१३-१९ असार २०७२ | 28 June - 4 July 2015

आफैं बनाऔं सम्पदा

Share:
  
- मिलन बगाले
महाभूकम्पपछिको पुनःनिर्माण लागत ज्यादै ठूलो भएकाले यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अनिवार्य रहे पनि सम्पदाको पुनःनिर्माण आफैं गर्नुपर्छ।

इपीए
भूकम्पले क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्र।
नेपालमा गएको महाभूकम्पमा परेर मृत्युवरण गरेका नेपालीप्रति संवेदना प्रकट गर्न नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन, भक्तपुर र काठमाडौं दरबार परिसरमध्ये कुनै एकको पुनःनिर्माण गरिदिन भारत तत्पर रहेको जनाइन् रे! वैशाख तेस्रो साताका खबर अनुसार, विदेशमन्त्री स्वराजले नेपाली राजदूत दीपकुमार उपाध्यायसँग परियोजना प्रस्ताव उपलब्ध गराउन आग्रह पनि गरिन्। यसलाई अवश्य पनि छिमेकको चिन्ता, चासो र सद्भावकै रूपमा लिनुपर्छ। तर, हामी गरीब छौं भन्दैमा सबथोकको लागि विदेश निर्भर हुन नसकिने हुनाले कम्तीमा सम्पदा निर्माण र पुनःनिर्माण आफैंले नै गर्नुपर्छ। सांस्कृतिक सम्पदाको संरक्षण गरिनु भनेको सम्बन्धित देशको राष्ट्रिय चरित्र पनि हो। हाम्रा पुर्खाको निर्माणलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विश्व संस्था युनेस्कोसँग भने सहयोग माग्न सकिन्छ। त्यो हाम्रो अधिकार पनि हो र सहयोग गर्नु उसको कर्तव्य।

सके बनाऔं, नसके जोगाऔं

पुरातत्व विभागका अनुसार देशभर ७४१ सम्पदामा क्षति पुगेको छ। त्यसमध्ये १३३ वटा पूर्ण रूपमा ध्वस्त छन्। ध्वस्तको सूचीमा रातो मत्स्येन्द्रनाथ, काष्ठमण्डप, त्रिपुरेश्वर महादेव, नौतले दरबार, प्रताप मल्लको सालिक, लक्ष्मीनारायण मन्दिर, विश्वम्भर मन्दिर, स्वयम्भूका अनन्तपुर, प्रतापपुर आदि छन्। सामान्य क्षति भएका सम्पदा धेरै छन्। सम्पदा भत्कँदा हाम्रो इतिहासको गौरव ढुंगा–माटो बनेर भुईंभरि छरिएको छर पुर्खाले बनाएका सुविचारित संरचना भत्कँदा सबैको मन बेस्सरी दुखेको छ।

अबको पहिलो काम भग्नावशेषलाई घेराबारा गरेर त्यहाँका सबै चिजको राम्ररी जतन गर्नु हो। मूर्ति, गजुर वा धातुका पाता मात्र होइन, त्यहाँका हरेक टुक्रा ईंटा, काठ र ढुंगाको पनि विशिष्ट महत्व छ। ती चिजलाई एक–एक गरी छुट्याउने र जोगाएर राख्ने विधि जानेका नेपाली पुरातत्वविद् धेरै छन्। अब उनीहरूको ज्ञानको उपयोग गरेर भत्केका सम्पदाको नक्शा–चित्र बनाउन र इतिहास, प्रमाण जुटाएर व्यवस्थित दस्तावेजीकरण थाल्नुपर्छ। सिमेन्ट र डन्डीले मात्र बलियो संरचना बन्छ भन्ने भ्रमबाट मुक्त पनि हुनुपर्छर सम्पदा पुनःनिर्माणमा निजी संरचनाको डिजाइनमा झैं मनपरी हुनुहुँदैन। हाम्रा पुर्खाले बनाएका सम्पदा आफैंमा कमजोर थिएनन्। हामीले झार उखेल्न र यदाकदा रंगरोगनमा मात्र सीमित नभई त्यसभन्दा अलि पर्तिर सोचेको भए आज ७.८ म्याग्निच्यूडको धक्कामा पनि तिनीहरू साबुत नै रहने थिए। ती सम्पदास्थललाई बर्खाले थप बर्बाद नपारोस् भनेर अस्थायी सुरक्षाका उपाय अवलम्बन गर्नु पनि जरूरी छ। पहिला मान्छेको लागि अस्थायी घर बनाउनुपर्छ भन्नेमा दुईमत छैन। यो हतारोमा देउताको बासको हेक्का पनि हुनुपर्छ।

अर्को, वर्तमानको गर्जो महत्वपूर्ण कुरा हो, तर त्यसकै लागि मात्र सम्पदा निर्माण भएका हुँदैनन्। जेठ मसान्तमा काठमाडौं उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले त्यसको भोलिपल्टै भक्तपुरमा कार्यक्रम गरेर सम्पदास्थल खुला भएको भन्दै पर्यटकलाई घुमिदिन अनुरोध गर्‍यो। अलिअलि बढारकुँडार गरेर पर्यटक घुमाइहाल्ने हतारो किन? यस्तो हतार भन्दा सम्पदाको जतनमा जोड दिऔं। सके चाँडो पुनःनिर्माण थालौंं, सकिन्न भने जे छ त्यसलाई राम्ररी संरक्षण गरेर भावी पुस्तालाई छाडिदियौं, हारगुहार गरेर रातारात बनाउनु वा खुला गर्नुपर्दैन। अर्को पुस्ताले आफैं बनाएर हजार वर्षपछिसम्म जीवन्त बनाउनेछ भन्ने नबिर्सौं। सम्पदा संरक्षणको मर्म बुझेर पुनःनिर्माणमा अघि सर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम