१३-१९ असार २०७२ | 28 June - 4 July 2015

मजलिसको आँखा– १६ 'फोहरा दरबार'

Share:
  
- क.दी.
इतिहासवेत्ता पुरुषोत्तमशमशेर राणाले नभनिदिउञ्जेल हामीलाई वीरशमशेरले 'फोहरा दरबार' भनिने दुइटा भवन बनाएको कुरो थाहा थिएन।

२०६४ सालमा प्रकाशित पुरुषोत्तमशमशेरको पुस्तक राणाकालीन ऐतिहासिक दरबारहरू को पृष्ठ ६३ ले भन्छ– १९५४/५५ तिर फोहरा दरबार निर्माण भएपछि महाराजले त्यो आफ्ना छोरा प्रतापशमशेरलाई बकस दिए। त्यो उनकी कान्छी बडामहारानीलाई मन परेन, किनभने त्यो दरबार उनलाई पनि खूब राम्रो लागेको थियो रे! यो बुझेपछि वीरशमशेरले भने रे “किन पीर गर्छ्यौ? म तिमीलाई त्यसभन्दा पनि राम्रो अर्को फोहरादरबार बनाइदिन्छु!” नभन्दै उनै वास्तुकलाविद् जोगलाल स्थापितलाई लगाई फोहरै फोहराले सिंगारिएको अझ् भव्य अर्को दरबार बनाउन लगाएछन् महाराजले महारानी तोपकुमारीका लागि। तर त्यो नयाँ फोहरादरबार पनि पछि त प्रतापशमशेरकै स्वामित्वमा आएछ!

त्यो मुख्य (पहिलो) फोहरादरबार नारायणहिटी दरबारको अलि पूर्वतिर थियो रे! पछि अंशमा त्यो दरबार प्रतापशमशेरका जेठा छोरा माधवशमशेरको भागमा परेको थियो तर राजा महेन्द्रको शासनकालमा त्यसलाई भत्काई 'विना मुआब्जा' नारायणहिटी दरबारमा गाभियो भनेका छन् पुरुषोत्तमशमशेरले। 'चौतर्फी फोहरै फोहरा भएको फोहरा दरबार' भने प्रतापशमशेरले आफ्ना कान्छा छोरा गोविन्दशमशेरलाई दिएका थिए। त्यस दरबारको भव्यताका बारेमा धेरै कुरा सुनिन्छन् तर अब ती देख्न पाइँदैनन् किनभने ऐले त्यो दरबार अमेरिकन दूतावासको स्वामित्वमा पुगेको र सर्वसाधारणका लागि निषेधित क्षेत्र भएको छ। राजा महेन्द्रको समयमा त्यस दरबारका केही जग्रुगा अधिग्रहण भई राजदरबारमा गाभिएपछि डराएका गोविन्दशमशेरले हत्त र पत्त त्यो भवन र परिसर नै अमेरिकन दूतावासलाई बेचिदिए। त्यहाँ केही समय अमेरिकन क्लब चलेको बुझिन्छ। ऐले त्यसको प्रयोग के कसरी भैरहेछ थाहा छैन। सर्वसाधारण त त्यस परिसरको पर्खालमुनि फूटपाथबाट पनि हिंड्न पाउँदैनन्। (हेर्नू गूगल चित्र)

गूगल चित्र

त्यो फोहरा दरबारको भुईंबैठकमा एउटा ठूलो गुलाबी रंगको स्फटिकको फोहरा (रोजी क्रिस्टल फाउन्टेन) थियो, कान्छी महारानी तोपकुमारी बाहिर फोहरा पोखरीमा सखीहरूसँग पौडी खेलिसकेपछि भित्र आएर त्यो गुलाबी फोहरामा गुलाबजल चलाएर नुहाउँथिन् रे! त्यसपछि अरूहरू त्यही फोहरामा साधारण पानीमा नुहाउँथे रे! आफ्नी पियारी महारानीलाई रिझाउन वीरशमशेरले त्यो फोहरा दरबारलाई सिंगार्न र सजाउन कुनै कसर बाँकी राखेका थिएनन्। यूरोपबाट छानीछानी पाइएसम्मका राम्रा र किमती बस्तुहरू झिकाइएका थिए त्यहाँ जड्न।

