६-१२ असार २०७२ | 21-27 June 2015

ब्युँतन्छ पर्यटन

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
महाभूकम्पबाट धरासायी बनेको नेपाली पर्यटन ब्युँताउन विश्वभर भइरहेको 'नेपाल घुम्न जाऊँ' प्रचार उत्साहजनक छ।

गोपेन राई
भूकम्पपछिको बसन्तपुर दरबारस्क्वायर।
नयाँ–नयाँ तारे होटल, अन्तर्राष्ट्रिय विमानस्थल र अरू पूर्वाधार निर्माणका कारण नेपाली पर्यटनमा निकै फलदायी हुने आशा गरिएको २०७२ साल शुरू हुँदाहुँदै महाभूकम्प आइलाग्यो। १२ वैशाखको महाभूकम्पको धक्काले अकस्मात् रु.८१ अर्ब बराबरको विनाश गरिदिएपछि नेपाली पर्यटन क्षेत्र मूर्झाउन थालिहाल्यो। भूकम्पले धेरै होटललाई बस्न असुरक्षित बनायो भने त्यसपछिका परकम्पहरूले बुकिङ रद्द गर्ने क्रमलाई बढाइदियो।

सरकारी र निजी दुवै क्षेत्र मिलेर पञ्चवर्षीय पर्यटन कार्ययोजना बनाउँदै तथा शेराटन, मेरियट जस्ता विश्वप्रसिद्ध तारे होटलहरू आउँदै गरेको अवस्थामा महाविनाशको परिपूर्ति तत्काल नहुने भए पनि यो क्षेत्रलाई ब्युँताउन भने गाह्रो छैन। विश्वभरका नेपाली, मिडिया र अन्तर्राष्ट्रिय संघ–संस्थाले चलाएको 'नेपाललाई सहयोग गर्न चाहनुहुन्छ भने नेपाल घुम्न जानुस्' भन्ने प्रचारको गति तथा परिणामलाई हेर्दा यस्तो आशा सजिलै गर्न सकिन्छ। सगरमाथाको आरोहणको कथा समेटिएको हलिउड फिल्म एभरेष्ट यही वेला विश्वभर 'रिलिज' हुँदैछ। यसले पनि नेपाली पर्यटनलाई लिएर सकारात्मक सन्देश जानेछ। (हे.बक्स)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार, महाभूकम्पका कारण पर्यटन क्षेत्रले रु.८१ अर्ब बराबरको क्षति बेहोरेको छ। रु.१९ अर्बको त भौतिक क्षति नै भएको छ। १५ प्रतिशत होटलमा क्षति पुगेको छ भने ७४१ सम्पदा, १५०० गुम्बा र ३५० किलोमिटर पदमार्ग क्षतिग्रस्त छन्। यिनको पुनःनिर्माणमा रु.४१ अर्ब लाग्ने अनुमान छ। नेपाल आउन लागेका करीब दुई लाख पर्यटकले महाभूकम्पपछि कार्यक्रम रद्द गरे। यो वर्ष (२०१५ मा) मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण हुँदाहुँदै पनि यतिका पर्यटकले नेपाल आउन होटल बुक गरेका थिए।

२०७२ मा संविधान बनेर राजनीतिक अस्थिरताको अन्त्य होस् भन्दै पर्यटन व्यवसायीहरूले गरेको आशा पूरा हुने क्रममा छ। नेपाल होटल व्यवसायी संघ (हान) का महासचिव विनायक शाहका अनुसार, महाभूकम्प अघि देशभरका ठूला शहरमा रु.५३ अर्बको लगानीका नयाँ होटलहरू बनिरहेका थिए। यस्तो 'बुम'को अवस्थामा फर्कन पर्यटक संख्या नबढाई नहुने शाह बताउँछन्। पर्यटनविद् कर्ण शाक्य साहसिक पर्यटनका लागि नेपाल आउनेहरूलाई भूकम्पले केही असर नपार्ने बताए। “सरकारले साहसिक पर्यटनलाई ध्यान दिएर कार्यक्रमहरू ल्याए एक/दुई वर्षमै धेरै प्रगति हुनसक्छ”, शाक्य भन्छन्। (हे.बक्स)

