१३-१९ असार २०७२ | 28 June - 4 July 2015

+२ छनोट सुरक्षित भवन राम्रो पढाइ

Share:
  
- सन्त गाहा मगर र सजना बराल
पूर्णकालीन र प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, शैक्षिक पृष्ठभूमिका सञ्चालक, विगतको नतीजा, अतिरिक्त क्रियाकलाप, ल्याब–लाइब्रेरीसँगै सुरक्षित स्थानमा जोखिमरहित कक्षा कोठा भएका कलेज रोज्नुपर्छ।

तस्वीरहरुः विक्रम राई
सैनिक आवासीय महाविद्यालयबाट एसएलसी पास गरेका विद्यार्थी।
राम्रो उच्च माध्यमिक विद्यालयको खोजीमा मोरङबाट काठमाडौं आएका अजय खड्का पुगेका सबैजसो कलेजका सञ्चालक र व्यवस्थापकहरूको शुरूको भनाइ उस्तै थियो– 'विल्डिङ सुरक्षित छ, हाम्रैमा भर्ना हुनुहोस्।' विराटनगरको बालकल्याण विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण खड्काले बुझन आउने विद्यार्थीलाई परामर्श डेक्समा राख्नुभन्दा पहिला कलेजले आफ्नो भवन देखाएको बताए। काठमाडौं र ललितपुरका विभिन्न कलेज चहारेका उनी भन्छन्, “अन्य विशेषता पनि चाहिन्छ, तर भूकम्पपछिको अवस्थामा सुरक्षित विल्डिङ पनि कलेज छनोटको पहिलो आधार हो।”

भीएस निकेतन कलेजका संस्थापक निर्देशक डा. बाबुराम पोखरेल भर्ना फर्म लिन आएका विद्यार्थी र अभिभावकले कलेजको भवन सुरक्षित छ/छैन भन्नेमा बढी चासो राखेको बताउँछन्। सभासद् समेत रहेका डा. पोखरेल अभिभावक र विद्यार्थीको यो चासोलाई जायज मात्रै होइन, अनिवार्य भन्छन्। विद्यालय लगायत सार्वजनिक भवनहरूको सुरक्षामा सरकारले नै कडा मापदण्ड ल्याउनुपर्ने उनको भनाइ छ।

अहिले काठमाडौंमा प्रायः सबै उच्च माध्यमिक विद्यालय (उमावि) हरूको प्रवेशद्वारमा शहरी विकास तथा भवन निर्माण विभागले दिएको 'हामी सुरक्षित छौं' लेखिएको हरियो स्टीकर टाँसेको देखिन्छ। अग्लो र भव्य भवन विद्यार्थी आकर्षित गर्ने कार्ड हुन छोडेको यसले देखाउँछ। बरु 'मेरो कलेजका कक्षा कोठाहरू एकतले संरचनामा भएकोले बढी सुरक्षित' भन्ने कुरालाई बढी महत्वका साथ प्रचार गरिएको छ। शहरी विकास विभागका वरिष्ठ इन्जिनियर मचाकाजी महर्जन शैक्षिक संस्थाका भवनहरू सुरक्षित र खुला ठाउँमा हुनुपर्ने बताउँछन्। “भूकम्पका वेला मात्र होइन, आगलागी हुँदा दमकल वा अन्य दुर्घटना हुँदा एम्बुलेन्स जान नसक्ने गल्लीका भवनलाई कलेज सञ्चालनका लागि उपयुक्त मान्न सकिन्न”, महर्जन भन्छन्।

बहसमा उमावि मर्ज

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल सरकारले भवन असुरक्षित भएका उमाविलाई सुरक्षित भवन भएका उमाविसँग मिलाउनेसम्मको तयारी भएको बताउँछन्। यस्तो 'मर्ज' को अवधारणा १२ वैशाखको महाभूकम्पपछि नै आएको हो। शिक्षा मन्त्रालयले यसबारे 'पोलिसी पेपर' तयार पारिसकेको छ। शुरूमा कठिनाइ भए पनि यसका दीर्घकालीन फाइदा धेरै हुने बताउँदै प्रवक्ता लम्साल भन्छन्, “दुईभन्दा बढी उमावि मिलाएर एउटा बनाउँदा साधन, स्रोतको अधिकतम उपयोग हुन्छ।”

