३१ जेठ - ५ असार २०७२ | 14-20 June 2015

महाभूकम्प: त्रासदीको त्यो १०० घन्टा

Share:
  
- रामेश्वर शाह
महाविपत्मा हामीबीच देखिएको सद्भाव र एकताले हाम्रो साझा यात्राको भविष्य देखाएको छ।

करीब दुईदशक भएको थियो, चीनको खासा बजार नगएको। छिमेकका दुईमित्र केबी केसी र कृष्ण खत्रीजीसँग शुक्रबार, ११ वैशाखमा जाने सल्लाह भयो, शनिबार बिहान घरमै खान आइपुग्ने गरी। छिटो निस्कन खोज्दाखोज्दै दिउँसोको २:३० बज्यो; त्यसमाथि, सिमसिम पानी! 'आजै कि अर्को साता' भन्ने द्विविधाकै बीच पानी पर्नुलाई शुभसाइत मान्दै हिंडियो। बेलुका सात बजेतिर तातोपानी पुग्दा भीरमुनिका अग्ला घर हेर्दै 'यहाँ पहिरो गए के होला!' भन्ने चर्चा पनि चल्यो।

तातोपानीमा नुहाउने ठाउँ धेरै व्यवस्थित भइसकेको रहेछ। शनिबार बिहान सातै बजे नुहाएर होटल फर्क्यौं र खासा जान आठबजे लिपिङ्गतिर उक्लियौं। गाडी चालक टेकबहादुर कार्कीले नागरिकता बोक्न बिर्सेछन्, तीन जना मात्र चिनियाँ अध्यागमनतिर लाग्यौं। तर, पुरानो नागरिकता (राजाको समयमा) बनेको भन्दै मलाई पनि चिनियाँहरूले प्रवेश अनुमति नदिएपछि गइसकेका साथी पनि फर्के। फर्किन लाग्दा भेटिएका कृष्णजीले चिनेको एक जना भन्सार कर्मचारीले चिनियाँहरूसँग कुरा गरेर खासाको बाटो खोलिदिए। १० बजे माथि पुगेर चिया खाएर फर्कंन लाग्दा केबी र कृष्णजी जुत्तापसलमा छिरे। त्यतिकैमा घरबाट फोन आयो।

कहालीको जन्म

घरमा काम गर्नेहरू आएका रहेछन्। फोनमा तिनलाई काम सम्झाउन के लागेको थिएँ, सपना (श्रीमती) जोडले चिच्याएको सुनें। के भयो भनेर सोध्नै पाएको छैन, सारा पहाड हल्लन थाले। वरपरका घरहरू चिरा पर्दै, लड्दैथिए। कोलाहलै भयो। सडकको बीचबाट माथि हेर्दै कुदेर तल्लो चेक प्वाइन्टमा पुग्दा कृष्णजीलाई देखिनँ। त्यहाँ २०० भन्दा बढी मानिस एकैठाउँमा थिए, थुप्रै भवन भत्केका, कुनै भत्कन ठिक्क थिए। अगाडिपट्टि ठूलो पहिरोले थुप्रै घर र गाडी पुरेको थियो। महाविपत्मा परेको कुरामा कुनै द्विविधा रहेन।

चौकीडाँडाबाट देखिएको परको एउटा डाँडा खस्दै गरेको।
लगातार सम्पर्कको प्रयासपछि घर–परिवार सकुशल रहेको थाहा भयो। त्यसपछि टेकबहादुरलाई फोन गर्दा उनी पनि सकुशल रहेछन्। आफू बसेको ठाउँ भने कत्ति पनि सुरक्षित थिएन। तर कता जाने, केही सुझेन। त्यतिकैमा अर्को ठूलो झट्का आयो, ठूलो कोलाहल मच्चियो। चिनियाँ प्रहरीहरूले सडकछेउको ठूलो भवन बीचबाट कुदेर तल जान भने। अनि माथिबाट जे झारे पनि थुप्रिने ठाउँमा ओत लाग्न पुगियो।