त्यस दरबारको भव्यता देखी जान्ने अर्थात् प्रत्यक्ष देख्ने मान्छे अब पाउन मुश्किल छ। त्यस्तो एक जना वयोवृद्ध पुरुषोत्तमशमशेरले चाहिं आफूले देखे–जानेका कुरा सबै लेखेर नै राखिदिनुभएको छ पुस्तकमा। चाहना हुनेहरूले त्यो पुस्तक हेर्नु राम्रो हुन्रुछ। हामी भने त्यहाँबाट केही उद्धृत गरेर पस्कन्छौं : “माथिल्लो 'हल' मा 'वेस्टमिन्स्टर कार्पेट' बिच्छिएको थियो, फर्निचर सब विदेशी (युरोपियन) थिए।”
थपमा त्यहाँ ऐनै ऐनाको एउटा ठूलो आलमारीभित्र यन्त्रचालित हार्मोनिकाबाजा राखिएको थियो रे, जसमा ह्याण्डलवाला 'चाबी' घुमाएपछि बेलाइती अर्केष्ट्रा संगीत बज्थ्यो। अर्केष्ट्रामा चौध थरी धुन भरिएका थिए, तिनलाई छानीछानी बजाउन मिल्थ्यो। २००७ सालसम्म ती त्यहाँ सुरक्षित थिए। त्यसपछि के भयो थाहा छैन।

सात साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आएपछि यहाँ सबै कुरा खुला भए। सेतोदरबार, लालदरबार, फोहरादरबार जस्ता दर्शनीय भवन पनि 'पब्लिक' का लागि खुले! अझ्, फोहरादरबारको तल्लो बैठकमा त गोविन्दशमशेरले 'प्रभा सिनेमा हल' नै चलाए। त्यसरी सर्वसाधारणको बेरोकटोक आवतजावत हुन थालेपछि स्वभावतः दरबारको सह्यारसम्भारमा कमी आयो। फोहरादरबार 'फोहर दरबार' हुन लाग्यो। त्यसको शोभा नै गयो, श्री नै हरायो। त्यसो भएपछि र सिनेमाले मुनाफा पनि दिन सकेन भनेर गोविन्दशमशेरले हल बन्द गरे। अनि केहीपछि फोहरा दरबारको मालिक फेरियो।

मोटामोटी रूपमा यही नै हो त्यो भव्य भवनको कथा र कुथुङ्ग्री! किंवदन्तीकै कुरा गरे त कैयौं सिलोकमा हाल्न सकिन्छ फोहरा दरबारका रोमाञ्चक किस्सा कहानीहरू, तर अप्रामाणिक कथा हाल्नु भएन! त्यसैले हामी यत्तिकैमा अलम् गरौं वीरशमशेरले आफ्नी पियारी कान्छी महारानीका निमित्त निर्माण गराएको आधुनिक ताजमहल त्यो 'फोहरा दरबार' को करुण कहानी। त्यस्तो 'श्रृङ्गारिक' भवनका बारेमा बोल्दा 'करुण' भन्ने शब्द सुहाउँदैन। तर के गर्ने? त्यस दरबारमा कोही बसेनन्। अनि कोही नबस्ने घर कसरी घर या दरबार हुन्छ? खालि हाहाहुहु, जुवा र नाचगान मात्र हुन्थे त्यहाँ। त्यत्तिमै कति कति कुकृत्य भए होलान् त्यहाँ! त्यसैले करुण कहानी भनिएको हो। यसै सिलसिलामा एउटा समस्यापूर्ति सम्झें मैले त्यसैताका मोती मण्डलीका रसिकहरूमध्ये कसैले फर्माएको। हुन त फोहरा दरबारलाई लक्ष्य नै गरेर लेखिएको थिएन त्यो श्लोक। भए पनि सन्दर्भ मिल्ने देखी 'कोट' गर्दैछु। कविजी भन्छन्ः “पियारी कान्छिका लागि बेस् महल् जुन् बनाइयो मानिनी बसिनन् तेस्मा 'छेकच्छन्द परेन रे'!”

comments powered by Disqus

रमझम