१३-१९ असार २०७२ | 28 June - 4 July 2015

सञ्चालक र शिक्षकका सुझाव

Share:
  
एसएलसी उत्तीर्ण विद्यार्थी र तिनका अभिभावक राम्रा कलेजको खोजीमा छन्। यस्तो वेला कलेज संचालक भने विद्यार्थीको रुचि, क्षमता र अभिभावकको भूमिकाका आधारमा विषय र कलेज छान्नुपर्ने तर्क गर्छन्।

एचसी लामिछाने

प्रिन्सिपल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी)

हामीकहाँ परीक्षामा ल्याएको नम्बरलाई महत्व दिने गरिन्छ। तर नम्बर मात्रै ठूलो कुरा होइन। 'एकेडेमिक एक्सिलेन्सी' सँगै जीवनोपयोगी शिक्षामा पनि जोड दिनुपर्दछ। विद्यार्थीलाई समाजसँग जोड्ने कुरामा पनि ध्यान दिनुपर्छ। विद्यार्थीले जे पढ्न चाहेका हुन् त्यसै विषयमा तयारी गराउँदा उनीहरूले सफलता हात पार्छन्। अभिभावक र विद्यार्थीले भौतिक पूर्वाधार, शिक्षक, व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, संचालक समूह, पढ्ने वातावरण आदि ध्यान दिई कलेज छनोट गर्नुपर्दछ।

डा. बाबुराम पोखरेल

संस्थापक निर्देशक, भीएस निकेतन

विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छनोट गर्नुपर्छ। अभिभावकले अनावश्यक दबाब दिनुहुँदैन। कलेज छान्दा भौतिक पूर्वाधार, निरन्तरता, पछिल्लो ५–७ वर्षको नतीजा, अतिरिक्त क्रियाकलाप, घरपायक जस्ता कुरामा ध्यान दिनुपर्छ। हामीले साना कक्षाका विद्यार्थीलाई 'एक्स्पोजर' र ठूलालाई नेतृत्व विकासमा जोड दिंदै आएका छौं। राम्रा र पर्याप्त शिक्षक छन्/छैनन् भन्नेमा पनि पहिल्यै विचार पुर्‍याउनुपर्छ।

एसपी सिंह

प्रिन्सिपल, पेन्टागन कलेज

विद्यार्थीलाई 'एप्टिच्यूड टेस्ट' गराएर मात्रै विषय छनोटको अवसर दिन सके सबैभन्दा राम्रो हुनेथियो। यस्तो टेस्टमा विद्यार्थीलाई २०० भन्दा बढी प्रश्न सोधेपछि मात्र विषयबारे सुझाव दिइन्छ। हामीले प्रवेश परीक्षाको सेरोफेरोमा विद्यार्थीलाई परामर्श दिने गरेका छौं। विद्यार्थीका लागि कक्षा ११ र १२ 'करिअर गेट' हो। यो वेला उनीहरूलाई सही मार्गनिर्देशन चाहिन्छ। घोक्नुभन्दा मौलिक पढाइमै जोड दिनुपर्दछ। प्रतिबद्ध शिक्षक समूह नभई राम्रो नतीजा आउन सक्दैन।

केशवप्रसाद जोशी

प्रिन्सिपल, अरुणिमा कलेज

कलेजको भौतिक अवस्थाप्रति विद्यार्थी र अभिभावक सचेत भएका छन्। भूकम्पीय दृष्टिले हाम्रो कलेज सुरक्षित छ। ३० वर्षदेखि सामूहिक नेतृत्वमा चलेको हुँदा समस्या परिहाले पनि साथ र सुझाव पाउन सजिलो छ। विद्यार्थीको विकासका लागि हामी सधैं प्रतिबद्ध छौं।

ध्रुव भट्टराई

निर्देशक, काठमाडौं मोडेल कलेज

विद्यार्थीलाई 'आफ्ना लागि आफैं पढ्ने' वातावरण बनाए पुग्दो रहेछ। पढ्ने तौरतरीका सिकाएपछि राम्रो नतीजा आएको हाम्रो अनुभव छ। विषय छान्नु पहिले विज्ञसँगको छलफलले धेरै फाइदा पुग्छ। उमाविको पाठ्यक्रम समय समयमा परिमार्जन गरिरहनुपर्छ।