कोटेश्वरस्थित सीसीआरसी कलेजका विद्यार्थी।
'मर्ज' को अवधारणामा काठमाडौं उपत्यकाका उमाविहरूले पर्याप्त विद्यार्थी नपाउने आकलनले पनि काम गरेको छ। नाम चलेका कलेजहरूमा बाहेक बाँकीमा गत वर्ष भन्दा निकै कम विद्यार्थीले भर्ना फर्म लगेका छन्। ४ असारमा सार्वजनिक एसएलसी नतीजामा १ लाख ९२ हजार २६७ विद्यार्थी उत्तीर्ण भएका छन् भने देशभर निजी, सामुदायिक, जिरो प्लस टु र क्याम्पस गरी ३ हजार ६५९ उमावि सञ्चालनमा छन्। एसएलसीमा गत वर्ष भन्दा ३.५१ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण हुँदा पनि एउटा उमाविमा औसत ५४.५४ जना मात्र पर्छन्। त्यसमा पनि राजधानीका ठूला एउटै कलेजमा १२०० भन्दा बढी भर्ना हुँदा अरूले कम विद्यार्थी पाउँछन्। २०७१ मा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा ५०० भन्दा बढी विद्यार्थी सहभागी गराउने उमावि ३३ वटा छन्।

यो वर्ष महाभूकम्पका कारण उपत्यकाका उमाविहरूमा विद्यार्थी संख्या घट्ने सञ्चालकहरूको अनुमान छ। ठूल्ठूला ऐतिहासिक संरचनामा पुगेको क्षति, काठमाडौंमा भूकम्पले बढी असर गर्छ भन्ने मनोविज्ञान, धेरै घर भत्केको वा चर्केकाले डेरा नपाउने समस्या, महँगी लगायतका कारणले १५ प्रतिशतसम्म विद्यार्थी घट्ने कलेज सञ्चालकहरूको आकलन छ। उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ भूकम्पले असर नगरेका क्षेत्रका विद्यार्थी थोरै मात्रै काठमाडौं आउने संकेत देखिएको बताउँछन्। “१० देखि १५ प्रतिशत कम हुँदा पनि यहाँका उमाविहरूलाई विद्यार्थी पुग्दैन”, श्रेष्ठ भन्छन्, “त्यसकारण क्षेत्र, पूर्वाधार र अरू साधन–स्रोत हेरेर तीन–चार वटासम्म उमाविलाई एउटै बनाउँदा हुन्छ।”

निजी र सामुदायिकलाई 'मर्ज' गर्न सक्दा अझ् राम्रो हुने हिसान अध्यक्ष श्रेष्ठ बताउँछन्। तर, उमावि 'मर्ज' चुनौतीपूर्ण छ। व्यवस्थापन समितिको अध्यक्ष, प्रिन्सिपल, निर्देशक को हुने, कुन कलेजको नामलाई निरन्तरता दिने, कसले पढाइरहेको कोर्स हटाउने वा राख्ने, स्टाफ कटौतीमा को पर्ने लगायतका विषयमा सहमति हुन सहज देखिंदैन। उमाविहरूको असमान स्तर आफैंमा 'मर्ज' को समस्या हो। शिक्षा मन्त्रालयका प्रवक्ता लम्साल सामुदायिक कलेजका भवनमा पनि विवाद देखिनसक्ने बताउँछन्। उनी भन्छन्, “भवन होस् कि कलेजको नाम, सबैले आफ्नो महसूस गर्ने गरिको 'मर्ज' चुनौतीपूर्ण नै छ।”

क्यास्पियन कलेज, कुमारीपाटी, ललितपुरका विद्यार्थी।
शिक्षाविद् डा. विद्यानाथ कोइराला भने चुनौतीकै बीचमा अवसर देख्छन्। स्रोतसाधन कम भएका मात्रै होइन, शहरकेन्द्रित उमाविहरूको म्यापिङ गर्ने उचित अवसर पनि आएको उनको भनाइ छ। शिक्षाविद् डा. कोइराला उमावि शिक्षाको अति व्यापारीकरण रोक्दै यसमा पहुँच विस्तार गर्न पनि 'मर्ज' आवश्यक भएको बताउँछन्। “सञ्चालकहरू आफैं मिल्न नसके उमाशिप, शिक्षा मन्त्रालय वा विभाग, हिसान र स्थानीय सरकारलाई 'मर्ज' गर्न दिंदा प्रभावकारी हुन्छ”, डा. कोइराला भन्छन्। निजी–निजी वा सामुदायिक–सामुदायिकमा 'मर्ज' सीमित हुनु नहुने बताउने शिक्षाविद्हरू पनि छन्।

