६-१२ असार २०७२ | 21-27 June 2015

विपत्माथि आपत्

Share:
  
- फुर्पा तामाङ
न रुँदा सिद्धिने न धुँदा जाने बेथा बनेको छ, रसुवाका महाभूकम्पपीडितको पीडा।

सन्चराम तामाङ र नुवाकोटको शान्तिबजारस्थित त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको भवनमा आश्रय लिई बसेका हाकु–९ मैलुङ
१२ वैशाख ११:५६ बजे महाभूकम्प आउँदा रसुवाको हाकु–९ मैलुङका आशा तामाङ (५०) को घरमा छिमेकी सहित १७ जना थिए। कम्पनसँगै पहिरो आउँदा उनीहरूले ठूलो हुरी आएको आवाज सुनेर भित्रै बसे। परिणाम, त्यसपछिको निमेषभरमै आशाकी श्रीमती र छोरा–बुहारी सहित ९ जना पुरिए। अहिले नुवाकोटको शान्तिबजारस्थित त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको भवनमा आश्रय लिएका आशाको टाउकोमा २२ टाँका छ। उनका दुई वटा करङ पनि भाँचिएका छन्।

डाँडागाँउ–८ चिप्लेटीका सन्चराम तामाङ (३०) सकुशल छन्, तर मलेशिया र अरबमा दश वर्ष दुःख गरेर बनाएको घरसँगै सर्वस्व गयो। उनले आफ्नै आँखा अगाडि पहिरोमा पुरिएर हराएका ८ जना गाउँलेलाई तान्नसम्म पाएनन्। अहिले शान्तिबजारकै त्रिशूली–३ 'ए' को भवनमा रहेका सन्चराम कति बिसन्चो छन् भने, १२ वैशाख सम्झ्ँदै उनको गला अवरुद्ध हुन्छ, आँखाबाट आँसु र्झ्छ। (हे. तस्वीर) सरकारसँग उनको एउटै माग छ– चिप्लेटीका २८ परिवारलाई सुरक्षित स्थानमा सारियोस्। “तीन वर्षअघि पहिरो आउँदा हामीले सुरक्षित ठाउँमा सारिदिनुस् भनेर जिल्लाका नेतादेखि सीडीओसम्मलाई गुहारेका थियौं”, सन्चरामले भने, “अहिले यस्तो भोग्नुपर्‍यो।”

त्रिशूली–३ 'ए' आयोजनाको सुरक्षार्थ खटिएका नारायण दल गणका जमदार गोविन्दबहादुर थापाका अनुसार, महाभूकम्पपछिको मैलुङ क्षेत्रमा चलेको पहिरोले सडक खन्ने थुप्रै कामदार, ठेकेदार, स्थानीय र वनभोजका लागि आएकाहरूलाई पुरेको छ। जमदार थापाले पनि आँटिलो निर्णय नगरेका भए स्थिति अर्कै हुनेथियो। “हामी २० जना थियौं, माथिबाट आएको ढुंगाले एकजना सिपाहीलाई ठहरै पार्‍यो”, थापा भन्छन्, “चारैतिरबाट पहिरो खस्न थाल्दा भाग्ने ठाउँ कतै भएन अनि टोलीलाई हतियार बाहेक सबथोक छाडेर भोटेकोशीमा हेलिन आदेश दिएँ।”

हातेमालो गरेर भोटेकोशी तरेको थापाको टोली पारिको भीरमा चार दिनसम्म सम्पर्कविहीन भएर बस्यो। १५ गते नजिकै आएको हेलिकोप्टरलाई आफ्नो उपस्थिति देखाउन सकेपछि टोलीको उद्धार हुनसक्यो। अहिले यो टोली ठूलोगाउँ गाविसमा घर भत्काउने, टहरा बनाउने र राहत वितरणमा सक्रिय छ। हाकुका भूकम्पपीडितलाई उद्धार गरेर नुवाकोटको शान्तिबजार र वेत्रावतीसँगै रसुवाको कालिकास्थान र धुन्चेमा राखिएको छ। करीब १०० घरपरिवार काठमाडौं गएको अनुमान छ। शिविरमा बस्नेहरू गर्मीले आत्तिएका छन्। चिसो ठाउँका उनीहरू बेसीमा प्लास्टिकको त्रिपालभित्र बस्दा निस्सासिएका छन्। त्रिपालमा घाम, पानी र हावाले सारै दुःख दिएको हाकु, गोगनेकी बुटी तामाङ (३०) बताउँछिन्।
शिविरमा चामल दिन आउने धेरै छन्, तर पकाउने वेलामा तिहुन–तरकारी र दाउरा हुँदैन। सक्नेले ग्याँस किनेका छन्। गोगनेका कमानसिं तामाङले पछि शिविर छाड्दा फिर्ता गर्ने गरी खाना पकाउने ग्याँसको माग गरे, तर दिने कसले?