सुरेन्द्र सुवेदी

प्रिन्सिपल, केएमसी नेशनल कलेज

विद्यार्थीलाई विषय छान्ने स्वतन्त्रता दिनुपर्छ। कलेज छान्दा भने अभिभावकको भूमिका महत्वपूर्ण हुन सक्छ। लहैलहैमा विषय छान्नु हुन्न। घर नजिक, लामो समयदेखि चलिरहेको, नाफा मुख्य उद्देश्य नबनाएको र कडा अनुशासन भएको कलेज छान्नुपर्दछ। पूर्णकालीन शिक्षक, कलेजको विगत, नतीजा र पूर्व विद्यार्थीका सफलतालाई पनि ध्यान दिनुपर्छ। हामीले व्यवहार उपयोगी शिक्षा भनेका छौं। बाहिर दुनियाँसँग घुलमिल हुनुका साथै नेतृत्व विकासमा पनि उत्तिकै जोड दिएका छौं।

इन्द्रबहादुर मल्ल

प्राचार्य, नेशनल इन्टिग्रेटेड कलेज (एनआईसी)

विद्यार्थीमा 'केही सिक्नु छ' भन्ने भावना हुनुपर्छ। त्यस्तो भावना भएकाहरूलाई हामी राम्रो वातावरणमा पढ्ने अवसर दिन्छौं। हामीकहाँ समय–समयमा विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तरक्रिया गराउने चलन छ। यसले एक–अर्काका कमी–कमजोरीबारे जानकारी गराउनुका साथै सुधारका उपाय सिकाउँछ। विषय छनोट गर्दा अभिभावकले आफ्नो इच्छा लाद्नुहुँदैन। विद्यार्थीको रुचिलाई ध्यान दिनुपर्छ।

ईश्वर गुरुङ

प्रिन्सिपल, मोलिस कलेज

विद्यार्थीलाई अन्तरमनले चाहेको विषय छनोट गर्न दिनुपर्दछ। आफैं निर्णय गर्न नसक्दा भने अभिभावक र विज्ञसँग सल्लाह लिनुपर्छ। छोराछोरीको क्षमता, प्राकृतिक गुणसँग अभिभावक नै परिचित हुने भएकाले विकल्प दिनुपर्छ। कलेज छनोट गर्दा विगतको नतीजा, पढाइ हुने विषय, अनुशासन, भौतिक पूर्वाधार, शिक्षक जस्ता कुरामा ध्यान दिनुपर्दछ। कक्षा ११ र १२ को पढाइ 'करिअर' विकासका लागि हो। त्यसैले विषयवस्तुसँगै व्यवहारोपयोगी ज्ञानमा पनि जोड दिनुपर्दछ। हामीले लामो समयदेखि यस्तै शिक्षा दिने प्रयास गर्दै आएका छौं।

नवीन श्रेष्ठ

प्रिन्सिपल, क्याम्पियन एकेडेमी

तुरुन्तै घुलमिल हुने स्वभावका विद्यार्थीले म्यानेजर, शिक्षक, वकील आदि बन्ने लक्ष्य लिनु राम्रो हुन्छ, अन्तरमुखीले भने अकाउन्टेन्सी, संगीत, लेखन वा अन्य प्राविधिक विषय पढ्नु राम्रो हुन्छ। यद्यपि यो विद्यार्थीको चाहना र क्षमतामा निर्भर हुन्छ। हामीले पठनपाठन, अनुशासन, अतिरिक्त क्रियाकलाप र मूल्यमान्यतालाई सिकाइका चार स्तम्भ मानेका छौं। उच्च माध्यमिक शिक्षा परिषद्ले अंग्रेजीको पाठ्यक्रम अद्यावधिक र प्राविधिक विषय थप गर्नेतर्फ सोच्नुपर्छ।

कृष्णप्रसाद धन्छा

प्रिन्सिपल, वागेश्वरी उमावि

हामीकहाँ अहिलेसम्म ८५ प्रतिशतभन्दा कम नतीजा आएको छैन। यति राम्रो उत्तीर्ण संख्या भएका अन्य सामुदायिक विद्यालय नेपालमा कमै होलान्। हामीले एसएलसीमा ९० वा सोभन्दा बढी प्रतिशत ल्याउनेलाई पूर्ण छात्रवृत्ति दिनुका साथै पाठ्यपुस्तक पनि उपलब्ध गराउँछौं। अरू सुविधा पनि छन्। विद्यालयका सम्पूर्ण कर्मचारीले आफ्ना सन्तान यहीं पढाउनुपर्ने अनिवार्य नियम छ।

