१३-१९ असार २०७२ | 28 June - 4 July 2015

उत्कृष्ट २६

Share:
  

कक्षा ११ र १२ को पढाइ विश्वविद्यालय शिक्षाको जग भएकाले पनि अभिभावक तथा विद्यार्थी एसएलसीपछि राम्रो कलेजको खोजीमा हुन्छन्। तर, कस्तो कलेज (उमावि) लाई राम्रो मान्ने? यो प्रश्नमा शिक्षाशास्त्रीहरूबाट नै फरक उत्तर आउँछन्। कतिपय शिक्षाशास्त्री राम्रा विद्यार्थीले भर्ना पाएका कलेजलाई राम्रो मान्नुपर्ने धारणा राख्छन् भने कतिले कमजोर विद्यार्थीलाई पढाउन सक्ने कलेजलाई राम्रो मान्नुपर्ने बताउँछन्। यसबाहेक कलेजको भौतिक पूर्वाधार, संचालकको पृष्ठभूमि, शिक्षक, व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, घरपायक, शिक्षण पद्धति, संस्थाको छवि, धेरैको पहुँच, विद्यार्थीको हेरचाह जस्ता विषयलाई पनि छनोटको आधार बनाउनुपर्ने तर्क पनि छन्।

विद्यार्थीको मूल्यांकनको आधार भने वार्षिक परीक्षालाई नै बनाइँदै आएको छ। वर्षभरि पढेका कुरा तीन घण्टामा राम्रो लेख्न सके/नसकेको आधारमा विद्यार्थीको मेधावीपन मापन गरिन्छ। यस्तो मूल्यांकन पद्धतिले सिकाइलाई परीक्षा लक्षित बनाएको एकथरी शिक्षाविद्को मत छ। उच्च शिक्षाको जग उमावि तहमा परीक्षा लक्षित पढाइ राम्रो नहुने उनीहरूको तर्क छ। विद्यार्थीलाई व्यावहारिक जीवनमा उपयोगी हुने शिक्षा दिन सफल उमावि उत्कृष्ट हुन् भन्नेमा चाहिं कसैको विमति छैन।

उमाविहरूले वार्षिक परीक्षामा विद्यार्थीले पाएको अंकलाई महत्व दिने गरेका छन्। कक्षा ११ को प्रवेश परीक्षामा सहभागी हुन एसएलसीमा न्यूनतम यति प्रतिशत अंक हुनैपर्छ भन्ने मापदण्डले वार्षिक परीक्षालाई महत्व दिएको छ। एक दशकबाट देशभरका उमाविमध्येबाट उत्कृष्ट उमावि छनोट गर्दै आएको हिमाल साप्ताहिक अन्तिम परीक्षाको अंक र उत्तीर्ण प्रतिशत नै स्तरीय शिक्षाको द्योतक हो भन्नेमा सहमत छैन। तर ३ हजार ६५९ उमाविबाट उत्कृष्ट उमावि छान्ने यो भन्दा विवादरहित र अर्को वैज्ञानिक पद्धति हामीकहाँ छैन। त्यही कारण हामीले उत्कृष्ट २६ उमावि छान्दा उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को वार्षिक परीक्षालाई आधार बनाएका छौं। परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर पछिल्लो पाँच वर्ष लगातार ८० प्रतिशतभन्दा माथि उत्तीर्ण गराएका उमावि मात्र यो सूचीमा छन्। काठमाडौंको बूढानीलकण्ठ उमाविको उत्तीर्ण दर ८० प्रतिशत भन्दा बढी भए पनि विद्यार्थी संख्या ३० भन्दा कम भएकाले यो सूचीमा परेको छैन।

उपत्यका बाहिर कास्की, चितवन, दाङ, मोरङ र काभ्रेका उमावि समेत यो सूचीमा पर्नुले उत्कृष्ट कलेजमा पढ्न काठमाडौं नै आउनुपर्छ भन्ने धारणालाई गलत सावित गरेको छ। देशभरका कलेजबाट छानिएका उत्कृष्ट उमाविलाई कक्षा १२ को पछिल्लो पाँच वर्षको औसत नतीजाको आधारमा क्रमबद्ध गरिएको छ। विज्ञान र व्यवस्थापन विषय पढाइ हुने ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी यसपटक पनि उत्कृष्टमध्ये एक नम्बरमा परेको छ। 'एक कार्यक्रम, एक व्यवस्थापन' लाई मूल मन्त्र बनाएको प्रसादी विगत केही वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको छ। विद्यार्थीलाई पढ्न प्रेरित गर्ने विशेषता बोकेको प्रसादीका संस्थापक प्रिन्सिपल विक्रम राई उमावि छनोट गर्नुअघि संचालकहरूको पृष्ठभूमि, शिक्षकहरूको अनुभव, व्यवस्थापन र विद्यार्थी संख्यासँगै सुरक्षामा पनि ध्यान जानुपर्ने बताउँछन्।

comments powered by Disqus

रमझम