बिचल्लीमा बालबालिका

रसुवाका भूकम्पपीडित ।
महाभूकम्प र त्यसपछिको पहिरोले विस्थापित बनेकाहरूको अव्यवस्थित शिविरहरूमा बालबालिका यत्रतत्र खेलिरहेका देखिन्छन्। अचानक असामान्य वातावरणमा आइपुगेका उनीहरूको पढाइ–लेखाइ अनिश्चित बनेको छ। उनीहरूको लागि दाल, चामल र चाउचाउ बाँड्ने काम त भएको छ, तर शिक्षाबारे केही सोचिएको छैन। छोराछोरीहरूको पढाइ बिग्रेकोमा चिन्तित बाबुआमा केही गर्न सक्ने अवस्थामा छैनन्।

दुःखमा परेकालाई सहयोग गर्ने मात्र हुँदारहेनछन्, फटाहाले पनि शिविरमा चक्कर मारिरहेको बुझियो। '१४–१५ वर्षका केटीहरूलार्ई राखेर पढाउने काठमाडौंमा हाम्रो संस्था छ' भन्दै केही मानिस आएको गोगनेका छेकु लामाले बताए। तिनीहरूलाई हाट्हुट् पारेर खेदेको उनले बताए।

महाभूकम्प र पहिरोमा परेका स–साना नानीबाबुहरूको अवस्था निकै कारुणिक छ। हाकु–९, गोगनेकी सुबी तामाङ (३६) १२ वैशाखमा घाँस काट्न गएको वेला पहिरोमा परिन्। सुबीका पति कमानले ८ वर्षकी छोरी कर्म डोल्मा, साढे दुई वर्षकी छोरी नूरमाया र डेढ वर्षका छोरा अनुरागलाई वेत्रावती शिविरमा ल्याएर राखेका छन्। अनुरागले आमा खोजेर हैरान पारेको कमान बताउँछन्।

त्यही शिविरमा रहेकी डाँडागाउँ–८ करुम्राङकी सानुमाया तामाङ (२७) ले घाँस काट्न जङ्गल गएको वेला भाइ र बुहारी पहिरोमा परेपछि चार वर्ष र आठ महीनाकी दुई भदैनी सम्हालिरहेकी छन्। “नानीहरू छिनछिनमा आमाबुबा खोज्छन्, कहाँबाट ल्याएर देखाइदिऊँ?” सानुमाया भन्छिन्, “हामीलाई त विपत्माथि आपत् आइलाग्यो।”

ताप्लेजुङमा गएको पहिरोले रसुवावासीलाई थप चिन्तित बनाएको छ। रसुवामा भूकम्पले धाँजा नफाटेको ठाउँ कतै छैन। लेकदेखि बेसीसम्म सबै हल्लाइदिएको छ। पानी नपर्दै कतिपय ठाउँमा सुक्खा पहिरो झ्रिरहेको छ। अब बर्खे झ्री परेपछि के होला, कहाँ जाने भन्ने चिन्ता छ। मानवविहीन बनेको लाङटाङ, हाकु, टिमुरे, डाँडागाउँ, ठूलोगाउँमा फर्केर बस्न सक्ने अवस्था छैन। समयमै सुरक्षित ठाउँ पहिचान गरेर बसोबास गराउनुपर्ने पीडितहरूको माग छ। अन्यत्र सार्ने व्यवस्था वर्षा अगावै गर्नुपर्छ। तात्तिनुपर्ने व्यक्ति/निकाय वेलैमा नतात्तिए अर्को महाविपत् अवश्यंभावी देखिन्छ।


माडी घटनाको एक दशक

'कस्ता नेता पाइएछ, दिक्क लाग्छ!'

