६-१२ असार २०७२ | 21-27 June 2015

सुखिम लिने सुर

Share:
  
- ज्ञानमणि नेपाल
१६५ वर्षअघि सुखिम (सिक्किम) लिने जंगबहादुरको योजनालाई त्यहाँका अंग्रेज विरोधी देवानको चातुर्यताले सफल हुन दिएन।

संवत् १८७२ मा अंगे्रजसँगको युद्धमा नेपालले धेरै भाग गुमाएर सुगौली सन्धि गर्न बाध्य बन्नुपर्‍यो। गुमेको जमीन फिर्ता गर्न चीनबाट सहायता लिएर अंग्रेजसँग लड्ने नेपालको इरादा थियो, तर पनि धेरै वर्ष प्रयत्न गर्दा पनि सफल नभई भीमसेन थापाको समय गुज्रेर गयो। त्यसपछि सत्तामा आएका पाँडे काजीहरूले भरिसक्य चीनसँग, नभए रूससँग पनि सहायता लिने कोशिश गरे। पाँडेहरूले भारतीय राजारजौटाहरूसँग मिली बलियो संघटन बनाउने कोशिश पनि गरे।

पाँडे काजीहरू भोटसँगको बेपारिक एकाधिकारमा आँच नआओस् र भोट पस्ने मुहुटीका नाकाहरू पनि नेपालकै अधीनमा रहुन् भन्ने मनसायले ती प्रदेशहरू लिज अथवा सट्टापट्टामा लिने प्रयत्नमा पनि लागे, भोट र चीनमा यस्ता प्रस्ताव प्रस्तुत गरिरहे। यता सुखिम चाहिं ब्रिटिशको मातहतमा गइसकेको भए पनि टिष्टायताको इलाका पहिले नेपालकै थियो। सुखिम फिर्ता गरे त्यसबाट अंग्रेजले पाउने फाइदा नेपालले नै भरिदिने अथवा त्यति आयस्ता हुने अन्यत्रको जग्गा सट्टा दिने भन्ने राजाको लालमोहर रेजिडेन्ट मार्फत ब्रिटिश–भारतमा पठाइयो पनि। तर, भोट–चीनबाट पनि कुनै प्रस्ताव स्वीकृत भएनन्, ब्रिटिशहरूले पनि यो रहस्य बुझेकाले ननुनच केही गरेनन्। नेपालले तारन्तार ताकिता गर्न पनि छाडेन।

जंगबहादुरको पालो

कोतपर्वपछि जङ्गबहादुर सत्तामा पुगे, राजा राजेन्द्र र रानी राज्यलक्ष्मी बनारसतिर लागे। राजारानी बनारसमा निचुलोसँग नबसी जंगबहादुरलाई सत्ताच्युत गर्ने खेलमा लागे। त्यो बुझेपछि जंगले सुरेन्द्रलाई सिंहासनमा राखेर उनैबाट राजेन्द्र गद्दीच्युत भएको घोषणा गराए। राजेन्द्रसँग रिसाउनु शिवाय अरू केही उपाय रहेन। उनले प्रयत्न नगरेका होइनन्, तर असफल भए। आफैंले नानी महाराजाधिराज घोषणा गरेको छोरालाई पन्साउनु सट्टा सुखिम राज्यको सिंहासनमा बस्ने इच्छा तीव्रतर भएर आयो, राजेन्द्रको मनमा।

सुखिमका कट्टर अंग्रेज विरोधी देवान तेन्जिङ्ग नामगेलले त्यहीबीचमा उद्भिदशास्त्री हुकर र पर्यवेक्षक क्याम्पवेललाई पक्रेर थुनिदिए। अब ब्रिटिश सरकार र सुखिमको बीच युद्धको स्थिति पर्न आयो। जंगबहादुर बेलायत जाने वेला हुँदै गरेको समय थियो, त्यो। जंगले यही औसर छोपेर सुखिममा आक्रमण गर्ने योजना बनाई धनकुटा गौंडाका कर्णेल कृष्णध्वज र इलामका जर्नेल कृष्णबहादुर कुँवरलाई पल्टन जम्मा गर्न, हातहतियार, गोलीगट्ठा र रसदपानी तयार पार्न आदेश दिए। (हे.बक्स) झ्टपट सुखिम दखल गरी बन्दी मुक्त गरेर साखिलो भई अंग्रेजबाट त्यो इलाका हात पार्ने जंगको उद्देश्य थियो। परन्तु, अब नेपाल र अंग्रेज दुवैतिरबाट हमला हुनेभयो भनेपछि देवानले हत्तपत्त अंग्रेज बन्दीहरूलाई छाडिदिए। यसरी कारण नै सुल्झेपछि युद्ध रोकियो।