देश बाहिर, परिवारभन्दा टाढा अनि निरन्तर भूकम्पन। त्यतिकैमा छोराको फोन आयो। उसले 'धरहरा छैन, भक्तपुरतिर बेहाल छ' भन्दा मन झनै व्यग्र भयो। त्यत्तिकैमा आएको अर्को ठूलो झट्काले पुल पारिको डाँडा खसायो। त्यसले सडकछेउका मानिस, गाडी, घर सबै सोहोरेर लगेको देखें। प्रलयको त्यो दृश्य नसकिंदै पानी दर्किन थाल्यो। त्यतिकैमा चिनियाँहरूको टोली तलतिर आयो। स्थानीय ठूलै नेता हुनुपर्छ, अगाडि–पछाडि सुरक्षाकर्मी सहित आएर चिनियाँ भाषामा केही भने। 'नआत्तिकन बस्नु, हामी सबै व्यवस्था गर्दैर्छौं' भनेका रहेछन्।

साथीहरू नेपालतिर लागौं भनिरहेका छन्, तर तल ठाडो भीर र खोला छ, बाटो थाहा छैन। समय पनि घर्किंदै, चिसो पनि बढ्दै थियो। एकै छिनका लागि खासा उक्लेका हामी गर्मी मौसमकै कपडामा थियौं। चाउचाउको कार्टुन ओछ्याएर भुईंमा बसेको एकै क्षणमा भिजी हाल्यो। केही पर दुई–चार परिवार चिनियाँ रहेछन्, साथीहरूले त्यतै जाउँ भन्न थाले। बेलुका ८ बजेतिर पानी, चाउचाउ, बेकरी र जुस लिएर आएको चिनियाँ टोलीले त्यहाँका चिनियाँहरूलाई थपीथपी ती चिजबिच दिए। हामीलाई चाहिं केही नदिई गए। मैले आफ्नो देशको संस्कृति सम्झिएँ।

पालमुनिको आश्रय र खान्की।
डर–त्रासमा मुख, घाँटी सुक्छ भन्थे, हो रहेछ। मैले लाजै पचाएर पानीको लागि हात पसार्दा चिनियाँहरूले नदेखेजस्तो गरे। मुखै फोरेर 'वाटर प्लिज' भनेपछि आधा लीटर पाइयो। हामीले पालैपालो घाँटी भिजायौं। त्यसपछि, कृष्णजी र केबी 'हामी पाँच मिनेटमा नफर्के तलै आउनुस्' भन्दै उँधो झरे। डाँडामुनिको ओरालो कत्ति पनि सुरक्षित थिएन। बरु माथि नै रूखहरूले छेक्ला कि भन्ने थियो। कठ्यांग्रिंदै माथि नै बसिरहें। राति ९:४५ तिर केबी आएर तल जाऊँ भने। अँध्यारोमा जसोतसो तल झर्दा पुराना जस्तापाता र प्लाईको छानो हालेर ८–१० जना नेपाली भाइबहिनी बसेका रहेछन्। कृष्णजी उनीहरूसँगै कम्बलमा गुटमुटिएका भेटिए।

मैनबत्तीको उज्यालोमा ती भाइबहिनीले 'लिनुस् दाइ' भन्दै बियरको क्यान र बिस्कुट मतिर बढाए। भोकले आन्द्रा बटारिएकै थियो, मैले बियर छाडेर बिस्कुट चाहिं मुखमा ठोसें। एउटी बहिनीले 'यहीं बस्नुस् दाइ' भन्दै आफूले ओढेको पातलो कम्बल पनि मतिर सारिदिइन्। पानी परिरहेकै थियो। चिरा परेको डाँडा बगेर कतिखेर एउटै चिहान भइन्छ भन्दै आँखा झिमिक्क नपारी रात काटियो। ६० सेकेण्डको मिनेट कति लामो हुन्छ भन्ने थाहा भयो। बिहान ४:४५ मा भाइबहिनीसँग बिदा मागेर माथि नै उक्लियौं। माथि हिमालमा हिउँ देखिन्थ्यो, डाँडाहरू क्षतविक्षत थिए। हिजो राति १० बजेबाट घरमा सम्पर्क भएको थिएन।

आतंकित आइतबार

चिनियाँ अधिकारीहरू 'नेपाल जाने बाटो सबै पुरिएको' भनिरहेका थिए। तत्कालै उद्धारको कुनै आशा नदेखेपछि एक घुट्को पानीको लागि हिरिक्–हिरिक् हुँदै बस्नुभन्दा सीमा काट्न उचित लाग्यो, तर हिजो अहिल्यै हिंडौ भन्ने साथीहरू नै हच्कन थाले। सीमाको अवस्था बुझ्दा 'सबै सकियो रे' भन्नेसम्मको जानकारी मिल्यो। आतेस लागेर ठूलै स्वरमा कराएँ– “नेपाल जाने कोही हुनुहुन्छ?”

