३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

सानो तयारी

Share:
  
- नैना राई
पहिलो दिन मेरो कामको प्रकृतिबारे बुझाउलान् भन्ने सोचेकी थिएँ, तर कम्पनीका कर्मचारी त आकस्मिक विपत् नीति (इमर्जेन्सी डिजास्टर पोलिसी) पो सम्झाउन थाले!

भनिन्छ, 'विपत्ति बाजा बजाएर आउँदैन।' तर, नेपालमा भने भूकम्प बाजा बजाएरै आएको हो। कारण; नेपाल, विशेषगरी राजधानी काठमाडौं भूकम्पको उच्च जोखिममा छ भनेर हामीलाई पहिल्यै थाहा थियो। तर पनि हामीले अटेर गरेर भूकम्पप्रतिरोधी नीति र संरचना कार्यान्वयनमा चरम बेवास्ता गर्‍यौं। र, आज यो दिन भोग्नु पर्‍यो।

अमेरिकी अनुभव
म अहिले अमेरिकामा काम गरिरहेकी छु। तर, मेरो जागिरको पहिलो दिनको अनुभव नेपालका थुप्रै संस्थाहरूको भन्दा फरक थियो। नियुक्तिको पहिलो दिन कामको प्रकृतिबारे बुझाउलान् भन्ने सोचेकी थिएँ, तर कम्पनीका कर्मचारी त आकस्मिक विपत् नीति (इमर्जेन्सी डिजास्टर पोलिसी) पो सम्झाउन थाले।

यो एकप्रकारको तालीम नै थियो, जसमा प्राकृतिक प्रकोप या आकस्मिक विपत्का वेला के गर्ने भन्ने सिकाइएको थियो। पूरै कम्पनी घुमाइयो, ताकि नयाँ कर्मचारीलाई कम्पनीभित्र कहाँ के के छ भन्ने जानकारी होस्। मैले यो क्रममा भवनका आकस्मिक ढोका, विद्युत्, खानेपानी, ग्यास पाइप, आकस्मिक अवस्थामा बन्द गर्ने ठाउँ पनि देखें। विपत्का वेला भनेर राखिएका जगेडा लत्ता–कपडा, पाल, बत्ती, म्यानुअल टेलिफोन सेट, आकस्मिक फोन नम्बर, औषधिपानी, खानेकुरा आदि भवनको छुट्टै बाहिरी भाग (पार्किङ स्थल) मा राखिएको रहेछ। प्रत्येक कोठामा छुट्टै आकस्मिक ढोका, आगो संकेत गर्ने र नियन्त्रणका यन्त्रहरू राखिएको देखें। प्रत्येक तीन महीनामा कर्मचारीबीच नै आकस्मिक विपत्ति अभ्यास गरिन्छ, जसले कर्मचारीलाई विपत्का तयारीबारे सचेत भए/नभएकोबारे मूल्यांकन गर्दछ। कम्पनीकै छुट्टै भवन भए विपत्का वेला त्यस भवनमा जाने अभ्यास पनि गराइन्छ। राज्यले पनि कम्पनीले यी सबै तयारी गरेको छ/छैन प्रत्येक वर्ष अनुगमन गर्दोरहेछ। सन्तोषजनक नदेखिए कम्पनीको अनुमति नै खारेज गर्नेसम्मको कारबाही गर्ने कानून रहेछ।

हाम्रा थुप्रै नेता, योजनाविद् पटकपटक अमेरिका र अन्य थुप्रै विकसित मुलुक भ्रमण गर्छन् तर फर्कंदा यस्ता जानकारी किन ल्याउँदैनन्? किन यस्ता चाहिने कुरा देशमा लागू गर्दैनन्? खोजिनुपर्ने उत्तर यहींनेर छ।

भूकम्पलगत्तै मानिसको ध्यान भूकम्प प्रतिरोधी भवन बनाउनेतर्फ मात्रै केन्द्रित देखिन्छ। तर, प्राकृतिक विपत्तिमा क्षति कम गर्न र सुरक्षित रहन परिवार, सेवाप्रदायक संस्था, अस्पताल र निजी क्षेत्रहरूमा गरिनुपर्ने आकस्मिक तयारी के के हुनसक्छन् भन्नेतर्फ बहस भएको सुनिन्न। भूकम्पका अलावा आगलागी, बाढीपहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिसँग जुध्न तयारी गरिएको भए पनि क्षति आजको जस्तो हुने थिएन।

फलाम पग्लिएकै वेलामा काट्न सजिलो हुन्छ भने झैं नेपालको सन्दर्भमा पनि यही विपत्तिलाई नै अवसरका रूपमा उपयोग गर्ने वेला आएको छ। यसमा सरकारले नै नेतृत्व लिनुपर्छ। तर, हामी आफैंलाई पनि विपत् विरुद्धको तयारीमा लाग्न कसैले रोकेको छैन। जसका लागि धेरै ठूलो तयारी र लगानी पनि नलाग्ने रहेछ। घरबाहिर छुट्टै ठाउँमा जगेडा टर्चलाइट, औषधि, पाल, रेनकोट, छाता, खानेकुरा आदि राखिएको भए विपत्को पहिलो घडीमा थोरै भए पनि हामी आफैं सम्हालिन सक्नेथियौं, यसपटकको विपत्बाट हामीले यति कुरा त सिक्यौं होला नि!

comments powered by Disqus

रमझम