६-१२ असार २०७२ | 21-27 June 2015

पित्तको पीर

Share:
  
- डा. सुमनराज ताम्राकार
ग्यास्ट्राइटिसको औषधि खाइरहेका र मोटोपन भएका महिलाहरूले पित्तथैलीमा हुने पत्थरीको निम्ति विशेष होशियार रहनुपर्छ।

पित्तथैलीको पत्थरी हटाउँदा आजकल दुई–तीन वटा मात्र प्वाल बनाएर अपरेशन (ल्याप कोली) गर्ने चलन बढेको छ। पित्तले शरीरमा चिल्लो पचाउने काम गर्छ। कलेजोमा उत्पादन हुने पित्तथैलीमा आएर बस्छ। चिल्लो खानेकुरा खाएलगत्तै थैलीमा रहेको पित्त पित्तवाहिनी नली हुँदै सानो आन्द्राको माथिल्लो भागमा निस्किन्छ। कुनै कारणले पित्तथैलीको चालमा सुस्तता आएर पित्तको गाढापन बढ्दा पत्थरी बन्न थाल्छ।

पित्तथैलीमा बन्ने पहेंलो रङ्गको पत्थरीमा कोलेस्टेरोल र हरियो वा खैरोमा पित्त तत्व (बिलिभर्डिन र स्टर्कोबिलिन) हुन्छ। ७० प्रतिशत कोलेस्टेरोल हुने पत्थरी २ सेन्टिमीटरदेखि ३ सेमीसम्म लामा हुन्छन्। २० प्रतिशतसम्म कोलेस्टेरोल हुने सानो आकारको पिग्मेन्ट पत्थरीमा बिलिरुबिन र क्याल्सियमको प्रचुरता हुन्छ। मिश्रित पत्थरीमा भने २० देखि ८० प्रतिशत सम्म कोलेस्टेरोल हुन्छ। पित्तथैलीको पत्थरी बालुवाको लेदो जस्तोदेखि गल्फ बल जत्रोसम्म हुनसक्छ। पत्थरी एउटै ठूलोदेखि स–साना तर असंख्यसम्म हुन्छ।

लक्षण र कारण

पित्तथैलीको पत्थरीको आकार ८ मिलिमिटरभन्दा ठूलो हुन थालेपछि मात्र लक्षण देखा पर्न थाल्छ। माथिल्लो पेटको दायाँपट्टि (कलेजो रहने ठाउँ) मा पीडा हुन्छ। यस्तो दुखाइ आधा घण्टादेखि केही घण्टासम्म बढ्दै गएर दायाँ कुमतिर सर्न पनि सक्छ। चिल्लो खानेकुरा खाएलगत्तै वा मद्यपानपछि दुख्छ। साथै वाक्वाकी लाग्ने र उल्टी पनि हुनसक्छ।

शारीरिक बनावट, लिङ्ग, उमेर, खानपान एवं जाति विशेषले पनि पत्थरीको समस्या फरक पार्न सक्छ। चारवटा एफ (फिमेल, फोर्टी, फ्याट्टी र फर्टाइल) अर्थात् चालीस वर्ष नाघेकी, मोटोपना भएकी र आमा बनिसकेकी महिलामा पित्तथैलीको पत्थरी हुने जोखिम बढी हुन्छ। गर्भावस्थामा इस्ट्रोजेन हर्मोन बढ्ने र परिवार नियोजनको साधनमा पनि यो हर्मोन पाइने हुनाले महिलाको पित्तथैली बढी पत्थरीको जोखिममा हुन्छ।

व्यक्तिको जीउडाल, तौल, पित्तथैलीको चाल र खानपिनमा पनि भर पर्छ, यो समस्या। कम रेसादार र बढी कोलेस्टेरोलयुक्त खानाले पत्थरी बन्न सघाउँछ। छिटो तौल घटाउँदा, कब्जियत हुँदा, थोरै पटक खाँदा र खानामा फोलेट, म्याग्नेसियम, क्याल्सियम र भिटामिन सी कम हुँदा पनि पित्तथैलीमा पत्थरी बन्छ। हल्का मदिरा सेवन र घरेलु तवरले बनाइएको गहुँको पीठोको रोटीले पत्थरी बन्न दिंदैन।

गोरो छालामा मेलाटोनिन तत्व कम हुन्छ। यो अझ् कम भयो भने थैलीबाट पित्त बाहिरिन समस्या पर्छ। त्यसरी पित्त थेग्रिएर बस्दा पत्थरी बन्छ। गोरा मानिसहरू बस्ने उत्तर तथा दक्षिण अमेरिका र युरोपमा यसको समस्या बढी छ। रगत टुक्रिएर, सिरोसिस एवं पित्तवाहिनी नलीको संक्रमणबाट हुने पिग्मेन्ट खालको पत्थरीको समस्या विकासोन्मुख देशमा बढी छ।

उपचार विधि

पत्थरीका कारण पित्तथैली सुन्निएको अवस्थामा केही दिन एन्टीबायोटिक औषधिका साथै 'पेनकिलर' र सलाइन पानी चाहिन सक्छ। यस्तोमा उर्सोडिअक्सिकोलिक एसिडयुक्त औषधि लाभदायक हुन्छ, तर यसलाई लामो समय चलाउनु हुँदैन, औषधि बन्द गर्ने बित्तिकै बल्झिने हुनाले।

धुलिखेल अस्पतालका अनुभवी ल्याप कोली सर्जन डा. बलराम मल्लका अनुसार, पछिल्लो केही दशकदेखि पित्तथैली नै निकाल्ने ल्याप कोली शल्यक्रियाको प्रचलन बसेको छ। यसमा २–३ वटा प्वाल बनाएर समस्याग्रस्त पित्तथैली निकालिन्छ।
पित्तथैलीमा बनेका पत्थरी पित्तवाहिनी नलीबाट सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै शरीरबाट बाहिरिन पनि सक्छ। कतिपय वेला भने पित्त वाहिनी नली, प्यान्त्रि्कयाजमै अड्केर बस्न सक्छ। त्यसरी अड्किएको पत्थरीले सुजन गराई कडा खालको जण्डिस उत्पन्न गराउन सक्छ। त्यो अवस्थामा माथिल्लो पेटमा चर्को पीडा हुन्छ। यो समस्यालाई 'मेडिकल इमर्जेन्सी' मानिन्छ। पित्त बहने नलीमा रहेको पत्थरीको उपचार प्रविधि एवं विज्ञ चिकित्सक उपलब्ध अस्पतालमा इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जियो प्यान्त्रि्कयाटोग्राफी (ईआरसीपी) प्रणालीबाट गरिन्छ।

comments powered by Disqus

रमझम