एकैक्षणमा १५–१६ जना तयार भए। तीमध्ये एक–दुईलाई छोटो बाटो पनि थाहा रहेछ। अब आँट मारेर बसेका साथीहरू पनि तयार भए। पहिरो उक्लिंदै र ओर्लिंदै साढे सात बजे चिनियाँ अध्यागमन पुग्यौं, तर पारि जानदिने आदेश छैन भन्दै ८:३० बजे मात्र छोड्यो। मितेरीपुल यता सडक, घर सबै पहिरोमुनि थिए। पूरै ध्वस्त लिपिङ्ग बजारमा मानवीय क्षतिको अनुमान गर्न सक्ने अवस्था थिएन। हामी डाँडा उक्लँदै, पहिरोमुनि झर्दै, थिचिएका घर, गाडी र अनगिन्ती लास नाघ्दै बसपार्क आइपुग्यौं। आफ्नो गाडीको अवस्था हेर्दा रुनै मन लाग्यो। मेरो गाडी अगाडि टेकबहादुरको पछाडि भाग्ने अर्को गाडीका चालकको लास थियो।

१३ वैशाखदेखि ४ दिनसम्म झण्डै ६०० जनासँगै बिताएको चौकीडाँडा।
पहिरो झारिरहेकै थियो। भाग्दै, छलिंदै बिहानको सवा नौ बजे चौकीडाँडा पुगेर भीडमा टेकबहादुरलाई खोज्दा उनी डाँडामाथिबाट हात हल्लाइरहेका थिए। उनलाई फुर्तिलो देखेर मन केही शान्त भयो। चिन्ता चाहिं कसरी घर पुग्ने भन्ने नै थियो। नेपाल पसेपछि फोन सम्पर्कको केही उपाय होला भन्नेथियो, तर चारैतिर बाटो बन्द, संचारविच्छेद र कोलाहल मात्र थियो। अब उद्धारको प्रतीक्षामा बस्ने कि बाह्रबिसेतिर हिंड्ने भनेर कल्पदै गर्दा १२ बजे ठूलो भूकम्प आउँछ भनेर चलाइएको हल्ला कानमा पर्‍यो। १२:०२ मा सानो कम्प महसूस भयो पनि।

आतंकित मानिस खुशी भए। लगत्तै दुई सयभन्दा बढी मानिस बाह्रबिसेतिर लागे।
एकैछिनमा ठूलै कम्पन आयो र केही परको मितेरी क्लबको दुईतले भवन ठूलो आवाजका साथ जमीनमा थुप्रियो। मानिसहरू चिच्याउँदै डाँडातिर भाग्न थाले। सबथोक सकिन्छ जस्तो भयो। शून्यतामा पुगेको म जहाँको त्यहीं उभिएर मृत्युलाई नजिकबाट नियाल्ने चेष्टा गरिरहेको थिएँ। अलिपरको सानो डाँडा खसेर दुई जनालाई पुर्‍यो। मैले एकैछिन अगाडि बाह्रबिसे हिंडेकाहरूलाई सम्झिएँ। १५ मिनेटपछि अर्को झट्का आउँदासम्म म उभिएको ठाउँ खाली भैसकेको रहेछ। माथिबाट टेकबहादुरले बोलाइरहेका थिए। डाँडामा पुगेर म पनि मकैबारीको डिलमा बसें। मुखमा अन्न नपरेको दुई दिन भएको थियो।

स्थानीयले त्यहीं पाल टाँग्न थाले, हामीले पनि सकी–नसकी सघायौं। पाल टाँगिसक्दा झमक्कै साँझ पर्‍यो। दुईदिनबाट थकित ज्यान पालभित्र बस्न नपाउँदै आँखा लाग्यो, तर केहीबेरमै अर्को झट्काले बिउँझे। स्थानीयहरूले गुन्द्रुक र भात पकाएका रहेछन्, हामीलाई दिए। असाध्यै भोक लागे पनि त्यति धेरै परिवारका लागि सानो डेक्चीमा पकाएको खान्की लिन अप्ठ्यारो लाग्यो, तर उनीहरूले कर गरेर खुवाए। उनीहरूको घर पूर्णरूपमा ध्वस्त भएको रहेछ, भोलिको व्यवस्था थिएन, तर कत्रो मन! आजन्म बिर्सन सक्दिनँ– त्यो गुन्द्रुक र भातको स्वाद अनि तिर्न सक्दिनँ त्यसको मूल्य!