कलेज छनोटका आधार

शिक्षाविद् कोइराला अभिभावक र विद्यार्थीले भवनको सुरक्षा हेरेर मात्रै उमाविका अन्य विशेषतातिर लाग्नुपर्ने बताउँछन्। प्रशस्त पैसा नभएका र कम नम्बर आएका विद्यार्थी कलेज छनोटमा बढी सचेत हुनुपर्ने उनको सुझाव छ। “विद्यार्थीले मुख्यतः आफ्नो इच्छा र अभिभावकको आर्थिक क्षमता विचार गरेर फराकिलो ठाउँमा सुरक्षित कक्षा कोठाहरू भएका कलेज रोज्नु बेस हुन्छ”, लहैलहै र बोक्रे विज्ञापनको भर पर्न नहुने बताउँदै डा. कोइराला भन्छन्, “यसको मतलब सधैं भूकम्प आउँछ भनेर त्रसित हुँदै पढ्नुपर्छ भन्ने चाहिं होइन।”

विद्यार्थी र कलेज छान्दा अभिभावकको निर्णय महत्वपूर्ण हुने उनको भनाइ छ। विषय छनोटमा विद्यार्थीलाई सम्बन्धित विषय पढिसकेका अग्रज र विज्ञहरूको परामर्श चाहिन्छ। डा. कोइरालाले साथीभाइको लहैलहै र अभिभावकको दबाबमा विषय छानेर बीचैमा पढाइ छाड्ने धेरै विद्यार्थी देखेका छन्। अभिभावकले आफ्ना छोराछोरीमाथि बोक्न नसक्ने भारी थोपर्न नहुने उनको भनाइ छ। “आफ्ना सन्तानको मनोवृत्ति र झुकाव हेरेर विषय छनोटमा मद्दतसम्म गर्ने हो”, डा. कोइराला भन्छन्, “हामीकहाँ 'एप्टिच्यूड टेस्ट' गर्ने चलन नभएकोले पनि विद्यार्थीको स्वभाव अनुसार विषय छान्नु उपयुक्त हुन्छ।”

क्याम्पियन एकेडेमीका प्रिन्सिपल नवीन श्रेष्ठ तुरुन्तै घुलमिल हुने विद्यार्थीले व्यवस्थापन, शिक्षा, कानून र अन्तरमुखी स्वभावकाले मेडिसिन, इन्जिनियरिङ, अकाउन्टेन्सी, संगीत, लेखन वा अन्य प्राविधिक विषय पढ्नु राम्रो हुने बताउँछन्। त्यस्तै, ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमीका संस्थापक प्रिन्सिपल बिक्रम राई आफ्नो रुचि अनुसारको विषय रोजेर भरसक घर–डेरा नजिकको कलेज छान्न सुझाव दिन्छन्। “विद्यार्थीलाई पढ्न उत्प्रेरित गर्ने वातावरण चाहिन्छ”, राई भन्छन्, “त्यसका लागि संचालकहरूको शैक्षिक पृष्ठभूमि र विद्यार्थी संख्या महत्वपूर्ण हुन्छ।”

कलेजको स्थायित्व महत्वपूर्ण भए पनि नामकै पछाडि लाग्न नहुने विज्ञहरू बताउँछन्। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. केदारभक्त माथेमा बाहिर चुरीफुरी हेरेर कलेजको भित्री गुणस्तर थाहा नपाइने बताउँछन्। उनको अनुभवमा पूर्णकालीन, अनुभवी र प्रतिबद्ध शिक्षकहरू राम्रो कलेजको न्यूनतम आवश्यकता हो। धेरै ठाउँमा पढाउने शिक्षकले चाहेर पनि विद्यार्थीमाथि न्याय गर्न नसक्ने माथेमा बताउँछन्। “पढ्न चाहेको कलेजको भित्री अवस्था बुझन त्यहाँबाट 'पास आउट' भएका विद्यार्थीसँग पनि छलफल गर्नुपर्छ”, पूर्व उपकुलपति डा. माथेमा भन्छन्।

शिक्षाविद्हरू परीक्षामा धेरै विद्यार्थी उत्तीर्ण गराएकै कारण कुनै कलेजलाई उत्कृष्ट मान्दैनन्, तर त्यो पनि छनोटको एउटा महत्वपूर्ण आधार हुने बताउँछन्। उनीहरूका अनुसार, धेरै विद्यार्थी उत्तीर्ण गराउने नाममा परीक्षाकेन्द्रित पढाइ संचालन गर्नु राम्रो होइन। त्यसबाहेक, सम्बन्धित कलेजमा पढेकाहरूले कहाँ–कहाँ नाम निकालेका छन्? के–के गरिरहेका छन्, कलेजको प्रतिष्ठा कस्तो छ भन्ने जस्ता कुरामा भने विचार गर्नुपर्ने विज्ञहरू बताउँछन्।

