३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

तर्सिने होइन, तयारी गर्ने

Share:
  
- कुन्द दीक्षित
साँच्चिकै 'महा' भूकम्प त आउनै बाँकी छ। १२ वैशाखले हामीलाई त्यसैको तयारी थाल्न चेतावनी दिएको छ।

१२ वैशाखपछिको धरहरा।
नेपालमा १२ वैशाखमा गएको भूकम्पबारे दुइटा कुरा किटेरै भन्न सकिन्छ। एक, यो अप्रत्यासित र आश्चर्यजनक थिएन र अर्को धेरै बढी क्षति हुनसक्थ्यो।

हिमालयका अध्येता भूगर्भविद्हरूका भनाइमा मध्य नेपालमुनिका चट्टानका पत्रहरूमा संकलित दबाब १२ वैशाख र त्यसपछिका भूकम्पद्वारा निःसृत हुन सकेन। हिमालय भूगर्भविद् रजर बिलहमका अनुसार, १२ वैशाखको भूकम्पले जुन हदसम्म मध्य नेपाल मुन्तिरको चट्टानको दबाब हल हुनुपर्ने थियो, त्यो भएन। त्यसैले २०० वर्ष अगाडि जस्तै अर्को ७ रीख्टरसम्मको भूकम्प भारतको बिहार अथवा मध्य तराईमा जान सक्छ, तर कहिले भन्न सकिन्न। टरिनसकेको अर्को खतरा भनेको पोखरादेखि देहरादुनबीचको 'सेइस्मिक ग्याप' हो, जहाँ करीब ८०० वर्षसम्म महाभूकम्प गएको छैन र जमीनमुनिका चट्टानका पाप्राहरू बाङ्गिएर भाँच्चिने अवस्थामा छन्। पश्चिम नेपालमा जान सक्ने महाभूकम्पले काठमाडौंमा १२ वैशाखको भन्दा ठूलो क्षति गर्न सक्छ। पोखरा, सुर्खेत, नेपालगञ्ज, बुटवल र उत्तरी भारतका धेरै शहरमा अकल्पनीय विनाश निम्त्याउन सक्छ।

त्यसैले यति चाहिं भन्न सकिन्छ कि, साँच्चिकै 'महा' भूकम्प आउन बाँकी नै छ। बिलहम भन्छन्, “यो भूकम्पले नेपालीलाई आत्तिने होइन, तयार भएर बस्नुपर्छ भन्ने पाठ सिकाएको छ।”

अस्तव्यस्त र अन्योल

दातृ र गैरसरकारी संस्थाहरूको प्रयत्नले गएको दशकमा सरकार र जनतामा केही हदसम्म भए पनि भूकम्पको लागि तयारी गर्नुपर्छ भन्ने चेतना फैलन थालेको थियो। हरेक वर्ष २ माघमा मनाइने 'भूकम्प दिवस' का समारोहमा घरहरू कसरी भूकम्प प्रतिरोधात्मक बनाउने, तयारीका लागि खन्ने औजार, पाल, पानी कहाँ भण्डार गर्ने भन्नेबारे कमसेकम बहस हुन थालेको थियो। भन्नुपर्दा, १२ वैशाखको भूकम्पकै तयारीमा थियौं, हामी।

भूकम्पपछिका दुई महीनाले के देखाएको छ भने हाम्रो तयारी पर्याप्त थिएन। घर, विद्यालय, सरकारी अड्डाहरू कमजोर थिए, दुर्गम गाउँमा राहत पुर्‍याउन हेलिकोप्टरको कमी खट्कियो। राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र (एनईओसी) ले समन्वयको अपेक्षित भूमिका खेलेन। पहिलो हप्तामा उद्धार र राहत वितरणमा भएको ढिलाइको कारण यही थियो। सेना र प्रहरीले सीमित तालीम र साधनको भरमा धेरैको ज्यान बचाए, तर कंक्रिट भवनबाट पुरिएकालाई उद्धार गर्ने प्राविधिक तालीम र यन्त्रको भने कमी देखियो। विरोधाभासपूर्ण सरकारी सूचना र वक्तव्यले दाता र अन्तर्राष्ट्रिय जगतमा अन्योल फैलायो र नेपालको छवि नै बिगार्ने खालका अभिव्यक्ति पनि सुनिए। राहत र आर्थिक सहयोगबारे प्रष्ट नीति नहुँदा आउन सक्ने थप सहयोग पनि रोकियो। अस्तव्यस्त कर्मचारीतन्त्रका कारण काठमाडौं विमानस्थल र नाकाहरूमा अत्यावश्यक राहत सामग्री थन्किए, पीडित पर्खेको पर्ख्यै भए।

इतिहासले देखाउँछ, हरेक ८०–१०० वर्षमा भूकम्पले काठमाडौं ध्वस्त बनाएको छ। १९९० सालपछि ठीक ८१ वर्षमा यो भूकम्प आउनेथियो, आयो। अब जनता, सरकार, समुदाय र परिवार 'भूकम्प आउँछ कि आउँदैन' भन्नुभन्दा 'कुनै दिन फेरि आउँछ' भनेर तम्तयार बस्नुपर्छ।

१२ वैशाखको भूकम्प ७.८ रीख्टरको मात्र भएकोले धेरैजसो माटोका गारोका घर र मन्दिर भत्किए, धेरैको ज्यान जोगियो। ८ रीख्टरभन्दा बढीको झ्ट्का आएको भए अहिले जोगिएका कंक्रिटका धेरै भवन ढल्थे, मानवीय क्षति धेरै हुनेथियो। भाग्यले पनि साथ दियो। त्यो दिन शनिबार नभएको भए भत्किएका ३० हजार कक्षा कोठामा पुरिएर लगभग ७५ हजार विद्यार्थीको ज्यान जान सक्थ्यो। राति गएको भए धेरै मानिस घरैमा पुरिन्थे। सुक्खायाम नभएको भए 'लिक्युफाक्सन्'ले गर्दा थुप्रै घर ढल्थे।

हामी अरू धेरै भयावहबाट जोगियौं। मोबाइल फोन बिग्रेनन्, बिजुली तीन दिनभित्रै दुरुस्त भयो, बाटाघाटा अवरुद्ध भएनन्, पुलहरू भत्किएनन्। विमानस्थल सञ्चालनमै रहिरह्यो। सामुदायिक रेडियो र रेडियो नेपालले सूचनाको प्रवाह गरिदिनाले जनताले समयमै सूचित हुने मौका पाए।

अर्कोपालि यी सबै कुरा नहुन पनि सक्छ, स्थिति अझ् विकराल हुन सक्छ। त्यसका लागि १२ वैशाखबाट पाठ सिकेर तयार बस्नुको विकल्प छैन।

comments powered by Disqus

रमझम