पानी पर्न थालेकोले चिरा परेको डाँडाहरूमा पहिरोको सम्भावना बढ्यो, तर भाग्ने ठाउँ थिएन। १० बजे फेरि जोडले हल्लायो र नजिकैबाट ठूलो आवाज आयो। डाँडा खस्यो भन्दै सबै चिच्याए।

सकसको सोमबार

गाडीको हालत।
तेस्रो दिन बिहान लिपिङ्गको एनसेल टावर चलाउनु पर्‍यो भनेर सशस्त्र प्रहरीका इन्स्पेक्टर टीजे बस्नेतसँग कुरा गर्दा उनले १० जनाको टोली तयार पारे, तर जेनेरेटर चलाउने प्राविधिक माथि जानै मानेन। जानीजानी मृत्युको मुखमा जान के मानून्! अनि मितेरी क्लबका दुई तन्नेरी तयार भए। टोली लिपिङ्गतर्फ लाग्यो, संचार चल्ने आश भयो। घाइते र पुरिएका लास निकाल्न तथा राहतको लागि संचार निर्विकल्प थियो।

त्यही वेला केबी र टेकबहादुरले कृष्णजी हिंडेर अगाडि गएको सुनाए। हत्तेरी, मैले टाउकोमा हात राखें। उनको सलामतीको कामना गर्नुबाहेक अर्को उपाय थिएन। त्यहीबीचमा लिपिङ्गतिर धुवाँको मुस्लो देखियो। हामीले ठान्यौ, जेनेरेटर चल्यो तर पड्केको रहेछ। निकैबेर पछि सशस्त्र प्रहरीको टोली तारका त्यान्द्राहरू बोकेर आयो। तीन दर्जन घाइते र करीब २०० विदेशीसहित हामी करीब ६०० जना एउटै डाँडामा थियौं। अपरान्ह चार बजेतिर पर डाँडामा देखिएको हेलिकोप्टर यता नआई फर्कियो। त्यसको आधा घण्टापछि देखिएको अर्को हेलिकोप्टर पनि अन्तै मोडियो। त्यसपछि आएको सानो सैनिक हेलिकोप्टरले चाहिं अँध्यारो नहुञ्जेल तीन पटकमा नौ जना घाइतेको उद्धार गर्‍यो।

अर्को दिन पनि पानी परिरह्यो। चार दर्जन परिवार र बालबच्चा ओत लागेको पालमा सुत्ने–बस्ने त के टेक्ने ठाउँ समेत भएन। खाना केही भएन। बिहान हुँदा आज पनि बाँचेको खुशी लाग्यो।

हेलिकोप्टरको प्रतीक्षा

घाइतेको उद्धार र लास झिक्न त नसकेको वेला सडक खुलेर घर पुग्ने आशा चौथो दिनमा पनि पलाएन। मंगलबार बिहान ४:३० बजे उठियो, हिंड्ने सुरले। निरन्तरको पहिरो अनि बाटोमा लासमाथि टेक्दै र अर्धमृतहरूको चित्कार नसुने जस्तो गर्दै काठमाडौंबाट तीन दिन लगाएर त्यहीवेला आइपुगेका दुई जना भाइले हिंड्न निरुत्साहित गरे। त्यसपछि इन्स्पेक्टर बस्नेतसँग कुरा गर्दा सिन्धुपाल्चोकका सहायक सिडिओ र गैर–आवासीय नेपाली संघ (एनआरएन) कै केही साथी पनि त्यहाँ थुनिएको थाहा भयो। बस्नेतले कसैलाई केही सन्देश भए भन्नुस्, रेडियोबाट रिले गर्ने कोशिश गर्छु भनेपछि डा. उपेन्द्र महतोलाई आफू विपत्मा रहेको खबर लेखें। अनि हेलिकोप्टरको प्रतीक्षा शुरू भयो।

बिहान ११ बजे हिजोकै सानो सैनिक हेलिकोप्टर आएर तीन जना घाइतेलाई लग्यो। त्यसैबीच, सिडिओ र सशस्त्रका चिफ आउन लागेको सुनियो। पीडितहरू आतंकित त थिए नै, मन्दगतिको उद्धारकार्य देखेर आक्रोशित पनि। अपरान्ह ४:३० बजे सिडिओ र सशस्त्रका एकजना डीआईजी ओर्लिए– केही बोरा चामल, चिउरा र चाउचाउ लिएर। उनीहरूलाई हामी केही भनिरहेका थियौं, तर झरी र हेलिकोप्टरको आवाजले केही सुनेनन् भन्ने लाग्यो। उनीहरू तीन जना घाइते टिपेर उडिहाले।