'दुईभन्दा बढी उमावि 'मर्ज' हुँदा साधन, स्रोतको अधिकतम उपयोग हुन्छ।'

हरि लम्साल

प्रवक्ता, शिक्षा मन्त्रालय

अलमलमा परिषद्

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले २५ मंसीर २०७१ मा गरेको अक्षर ग्रेडिङ प्रणालीमा जाने निर्णय अनुसार यस वर्ष ९९ प्राविधिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएनन्। आगामी चैतबाट बाँकी सबै विद्यालयमा यही प्रणाली लागू हुनेछ। यस अनुसार परीक्षामा विद्यार्थीको मार्कशीटमा उत्तीर्ण वा अनुत्तीर्णको सट्टा सर्वोत्कृष्ट (ए प्लस), उत्कृष्ट (ए), धेरै राम्रो (बी), राम्रो (सी), कमजोर (डी) र धेरै कमजोर (ई) ग्रेड लेखिनेछ। सबैतिर यो प्रणाली लागू गरिएको भए यस वर्ष पाँच लाख ४१ हजार ३८९ विद्यार्थी एसएलसी उत्तीर्ण हुनेथिए।

गुणस्तरयुक्त मध्यमस्तरीय जनशक्ति उत्पादन तथा उच्च शिक्षा प्रवेशका निमित्त विद्यालय शिक्षामा थप गरिएको कक्षा ११ र १२ पढाउने कलेजहरूको स्वरुप, स्तर, संचालन र नियन्त्रणको जिम्मा पाएको उच्च माध्यमिक शिक्षा परिषद् भने आफैं अलमलमा छ। ग्रेडिङ प्रणालीमा गएपछि थपिने विद्यार्थी व्यवस्थापनको विषयमा परिषद्को तयारी लगभग शून्य छ। परिषद्को मूल्यांकन तथा अनुगमन शाखा प्रमुख हीरा आचार्य महाभूकम्पमा अभिभावक गुमाएका काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, धादिङ र नुवाकोटका विद्यार्थीलाई आवास सहित पढाउने तयारी गरेको बताउँछिन्।

उनका अनुसार, यस वर्ष एक निर्वाचन क्षेत्रमा विज्ञान पढाउने कम्तीमा एउटा सामुदायिक उमावि खोल्न सरकारसँग बजेट माग्ने तयारी भइरहेको छ। जबकि, हरेक निर्वाचन क्षेत्रमा एउटा विज्ञान उमावि खोल्ने सहमति ६ साउन २०६८ मै भएको थियो। एसएलसीमा डी वा ई ग्रेड पाएका विद्यार्थी व्यावसायिक तालीममा जाने भएकाले उमाविहरूमा चाप नबढ्ने बताउने आचार्य परिषद्को प्रवक्ता समेत हुन्। डी वा ई आएका विद्यार्थी पुनः परीक्षा दिने तयारीमा लाग्नुपर्ने उनको सुझाव छ।


'उमावि शहरकेन्द्रित भए'

उमेश श्रेष्ठ, अध्यक्ष, हिसान

महाभूकम्पपछि धेरै विद्यार्थी अभिभावकविहीन भएका छन्। ६ हजारभन्दा बढी विद्यालय भवन भत्किएका र २५ हजारभन्दा बढी कक्षा कोठा क्षतिग्रस्त छन्। यसको सहयोगका लागि सबै अघि सर्ने वेला हो। विद्यालय सञ्चालक साथीहरूले विद्यार्थीको सुरक्षालाई पहिलो प्राथद्धमिकतामा राख्नुपर्दछ। उमावि परिषद्, हिसान लगायतका संघ–संस्था र विद्यालय सञ्चालकहरूले अब धेरैलाई छात्रवृत्ति दिनुपर्छ। मैले विद्यालयमा १० प्रतिशत र कलेजमा १५ प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको छु। यो पर्याप्त होइन, तर सुरुआत हो।

प्रमाणपत्र तह खारेज भएको अवस्थामा उमाविहरू शहरकेन्द्रित छन्, अस्वस्थ प्रतिस्पर्धा छ। उमाविहरू भौगोलिक विषमता भएका ठाउँमा गएनन्। त्यस्ता ठाउँहरूमा आवासीय उमाविको खाँचो छ। हरेक निर्वाचन क्षेत्रमा नमूना उमावि र व्यावसायिक कलेज चाहिएको छ। महाभूकम्पपछिको नवनिर्माणमा ध्यान दिनुपर्छ।

comments powered by Disqus

रमझम