नेपाली पर्यटनको विशाल सम्भावना भए पनि विश्वसामु प्रस्तुत गर्नै नसकिएको अवस्थामा महाभूकम्पपछिको माहोलले त्यो अवसर सिर्जना गरेको छ। यो वेला प्राचीन गाउँ–शहरका मौलिक कला, संस्कृति–संस्कार, जीवनशैली तथा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटनसँगै जंगल सफारीका लागि समेत नेपाल उत्कृष्ट छ भनेर विश्वव्यापी प्रचार गर्नुपर्छ। माउन्टेन बाइक, बञ्जीजम्प, रक क्लाइम्बिङ, र्‍याफ्िटङ, कायकिङ, चरा अवलोकन आदिलाई 'फोकस' गरेर कार्यक्रम ल्याउनुपर्ने पर्यटनविद् शाक्य बताउँछन्।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पनि भूकम्पपछिको प्रचारलाई तीव्र बनाउनुपर्नेछ। त्यसका लागि नयाँ क्षेत्रीय विमानस्थल निर्माण र काठमाडौं विमानस्थलको मर्मतसम्भार सक्नुपर्नेछ। यी दुई विमानस्थल चौबीसै घन्टा सुचारु हुने अवस्थाले आयस्तर बढेर घुम्न थालेका भारतीय र चिनियाँ पर्यटकलाई नेपालतिर तान्न सहयोग पुर्‍याउनेछ। पर्यटन मन्त्रालयका प्रवक्ता सापकोटा भन्छन्, “भैरहवा क्षेत्रीय विमानस्थल मात्रै समयमा पूरा भए पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्छ।”

आशालाग्दो संकेत

महाभूकम्पपछि पनि लाङटाङ र मनास्लु बाहेक सबै पदयात्रामार्ग सुरक्षित छन्। गोरखाको घलेगाउँ र सिउरुङवासीले परकम्पहरूकै बीचमा पनि क्रमशः २३–२४ वैशाख र १३–१४ जेठमा महोत्सवै आयोजना गरेर साहसिक पर्यटनका लागि विश्वमै उत्कृष्ट अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको सन्देश दिए। (हे.छुट्टै रिपोर्ट) लुम्बिनी, पोखरा र चितवनको सौराहामा महाभूकम्पको कत्ति पनि प्रभाव छैन। काठमाडौं उपत्यकाका विश्व सम्पदा बौद्धनाथ, स्वयम्भूनाथ तथा काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र सामान्य मर्मतपछि पर्यटकका लागि खुला भइसकेका छन्। पर्यटकस्तरका धेरैजसो होटल सुरक्षित छन् भने संचार, ब्यांकिङ, स्वास्थ्य, गाइड लगायतका पर्यटकलाई चाहिने सेवा सुचारु छन्।

महाभूकम्पको समाचारलाई विश्वभरका मिडियाले प्राथमिकता दिनु स्वाभाविक थियो, जसको नकारात्मक असर नेपालको पर्यटन क्षेत्रमा पर्‍यो। भूकम्पनपछिको हिमपहिरोले सगरमाथा आधार शिविरमा चार जना विदेशी र १४ जना नेपालीको ज्यान लियो। आरोहणको सिजनमा हिउँपहिरो जान थालेपछि बेसक्याम्पमा पुगेका सबै आरोही फर्किएको समाचारले पर्यटनमा असर पार्‍यो। तर, महाभूकम्पको दुई महीनापछि स्थिति बदलिएको छ र प्रचार पनि त्यही अनुसार भइरहेको छ।

विश्वका प्रमुख २५ पर्यटकीय गन्तव्यमा परेको काठमाडौंका सम्पदा महाभूकम्पबाट तहसनहस भएको छ र पुनःनिर्माणमा समय लाग्ने नै छ। तर, कम्तीमा भारतीय र चिनियाँहरूलाई पर्यटनका लागि काठमाडौं सुरक्षित रहेको सन्देश दिन सक्दा पनि नेपालको बाह्रमासे पर्यटन ब्युँतिन सक्नेछ। त्यसबाहेकका मुलुकका पर्यटक मूलतः असोज, कात्तिक, मंसीर, फागुन, चैत र वैशाखमा नेपाल आउने हुन्।

