अनि त यसो हेर्दा गारो, बिम, पिलर, ढलान, घर सबै बांगै देखिन्छ। गतिलो उपकरणको अभावमा मिस्त्रीको सीप जस्तो छ, त्यस्तै बन्छ भित्तो। त्यै बांगो भित्ता हेरेर घर ढल्न आँटेको, बांगिएको भन्दै तर्सिने, तर्साउने काम भैरहेको छ।

कतिपय ठाउँमा जग धस्सिएर घर बांगिएको कि बांगो घडेरीमा बांगो भित्तोले अलिअलि कोल्टेकोल्टे जस्तो देखिएको, इन्जिनियर नै झुक्किने अवस्था पनि छ। गारो लगाउने र प्लाष्टर गर्ने ढंग नमिलेर बांगो देखिएको कि जगै धस्सिएर बांगिएको भन्ने राम्ररी बुझिएन भने गलत सल्लाह दिने काम हुन सक्छ। त्यो अवस्थामा अर्काको सम्पत्ति अनाहकमा धूलोपीठो हुन्छ। वर्षौं पुराना चिरालाई टर्चलाइट र मैनबत्ती बालेर खोज्ने काम पनि नगरौं। इष्टमित्र र छिमेकीले अत्याएको भरमा नभई स्ट्रक्चरल इन्जिनियरहरूको टीमलाई राम्ररी जँचाएर मात्र घर भत्काउने या मर्मत गर्ने निर्णय लिऊँ। आखिर अधिकांश घर पसिनाको गारो, मिहिनेतको खाँबो र पैसाको धुरीले बनेको हुन्छ। ढल्न ठिक्क परेको छ भने त वेलैमा भटाभट फोरिदिएको राम्रो। त्यो निर्मम निर्णयले आफू, परिवार, इष्टमित्र, छिमेकी र पैदलयात्रु सबैको ज्यान जोगिन्छ। त्यस्ता घर, पर्खाल लगायतका संरचना भत्काउनु ठूलै पुण्यको काम हुन्छ।

भुईंचालोले हल्लायो र भत्कायो। अब बाँकी भत्काउने, सफा गर्ने र नयाँ बनाउने जिम्मा मान्छेमा छ। विवेकी, उचित र विज्ञानसम्मत निर्णय लिने जीवको नाम मान्छे हो। समाजमा बांगा मनहरूको कमी छैन। सद्दे घरहरूलाई बांगा मनबाट बचाउनेको जय होस्।

comments powered by Disqus

रमझम