६-१२ असार २०७२ | 21-27 June 2015

कस्तो बस्ती?

Share:
  
- मिलन बगाले
अग्ला अपार्टमेन्ट बन्नै हुन्न भन्ने जनमत बलियो भयो भने शहरमा एक टुक्रा खाली जमीन बाँकी रहने छैन।

हिमाल आर्काइभ
१२ वैशाखको महाभूकम्पपछि कस्तो घर बनाउने, कहाँ बस्ती बसाउने भन्ने बहस चुलिएको छ। शहरमा घडेरी सानो, सडक–गल्ली साँघुरो भएको, खुला क्षेत्र सकिएको, मापदण्ड मिचिएको र असुरक्षा बढेको कुरामा जनमत बलियो बन्दै गएको छ। नयाँ बस्ती विकास गर्दा सडक चौडा हुनुपर्ने, घडेरीको न्यूनतम क्षेत्रफल बढाउनुपर्ने जस्ता कुरामा सबै एकमत छन्। सरकारी निकायहरूले पनि भवन निर्माण मापदण्ड कार्यान्वयनमा चासो देखाएका छन्। अग्ला घर बन्नै हुन्न भन्ने स्वर पनि चर्कै छ, तर फराकिलो जग्गामा सानो घर बनाएर बस्न पुग्दैन, शहरमा।

त्यस्तो अभ्यास भयो भने बचेखुचेको जग्गा सीमित व्यक्तिको बंगला परिसरभित्र पस्छ। त्यो अवस्थामा मध्यमवर्गले भाडाको फ्ल्याट पनि नपाउने भएकोले अब आकाशसँग मिलेर जमीनले धान्न सक्ने गरी व्यवस्थित र सुरक्षित बसोबासको विकल्प छैन। रात–दिन फैलिंदै गएको शहरमा असुरक्षाको जोखिम घटाउने अधिकतम उपाय अवलम्बन गरिएको बहुतले भवन बन्नुपर्छ। तर, सुरक्षाका अधिकतम उपाय अवलम्बन नगरिंदा भूकम्पमा अग्ला―अग्ला आवासीय भवन चिरा–चिरा परेका छन् र तिनीहरू नभत्किए पनि त्यहाँभित्र बस्नेहरूको मन नराम्ररी कुँडिएको छ।

रूख अग्लिंदै जाँदा टुप्पो बढी र फेद कम हल्लिन्छ। १२ र २९ वैशाखमा अपार्टमेन्टका माथिल्ला तलाहरूमा बस्नेले पनि त्यस्तै अनुभव गरे। आपत्मा लिफ्ट नचल्दा २०० देखि २५० खुट्किला पार गरेर जमीन भेट्न अति सकस भयो। त्यति धेरै आतंकित मनहरूमा सिमेन्टको त्यो जराजीर्ण संरचनामा फर्कने हिम्मत पलाउन सकेको छैन। तर, यसबाट बहुतले आवासको काम छैन भन्ने निष्कर्ष निस्कनु हुँदैन।

सुरक्षासँगै स्थानीयकरण

हामीसँग आगो निभाउने क्षमता पाँच तलासम्म र भवन भत्काउने क्षमता तीन तलासम्म मात्रै भएको खबरहरू संचारमाध्यममा आइरहेका छन्। यो अवस्थामा त्योभन्दा माथिको क्षमता विस्तार गर्ने कि निर्माणलाई त्यतिमै सीमित गर्ने? निश्चय पनि क्षमता विस्तार गर्ने।

उता गाउँहरूमा पनि सुविधा बढाउँदै बस्ती विकास गर्नुपर्ने आवाज उठिरहेको छ। सुविधा भएको ठाउँमा बस्ती घना हुन्छ र बस्ती बाक्लिंदैमा भुईंचालोबाट हुने क्षति बढ्छ भन्ने हुँदैन। मुख्य कुरा, कहाँको जमीन कस्तो छ भन्ने हो, जुन भूगर्भविद्हरूले हेरेर बताइदिन्छन्। अनुपयुक्त ठाउँ रहेछ भने पुरानो थातथलो पनि बदलेर नजिकै अर्को सुरक्षित बस्ती विकास गर्नुपर्छ। बस्ती विकासको असल योजनाले खेतबारी, पाखो, पँधेरो, वन, कुलदेवताको थान बिर्संदैन। यस्ता ठाउँबाट टाढा घर बनाइदिए ऐंचोपैंचो, मेलापर्व, जात्रापर्व, धर्म–संस्कृतिको जगमा उभिएको ग्रामीण जीवन चल्दैन। ग्रामीण विकास विज्ञहरूको सेवा चाहिने यस्तै वेला हो।

हामीलाई हावाहुरी, आगो, भूकम्प आदिको प्रकोपलाई अधिकतम रूपमा थेग्ने र सांस्कृतिक रूपमा पनि सुरुचिपूर्ण बलियो घर–बस्ती चाहिएको हो। त्यसैले, आवास विकासका लागि भूगर्भविद्, इन्जिनियर, आर्किटेक्ट र ग्रामीण विकास विज्ञहरूको समेत सेवा लिएपछि सकेसम्म स्थानीय सामग्री र मौलिक शैलीमा ध्यान दिनुपर्छ। त्यसो नगरिए नयाँ घरमा मनले बास नगर्न सक्छ। 'भूकम्प प्रतिरोधी' भन्दै सबतिर कंक्रिट उमार्नु आर्थिक हिसाबले पनि महँगो छ। कंक्रिट सबै ठाउँको हावापानी सुहाउँदो पनि हुँदैन।

ईंटा वा ढुंगाको गारोबाट बन्ने घरका लागि 'भूकम्प प्रतिरोधी भवन निर्माण निर्देशिका' छ, तर यो गाउँ पस्न सकेको छैन। अब ऋण, धन या राहतका पैसाले गाउँमा बलिया घर बनाउन निर्देशिका, नक्शा र इन्जिनियरहरू पनि गाउँ पस्नुपर्छ। परम्परागत सीपमा इन्जिनियरको कौशल मिसाएपछि गाउँमा बलिया र सुन्दर घर बन्नेछन्। भूकम्पको थर्कन थेग्ने घरको डिजाइनमा स्थानीयकरण जरूरी छ। एकनासका ढलाने डिजाइन बाँडियो भने मूर्खता हुनेछ।

'बस्ती विकासका नाममा भवन मात्र बने, साँचो अर्थमा बस्ती भएकै छैन' भन्ने प्रा. पीताम्बर शर्माको भनाइ मननीय छ। व्यवस्थित बस्ती विकासको सघन बहस चलिरहँदा 'भवन निर्माण'को चल्तीको पाटो छलेर सुरक्षित, सहज, सुन्दर र संस्कृति सुहाउँदो बस्ती विकासका लागि हातेमालो गर्नेको जय होस्।

comments powered by Disqus

रमझम