पर्यटन मन्त्रालयले बनाउँदै गरेको पर्यटन कार्ययोजनामा नीतिगत सुधार, संस्थागत पुनर्संरचना, सडक यातायात र हवाईसेवादेखि हस्पिटालिटी सेवासम्मको सुधार तथा विस्तारका रणनीति छन्। महाभूकम्पपछि पनि कायम रहेको कार्ययोजना अनुसार, 'नेचुरल्ली नेपाल' ब्रान्डको पुनरावलोकन गर्दै विभिन्न क्षेत्र तथा ठाउँविशेषको नयाँ ब्रान्डिङ गरेर विश्वव्यापी प्रचार गर्ने रणनीति छ। “अब प्राकृतिक–सांस्कृतिक महत्वका वस्तुहरूको संरक्षण, विकास र उपयोगसँगै ध्वस्त संरचना पुनःनिर्माणमा जोड दिइनेछ”, पर्यटन मन्त्रालयका प्रवक्ता सापकोटा भन्छन्, “स्थानीयको सहभागितामा संचालन हुने पर्यटन योजना यथावत् छन्।”


'ग्राउण्ड जिरो' धरहरा

कर्ण शाक्य

डम्बरकृष्ण श्रेष्ठ
क्षतिग्रस्त धरहरा।

नेपालमा धेरैजसो हिमाल आरोहण, बञ्जीजम्प, पदयात्रा, र्‍याफ्टिङ लगायतका साहसिक पर्यटक आउने हुनाले महाभूकम्पपछि पर्यटन खत्तम भयो भन्ने भनाइमा सत्यता छैन। त्यसबाहेक, प्राकृतिक प्रकोपपछि 'डिजास्टर टुरिज्म' शुरू हुन्छ। यसलाई म 'रेस्क्यू टुरिज्म' वा परोपकारी पर्यटन भन्न रुचाउँछु। अहिले जति विदेशी नेपाल आइरहेका छन्, उनीहरू कि त उद्धारका लागि कि भूकम्पपीडितलाई सहयोग गरौं भनेर आएका छन्।

साहसिक पर्यटनका लागि आउनेहरू भूकम्पबाट तर्संदैनन्, त्यसकारण पर्यटक संख्यामा समस्या छैन। अर्को, यहाँ सबै कुरा बिग्रिएका पनि छैनन्। ट्रेकिङ भनेको नक्शा नकोरिएको ठाउँमा पुग्नु भएकोले रुट बिग्रिए पनि पदयात्रा रोकिंदैन। भूकम्पले पदयात्रा र हिमाल आरोहणमा केही बिगार्दैन। आन्तरिक पर्यटन भने खस्किएकै छ। आन्तरिक पर्यटनको मुख्य केन्द्र पोखरा सुनसानै भएको छ। मान्छेहरू निकै डराएकाले आन्तरिक पर्यटन जुर्मुराउन एक वर्षजति लाग्छ।

भत्किएका सांस्कृतिक सम्पदा र संरचनाहरूको पुनःनिर्माण पर्यटनका लागि मात्रै नभएर राष्ट्रिय मनोबल उकास्न पनि आवश्यक छ। हाम्रा थुप्र्रै टोल/बस्ती अव्यवस्थित छन्। भूकम्पपछि त्यस्ता टोल/बस्तीमा सास फेर्न समेत मुश्किल भएको अवस्था छ। ती बस्तीहरूलाई व्यवस्थित गर्न सबै अग्रसर हुनुपर्छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदाहरू भत्किएका छन्। तिनको पुनःनिर्माण हाम्रा लागि ज्यादै कठिन छ। किनभने, युनेस्कोको युएन प्रोटोकल १९६४ अनुसार, सम्पदा संरक्षण वा पुनःनिर्माण गर्दा समकालीन निर्माण सामग्री प्रयोग गर्न पाइँदैन। यो अवस्थामा हामीले कतिपय सम्पदालाई पहिलेकै अवस्थामा नल्याउँदा पनि हुन्छ। जस्तो, फेरि धरहरा नबनाई त्यहाँ स्मृति उद्यान बनाउन सकिन्छ। अमेरिकाले ट्वीन टावरको जग 'ग्राउन्ड जिरो' मा स्मारक बनाएको छ। धराहरा भएको ठाउँमा पनि 'ग्राउन्ड जिरो' जस्तै बनाए हुन्छ। ग्राउन्ड जिरोले त ट्वीन टावरलाई अमर बनाइदिएको छ। आज न्यूयोर्क जानेहरू ग्राउन्ड जिरो नघुमी फर्किंदैनन्।

(शाक्य पर्यटनविद् हुन्।)

comments powered by Disqus

रमझम