१३-१९ असार २०७२ | 28 June - 4 July 2015

फोटोमै चित्त

Share:
  

भक्तपुरको दधिकोट गाउँमा कोही नयाँ मान्छे पुग्दा मञ्जु (४५) र देवराज खड्का (४७) लाई लाग्छ– आफ्नो २७ वर्षीय एक्लो सन्तानको खबर आयो। कसैले सविनको घर सोध्यो भने गाउँले पनि सोध्न थाल्छन्– “तपाईं नेपाली सेनाको मान्छे हो? केही नयाँ खबर छ?”

तस्वीरः देबकी बिष्ट

सह–सेनानी सविन खड्का १२ वैशाखमा महाभूकम्प आउँदा लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका थिए। उनको कमाण्डमा रहेका १८ सैनिकमध्ये ६ जना विदामा थिए भने दुई जना बजार गएका थिए। महाभूकम्पसँगै हिमपहिरो आउँदा सविनसँगै ओमहरि खड्का, जयकुमार माझी, फुर्वा तामाङ, कुमार गुरूङ, वीरेन्द्र मण्डल, महेन्द्र आले, सोमराज कुमाल, रामचन्द्र मण्डल, मदन जलारी र केशव बिष्ट थिए, जसमध्ये केशवको मात्र शव भेटिएको छ।

मञ्जु र देवराजले सविनको कुशलताको लागि भएजति देवीदेउतालाई भाकल गरेका छन्, जान्ने भनिएका थुप्रै ज्योतिषकहाँ गएका छन्। तीमध्ये केहीले 'छोरो बिसन्चो छ, बाटो नपाएर अलपत्र परेको छ' भनिदिएका छन्। यस्ता कुराले बुबाआमाको मनमा आशाको दियो निभ्न दिएको छैन। सविन वीरेन्द्र सैनिक आवासीय उमाविबाट १२ कक्षा उत्तीर्ण गरेर २०६८ सालमा सेकेण्ड लेफ्िटनेन्ट भएका थिए।

महाभूकम्पको तीन दिनपछि छोरा हराएको खबर पाउँदा नेपाली सेनाका पूर्व सैनिक देवराज १०३ डिग्री ज्वरोले कामिरहेका थिए। उनी त्यत्तिकै उठेर धुन्चेस्थित नारायणदल गणको ब्राबल व्यारेक पुगे, तर छोराको पत्तो लागेन। अहिलेसम्म तीन पटक लाङटाङको चक्कर काटिसकेका उनले ५०–६० जनालाई सविनको फोटो देखाएर आफ्नो फोन नम्बर छाडेका छन्। आमा मञ्जु पनि एक पटक धुन्चेसम्म पुगेर फर्किन्। देवराज भन्छन्, “हामी बाचुञ्जेल छोरो खोज्छौं।”

७ असारमा हामी खड्का निवास पुग्दा सविन बेपत्ता भएको ५९ दिन पुगेको थियो। उनको जन्मदिन पनि त्यही दिन रहेछ। बाबुआमाले छोराको स्वस्तिशान्ति पूजा गरे। सविनका नम्बरीहरूले यही २७ असारमा फुल क्याप्टेनको फुली लगाउँदैछन्। त्यो दिन सविन हराएको ७९ दिन पुग्नेछ। अब आमाबाबुले उनको तालिमे फोटो हेरेरै चित्त बुझ्ाउनुपर्ने सम्भावना धेरै छ, किनकि संसार यस्तै हो।

देबकी बिष्ट

comments powered by Disqus

रमझम