राजाका तर्फका पनि कुराहरू लिएर जंगबहादुर बेलायत हिंडे, जसबारे कलकत्तामा वायसरायसँग कुराकानी भए। सुखिमको राजा बन्ने प्रबल इच्छा राख्ने पूर्वराजाको आग्रहलाई जंगबहादुरले हृदयङ्गम गरेका थिए– राजा पनि रिझिने, देश पनि बढ्ने हुनाले। तर, त्यो वायसरायको तहबाट सिद्ध हुने विषय नभएकोले जंगले महारानी भिक्टोरियालाई दिन पूर्वराजाको जर्दमोहर (खोसिएका राजाको पहेंलो मोहर) पनि लिएर गएका थिए। पछि गद्दीनसीन राजा सुरेन्द्रले पनि १९०७ जेठमा जंगलाई सुखिमको कुरा जाहेर गरी काम सल्टाएर आउनू भनेर बेलायतमै तागेता गरी लेखेका थिए। (हे.बक्स)

जंगबहादुरले शायद महारानीसँग सुखिमको कुरो उठाए हुन्, तर त्यो बेलायत सरकारले संसद्बाट पास गराएर मात्र हुने विषय थियो। महारानीले जंगलाई देश विकास गर्ने सल्लाह चाहिं राम्रै दिइन्– 'बाटो–घाटो नहुँदा तपार्इंको देश बहुत विकट छ, हाम्रो रेल्वे कम्पनीले पहाडै पहाड बाटो बनाइदिन्छ, त्यो सम्झ्ौता गरे बेस हुन्छ' भन्दै। जंगले नेपाल डाँडा, भीरपाखा भएको देश हुँदा रेल चल्न सक्दैन भने। महारानीले 'माथिबाट चल्न सक्दैन भने समतल पनि त छ नि' भन्दा जंगबहादुरले त्यस्तो विकासको कामतिर खासै ध्यान दिएनन्। रेल–मोटरको बाटो बन्यो भने अंग्रेजी पल्टन तोप बन्दूक छाँदेर सोझै काठमाडौं आइपुग्छ भन्ने बुझाइ जंगको थियो।

हुन पनि, नेपाल–अंग्रेज युद्धपछि ब्रिटिश सरकारले सन् १८७४ बाट उत्तर भारतमा रेल्वे लाइन विस्तार गर्न थालेको थियो। नेपाल तराईकै सखुवाका काठ र बालुवा–गिटी ओसारेर उत्तर भारतभर रेलका पटरी बिछ्याइसकेको हुँदा अब गोरखा, शिख, मराठाहरूको शक्तिले नअँचेटिने शक्ति भइसकेको थियो, अंग्रेज। त्यसपछिको ५० वर्षमा पनि नेपालको यातायातको स्थिति उस्तै थियो। देवशमशेर अलिक विकासप्रेमी भएको बुझ्ेर तात्कालीन रेजिडेन्टले कप्तान अष्टमान सिंहसँग अघिको बाटोको प्रसङ्ग कोट्याउँदै 'अघि सर जंगले पहाडबाट रेलमार्ग आउन सक्दैन भनेर टारेका थिए, मधेशबाट अंग्रेज आउलान् भनी नबनाएको भए पनि पहाडमा त अंग्रेज आउँदैनन् किन नबनाएको' भनी सोधेका थिए। अष्टमानले महाराज देवशमशेरबाट झ्िकाइबक्सेको रोलिङ्ग मेशीन आइपुगेपछि बाटो बन्छ भन्ने उत्तर दिएका थिए। (हे. कुराकानी)