अनि हेलिप्याड फराकिलो पारे ठूलो हेलिकोप्टर आउँछ भन्ने भयो। उत्साहित हुँदै सबै लाइन लागेर डाँडाको ठूलो खाल्डोमा ढुंगा–माटो हाल्न थाल्यौं। त्यतिकैमा एउटा समूहले एक जनालाई चोर भन्दै घिसार्दै ल्याए। हेलिप्याड बनाउन छोडेर सबै चोर कुट्नतिर लागे। सशस्त्रका भाइहरूले तत्काल नियन्त्रणमा नलिएको भए ती 'चोर' मारिन्थे होलान्।

तीन घन्टामा हेलिप्याड फराकिलो बनाइसक्दा झमक्क साँझ पर्‍यो। मनले भन्न थाल्यो– भोलि पक्कै ठूलो हेलिकोप्टर आउनेछ। आइतबार साँझबाट पेटमा अन्न पुगेको थिएन। त्यो साँझ स्थानीय दिदीहरूले आफ्नो भाग काटेर तात्तातो ढिंडो र गुन्द्रुक खान दिए। एउटा परिवार अन्तै सरेकोले अडेस लाग्ने ठाउँ पनि भयो। घरीघरीको कम्पनमा ब्युँझदै रात काटियो। अब त हेलिकोप्टरको प्रतीक्षाले पनि आजित बनाइसकेको थियो।

अन्ततः उद्धार

शनिबार बिहान तातोपानीमा फेरेको कपडा गन्हाउन थालिसकेको थियो। शरीरको सामान्य प्राकृतिक प्रक्रियामा असन्तुलन आउन थालिसकेको थियो। वरिपरि पुरिएका लास र सयौं व्यक्तिले जथाभावी त्यागेको मलमूत्रले पूरै डाँडो दुर्गन्धित हुँदैथियो। चिन्ता, उद्धार नभइञ्जेलसम्मको सुरक्षाकै थियो। चार दिनदेखि कतै फोन सम्पर्क थिएन तर स्थानीयसँग घुलमिल बढेको थियो। आफू सुरक्षित रहेको समाचार घर पुर्‍याउन नसक्दा बडो पीडा भइरहेको थियो। एक्लै हिंडेको साथी पुगे, पुगेनन् थाहा थिएन।

बिरामी लिन आएको सानो हेलिकोप्टर।
बिहान १० बजेबाट आउन थालेको हेलिकोप्टरले घाइते र विदेशीहरूलाई प्राथमिकता दिनु स्वाभाविक थियो। सोचें– फोन सम्पर्क मात्र हुनसकेको भए हामी पनि 'एयरलिफ्ट' हुन सक्थ्यौं कि! ११ बजेतिर स्थानीय नविन भाइले 'कसैलाई म्यासेज गर्नुहुन्छ भने मेरो चाइनिज मोबाइलबाट हुन्छ दाइ' भनेपछि सबभन्दा पहिले सपनालाई म्यासेज पठाएँ। त्यसपछि डा. महतोलाई 'सिन्धुपाल्चोकको चौकीडाँडामा उद्धारको पर्खाइमा छु' भनेर एसएमएस गरें।

धेरैबेरसम्म पनि जवाफ नआउँदा एसएमएस गएको भन्नेमै शंका लाग्यो। यत्तिकैमा आफूसँग रहेको एनसेल मोबाइल शनिबार रोमिङ्गमा चलेको सम्झेर अरूको ब्याट्री प्याकमा जोडेर नेटवर्क सर्च गर्दा चिनियाँ नेटवर्कमा आयो। त्यसपछि सपनालाई फोन गर्दा लागेन, डा. महतोले उठाएनन्। छोरासँग चाहिं सम्पर्क भयो र एसएमएस पाएर उद्धारको प्रयास शुरु भइसकेको बतायो। त्यसपछि फोनको ब्याट्री नसकिउञ्जेल एकपछि अर्को गर्दै अरूले परिवारसँग कुरा गरे। त्यत्तिकैमा एउटा हेलिकोप्टर आयो। अगाडि भएको सल्लाह अनुसार, मसहित तीन जना उद्धार पहलको लागि चौतारा जाने भनेर हेलिकोप्टरतिर गयौं, तर घाइतेहरूले भरिइसकेको थियो। एकजनालाई झारेर मलाई पठाउने कुरा हुँदा मैले मानिनँ। सिमसिमे पानीका बीच भूकम्पको ताण्डव जारी थियो। खोलापारि चीनपट्टि बम पड्के जस्तो आवाज आयो। यसो हेर्दा ठूलो सुक्खा पहिरो झार्दै थियो। हामी बसेको डाँडा पनि झ्ार्न लागेको भनेर उँभो हेरेको, होइन रहेछ। अनि बेस्कन भोक लाग्यो। टेकबहादुरले कताबाट हो, उही चाउचाउ लिएर आए।

म हमेसा जस्तै हेलिप्याड एरियामा गएर चाउचाउ चपाउँदै साथीहरूसँग अब के–कसो गर्ने भन्ने सल्लाह गर्दै थिएँ– सिमि्रक एअरको हेलिकोप्टर आएर घाइतेहरू लिएर गयो। हेर्दाहेर्दै अर्को हेलिकोप्टर पनि आयो। त्यसमा घाइतेहरूलाई राख्दै गर्दा इन्स्पेक्टर बस्नेत आएर मलाई पनि तानेर लगे। जिल्लिरहेको मलाई क्याप्टेनले अगाडिको सीटमा बसेर 'हेडसेट' लगाउन भने। साथीहरूसँग विदा समेत माग्न नपाउँदै हेलिकोप्टर उडिहाल्यो। मन खुशीभन्दा बढी खिन्न भइरहेको थियो। त्यत्तिकैमा को–पाइलटले यात्री सबैको नाम लेख्न भने। मेरो नाम भने पहिल्यै लेखिसकिएको रहेछ।

चौतारामा ओर्लिएपछि सिडिओ, एलडिओहरूलाई भेटेर माथिको अवस्था अवगत गराउँदै उद्धारसँगै राहतमा जोड दिन अनुरोध गर्न केही बेर दौडधूप गरें। साँझमा पानी पर्न लागेको वेला एक जना सैनिक अधिकृतले घाइते लिएर काठमाडौं जान लागेको हेलिकोप्टरमा सवार हुने व्यवस्था मिलाइदिए। साँझ ७.२६ बजे काठमाडौं ओर्लेर उद्धारमा सहयोग गर्ने सबैलाई एसएमएसबाट धन्यवाद दिएँ।

साझा भविष्य

करीब एक शताब्दीपछि हाम्रो पिंढीले महाभूकम्पको त्रासदी बेहोर्नुपर्‍यो। महाभूकम्पपछिको १०० घन्टामा मैले अनेकन् पटक मृत्युको अनुभव गरें, जीवनको लागि लालायित बनें र मृत्युको बीभत्सता नियालें। त्यो त्रासदीमा बाँचेको वयान जति पनि गर्न सकिन्छ, तर भइसकेको जनधनको अपूरणीय क्षति तथा पीडा वर्णन बाहिर छ।

यो विपत्मा देशका थुप्रै ठाउँ ध्वस्त छन्। मेरो मस्तिष्कको केन्द्रमा भने सिन्धुपाल्चोक नै छ। त्यही कारण, एनआरएनका पूर्व महासचिव रतन झाले कुन प्रभावित क्षेत्रमा खाद्यान्न लैजाने भन्दा मैले सिन्धुपाल्चोकमा लग्नु भनें। त्यसको सुरुआत गर्न सडक खुल्ने संकेत पाउनासाथ गाडीले बोक्न सकेजति दाल, चामल, चिउरा, चाउचाउ, पाल आदि लिई लिपिङ्ग गएर आफू बस्दा चिनेजानेका स्थानीय, समाजसेवी, सशस्त्र प्रहरी र मितेरी क्लबका सदस्यहरूलाई भेटें।

म लिपिङ्ग पुग्दा बाहिरकाहरू सबै गइसकेका रहेछन्, स्थानीय पीडितहरू पनि पातलिएका थिए। हामीलाई बस्न–खान दिएका दिदीहरू भने त्यही पालमुनि भेटिए। मैले लगेका चिजबीज लिन अनुरोध गर्दा उनीहरूले सरकारी हो भने मात्र सित्तैंमा लिने बताए। उनीहरूलाई सम्झाउन केही शब्दहरू खर्चनु पर्‍यो। उनीहरूसँग विदा भएर बाँकी राहत सामग्री बाँड्न क्लबलाई दिएर फर्कें।

(शाह गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष हुन्।)

comments powered by Disqus

रमझम