विक्रम महतो, माओवादीले माडीमा विद्युतीय धरापमा पारेको बसका चालक
मेरो घर चितवनको माडी नगरपालिका–२ नयाँ पर्सा हो। सात कक्षासम्म मात्र पढ्न सकें। चार वर्ष हेल्परको काम गरेपछि ड्राइभर बनें। २५ वर्षे उमेरमा ना १ ख ३२४५ नम्बरको बस चलाउन थालेको एक वर्ष भएको थियो। अघिल्लो रात बगहीमा बसेर २३ जेठ २०६२ को बिहान पौने ७ बजे यात्रुले भरिएको बस भरतपुरतिर हाँके। श्रीमतीले पूजाको लागि केरा ल्याउन भनेकीले उनलाई नयाँ पर्सा चोकमा कुर्न भनेको थिएँ। तर, पौने ८ बजे बाँदरमुढे खोलामा पुग्दा ड्याङ्ग ठूलो आवाज आयो अनि बेहोश भएछु।

केही समयपछि अस्पतालमा होश खुलेपछि थाहा भयो, माओवादीहरूले यात्रुवाहक बसलाई पार्न बम ओछ्याएका रहेछन्। मैले छतमा समेत खचाखच यात्रुलाई सम्झिएँ। तीमध्ये ३८ जना यात्रुलाई ठाउँको ठाउँ मारेछन्, मसहित ७२ जना घाइते भएका रहेछौं। सादा पोशाकका तीन जना सुरक्षाकर्मी चढेको हुनाले बसलाई बमले उडाएको पछि सुनियो। हामी ड्राइभरलाई धेरै गाह्रो थियो, त्यो वेला। माओवादीले सुरक्षाकर्मी नबोक्नु भनेर धम्की दिएका थिए। सुरक्षापट्टिकाहरू पनि माओवादीलाई नचढाउनु भन्थे, तर ती दुवैमध्ये जो आए पनि रोक्ने तागत कसको?

२२ जेठ २०६२ मा चितवनको बाँदरमुढेमा माओवादीको एम्बुसमा परी दुर्घटनाग्रस्त बस।
मलाई जीउभरि सिसाले काटेको बाहेक बाहिरी चोट केही थिएन, तर भित्री चोटले कमजोर बनायो। पछिसम्म पनि कानमा त्यही 'ड्याङ्ग' आवाज आइरहन्थ्यो। घटनापछिको तीन वर्ष न्याय माग्दैमा बित्यो। बाँदरमुढे पीडित समाज बनाएर सरकारलाई दबाब दियौं। माओेवादीका अध्यक्ष पुष्पकमल दाहालले 'जनयुद्ध' को सबभन्दा ठूलो भूल भएको बाँदरमुढेमै आएर माफी माग्ने भने, तर आएनन्। हामी सोझ्ासीधाले क्षतिपूर्ति पनि पाएनौं। त्यस्तो अवस्थामा ऋणपान गरी कतार गएर चार वर्ष ट्यांकर चलाएँ। त्यहाँको कमाइले ट्रयाक्टर किनेको छु। भाडामा ढुंगागिट्टी ओसार्छु, खेत जोत्छु।

बाँदरमुढे घटनाका ७२ घाइतेमध्ये १२ जना कुनै काम गरेर खान नसक्ने अवस्थामा छन्, सरकारले पनि हेरेको छैन। न त घटनाका अपराधीहरूमाथि कारबाही नै भएको छ। म एक चालक स्टेयरिङ सम्हालेर जीवनलाई सही दिशा दिंदैछु, तर देश हाँक्नेहरूले एक थान संविधान जारी गर्न पनि सकेनन्। कस्ता नेता पाइएछ, सम्झ्ँदा सारै दिक्क लाग्छ।

(चालक महतोसँग कृष्णराज सर्वहारीले गरेको कुराकानीमा आधारित।)

comments powered by Disqus

रमझम