पछि पनि सालका काठ र गिटी–बालुवा ओसार्ने अंग्रेजकै आवश्यकता पूर्तिको उद्देश्यले दुई–तीन वटा रेलमार्ग बने, तराईमा। राजधानी काठमाडौं जोड्ने सडकको लागि भने प्रजातन्त्र नै पर्खनु पर्‍यो। निर्वाचित सरकारको समयमा विकासका आधार तयार हुनै लाग्दा प्रजातन्त्र मासिएपछि सो रोकियो। अहिले पनि नेपालको विकास लगभग त्यस्तै गरी गतिहीन छ।


श्री ५ सुरेन्द्रले जंगलाई बेलायत पठाएको सुखिम लिने सम्बन्धी पत्र

सं. १९०७ जेष्ठ शुदि ९ रोज ३ श्री ५ महाराजाधिराजबाट श्री प्राइममिनिष्टर राणाजीकै उप्रांत सुखिम तरफको व्यहोरा श्री ५ बुबाज्युबाट तिमिलाई जर्दमोहर गरी जो लेखि पठाइबक्सनु भयाको छ तिमीले इत्तलाय दी हुन्या संमको कुरा रह्याछ भन्या त्यो कुरा पटी आयो भन्या म तिमीदेखि खुस हुन्याछु. त्यो काम गर याहां मेरो गाथमा आराम छ काम काजका अर्थ र तिमी छदामा जस्तो थियो उस्तै गरि श्रीमद्राजकुमार कुमारात्मज कम्यांडर इनचिफ जनरल बम्बहादुर कुंवर राणाजीबाट चल्याको छ।

(सुखिम सम्बन्धबाट)


नेपालमा सडक नबनेकोमा रेजिडेन्टको व्यङ्ग्य

सन् १९०३ अप्रिल २९

रेजिडेन्टः नेपालमा येक् पनि सडक् गतीलो छैन. र उता मधेस जाने बाटो त अंग्र्रेज आउलान् भनि नबनायाको हो. यांहा अंग्रेजहरू आउदैनन् कीन नबनायाको हो.

कप्तान अष्टमान सिंहः रोलीन मिशिन झ्िकाइ बक्सेको आइपुगेको छैन. (आइ) पुग्ने वित्तिकै सब सडक बन्छ.

रे. सर जंग बिलायेत जादा अंग्रेजले पाहाडबाट रेल लैजाने कुरा गर्दा पाहाडबाट रेल लैजान हुदैन. जान सक्दैन भनि सर जंगबाट हुकुम हुदा माथीबाट जान सक्दैन भने तलबाट लैजाउला भनि अंग्रेजले जवाव दीयेथे पछीपछि तस्तै टेनेलबाट रेल आउन्या छ.

क. पछि के हुन्छ के हुदैन.

रे. यहां थापाथलीमा बाहिर अफिसरहरूको यति बगी घोडाहरू छन्. अफीसरहरू देखिदैनन् काहा छन्.

क. ठाउठाउमा अफीसमा काम्मा छन्.

(देवशमशेरका पालाको कुरा पछि चन्द्रशमशेरका पालामा टिपिएको)


सुखिमसँग युद्धको तयारी

स्वस्ति श्रीमद्राजकुमार कुमारात्मज जनरल कृश्नबहादुर कुवर राणाजी काजी डिल्लीसिं बस्नातके यथोचित उप्रांत इलामका नयां श्रीनाथपल्टनका ताहा खोरखेदामा आयाका जमादार हुदा सिपाहीलाई दस्खत ताहा पुग्याबित्तिकै एक छीन विलंब नगरी इलाम खटाइदिन्या काम गर, सुखीमसंग लडायीं होला की भन्यातवर भै रहेछ। सो बुझी ताहा आयाका इलामका जमादार हुदा सीपाहीलाई चाडो पठाइदेउ धनकुटाबाट पनि श्रीजङ्का पल्टन जान्या छ.

इति सम्वत् १९०६ साल पौष वदि ३० रोज ६ शुभम्

हस्ते दलमर्दन थापा

(युद्ध तयारीका अरु पनि पत्र छन्)

comments powered by Disqus

रमझम