तीन भाग (मन्त्र, प्रेम र हत्या)मा बाँडिएको उपन्यासमा अहिलेको कागेश्वरी–मनोहरा नगरपालिका समेटिएको छ, जहाँ लेखकको घर छ। कागतीर्थ अर्थात् हरिहरतीर्थ गाउँमा 'वृषभ वध' को विकास गरिएको छ, जहाँ एउटा उन्मत्त 'डढेसाँढे' मान्छेभन्दा चर्चित छ। प्रजातन्त्रवादी रामप्रसाद शर्माका नाति देवेन्द्रको हुल्याहा स्वभाव डढेसाँढे जस्तै छ। बाटो उद्घाटनको तामझाममा जुटेका प्रधानपञ्च हरिभक्त खड्का सहितका ठूलाबडालाई तमासा देखाउन पुच्छरमा टीन बाँधेर डढेसाँढेलाई हुलेपछि स्कूले उमेरको देवेन्द्र एकाएक पञ्चायती प्रजातन्त्र विरोधी 'अराष्ट्रिय तत्व' बन्छ।
पुराना जिम्वाल श्रीधर पुडासैनीको शर्मा परिवारसँगको इर्ष्याको राजनीतिक रुपान्तरणले पञ्चायतको रुपरंग प्रदर्शन गर्छ। उपन्यासमा अर्मपर्म, पूजापाठ, जातीय विभेद, नारी अनुशासन आदिमा बाँधिएको जीवन–परिवेश छ। भद्र दाजु नरेन्द्रसँग भएको देवेन्द्रको भेटले उ वेलाको इन्द्रचोकको जीवनशैली मात्र नभई, २५ भदौ २०१८ मा जलेको जनसेवा सिनेमा हल, महेन्द्रको ह्विस्की प्रेम र मधुवालाको सौन्दर्य सम्झाउँछ।
प्रधानपञ्चको प्रपञ्चमा हजुरबुबालाई कालोमोसो दलिएपछि देवेन्द्र फेरि एक पटक डढेसाँढेसँग सहकार्य गर्न पुग्छ। साँढे प्रकरण दोहोरिएपछि प्रधानपञ्च र उनका आसेपासेहरू अर्को जवान साँढे ल्याएर डढेलाई गाउँ छाड्न बाध्य पार्ने योजना बनाउँछन्। डढेले प्रतिस्पर्धी साढेलाई हराउँछ तर अर्को दिन ऊ मरिरहेको भेटिन्छ। यही प्रकरणमै कक्षा १० मा पढिरहेको देवेन्द्र पक्राउ पर्छ। जेलमा एकजना कम्युनिष्ट नेतासँग संगत भएपछि उसले राजनीतिको चरित्र चाल पाउँछ। जेल मुक्त गर्ने वहानामा देवेन्द्रलाई मार्ने योजना बुनिन्छ, तर अरु कैदीले थाहा पाएकोले ऊ फरार हुन्छ। र, विना कुनै योजना 'कामरेड' बन्न पुग्छ।
मोहनसिं कठायत, कमला, शम्भु, उनकी एक्ली आमा, होटलवाल्नी मीनाकुमारीको दिनचर्यामा सामाजिक चेतना र क्रान्तिको झल्को देखिन्छ। मूल कथानकसँग सरोकारै नभएका सरस्वती जस्ता केही पात्र अनावश्यक लाग्छन्। देवेन्द्रको भाइ वीरेन्द्र कसरी निको भयो, खुल्दैन। अन्त्यमा अकस्मात् देवेन्द्रकी बहिनी पनि प्रकट हुन्छिन्। कथा टंुग्याउने हतारोसँगै इतिहासकार बल्लभमणि ढकाललाई व्यंग्य गर्न पाँच महिला पात्रको दुर्घटनाले गाउँ नै हल्लिएको तर्कले भने पाठक अन्यायमा पर्छन्। अञ्जुले बनारसमा पुष्पलाल श्रेष्ठलाई भेटेको प्रसंग पनि अति नाटकीय छ।
उपन्यासमा उनी महेन्द्रले 'विकास र राष्ट्रवादको नारामा पृथ्वीनारायण शाहलाई भजाउँदै पञ्चायतको पुष्टि गर्न खोजिरहेको' सटिक विश्लेषण गर्छन्। राजनीतिक व्यंग्यचेत 'वृषभ वध' को सर्वाधिक बलियो पक्ष हो। कथानकको खाका प्रष्ट, भाषा सरल छ। 'सरकारी मार्क्सवाद' का कट्टर आलोचक उनको रचनामा वादको गहिराइ खोज्नेहरू भने यस्तो सरलताबाट निराश बन्न सक्छन्। तर, यहींनेर ढकालको लेखकीय सफलता प्रमाणित हुन्छ। आवरणको 'डाइकट' कला उपन्यासको भाव सुहाउँदो छ।
गति सुस्त भए पनि देश नयाँ संविधान मार्फत पुनर्जागृत राष्ट्रवादको निर्माणमा छ। महाभूकम्पले भौतिक पुनःनिर्माणको बाध्यात्मक अवस्थामै धकेलिदिएको छ। विनिर्माणवादी दार्शनिक ज्याक डेरिडाको 'अन्डर इरेजर' व्याख्या अनुसार, कुनै शब्दको प्रचलित अर्थ नमान्नु भनेको त्यसलाई निषेधित वा अर्थहीन घोषित गर्नु होइन। बरु, परिवर्तित अर्थसँग जागरुक भइरहनु हो। ढकालले 'वृषभ वध' मार्फत एकैपटक अस्वीकृत र इच्छित राष्ट्रवादको झ्ाल्को दिन खोजेका छन्, जसले संघीय गणतान्त्रिक मुलुकका आमजनको अपेक्षालाई आकार दिन सक्छ।
रविन गिरी
भविष्य बताउने इतिहास
१९९१ मा लेखिएको किताबमा भूकम्प किन र कसरी आउँछ भन्ने विषयमा बनेका आमधारणादेखि वैज्ञानिक कारणसम्म समेटिएका छन्। भूकम्पमा भकारी भर्नुपर्छ, जमीन छुनुपर्छ भन्नेमा विश्वास गर्नेहरूको ज्यान गएको पुस्तकमा उल्लेख छ। पुस्तकमा ९० सालको उद्धार, राहत, विदेशी सहायता, क्षेत्रगत क्षति, भौतिक संरचनामा पुगेको क्षतिदेखि कुन अस्पतालमा कति घाइतेको उपचार भयो, कति जनालाई कस्तो चोट लागेको थियो भन्नेसम्मका विवरण छन्। विपत्लाई अवसरमा बदल्नुपर्ने भन्दै ब्रह्मशम्शेरले लेखेका छन्– 'हामीले बेफाइदाबाट फाइदा उठाउन कोशिश गर्नुपर्छ।'
उहिलेको विनाश लिपिबद्ध गरेर अहिले घटनापछि नेपालीहरुको ध्यानाकर्षण गरेको यो किताबले इतिहास बताउँदै वर्तमान र भविष्यको मार्गदर्शन गरेको छ।
सन्त गाहा मगर