स्वागत श्रेष्ठ

अध्यक्ष, काठमाडौं भ्याली कलेज

भुईंचालोका कारण विद्यार्थी कलेजको भवनप्रति निकै सजग छन्, जसले कलेज छान्ने रीत बदलेको छ। अग्ला र स्टाइलिस भवन विद्यार्थीको रोजाइमा नपर्न पनि सक्छन्। 'जीवनोपयोगी शिक्षा, उत्कृष्ट नतीजा' भन्ने नारासहित हामी विद्यार्थीलाई उत्सुक, सतर्क र जाँगरिलो बनाउन लागिपरेका छौं। प्रत्येक दिन परीक्षा लिन्छौं। अभिभावकलाई 'कसरी राम्रो अभिभावक बन्ने?' बारे तालीम दिन्छौं।

खगेन्द्र ओझा

अध्यक्ष, ग्लोबल कलेज अफ म्यानेजमेन्ट

असल गुरुले मात्रै असल शिक्षा दिन सक्छन्। अतः विद्यार्थीले कलेज छान्दा शिक्षक कस्ता छन् भन्नेबारे बुझन जरूरी छ। हामीकहाँ सबै शिक्षक पूर्णकालीन भएकाले विद्यार्थीले जुनसुकै वेला भेटेर नबुझेका कुरा सोध्न पाउँछन्। प्रभावकारी अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा उजागर गर्न सफल भएका छौं।

सम्झना बस्नेत

प्रिन्सिपल, इन्टरनेशनल स्कूल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट

उच्च शिक्षा परिषद्ले मान्यता दिएको अस्ट्रियाको 'साल्जबर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्सेज' मा आबद्ध भएर हामीले होटल म्यानेजमेन्टका 'हाउस किपिङ', 'पब्लिक रिलेसन' जस्ता विषय छुट्टाछुट्टै पढाइरहेका छौं। प्लस टु सकेका विद्यार्थीले पनि होटलमा जागीर पाउन सक्छन्। विद्यार्थीले आफूले पढ्न लागेको विषय बजारमा आवश्यक छ/छैन भन्ने बुझेर मात्रै छान्नुपर्छ।

**गोपाल खनाल **

अध्यक्ष, नेपाल मेगा कलेज

कलेजको विगतको नतीजा र शिक्षक सदस्य हेरेर भर्ना हुने/नहुने निर्क्योल गर्न सकिन्छ। साथीभाइको लहैलहैमा लागेर पढ्नुहुँदैन। आफूलाई कुन विषयमा रुचि छ, पत्ता लगाउनुपर्छ। एसएलसीमा आफूले कुन विषयमा कति प्रतिशत ल्याएको छ भन्ने कुराले पनि के पढ्न सकिन्छ भन्ने बाटो देखाउन सक्छ। प्रयोगशाला, पुस्तकालय आदिको राम्रो व्यवस्था भएको हाम्रो कलेजमा अतिरिक्त कक्षाको पनि व्यवस्था छ।

राजेन्द्र केसी

प्रिन्सिपल, साउथ वेस्टर्न स्टेट कलेज

उच्च माध्यमिक शिक्षा परिषद्ले निर्धारण गरेका विषय नै पढाइने हुनाले विद्यार्थीसँग छनोटका धेरै विकल्प छ्रैनन्। यस्तोमा, जुन कलेजले अतिरिक्त क्रियाकलापमा जोड दिएको छ, त्यहीं भर्ना हुनुपर्छ। यसले उनीहरूको शैक्षिक एवं व्यक्तित्व विकासमा मद्दत गर्छ। हामी विद्यार्थीलाई फिल्ड भिजिट, प्रोजेक्ट–प्रिजेन्टेसन, खेलकुद, रिपोर्ट लेखन आदिमा सहभागी गराउँछौं।

राजेन्द्र बराल

निर्देशक, क्यास्पियन भ्याली कलेज

अहिलेका अभिभावक र विद्यार्थी शिक्षक, पढाउने तरीका, सुविधा र भौतिक अवस्था हेरेर मात्रै कहाँ पढ्ने/पढाउने तय गर्छन्। प्लस टुदेखि स्नातकोत्तरसम्म पढाइ हुने हाम्रो कलेजमा अनुसन्धानमा आधारित पढाइलाई प्राथमिकता दिइन्छ। होस्टेल र गाडीको सुविधा भएकाले उपत्यका भरिका वा बाहिरका विद्यार्थीले पनि अध्ययन गर्न सक्छन्। १७ वर्षदेखि सञ्चालित कलेजमा विषयगत विज्ञ प्राध्यापक छन्। विद्यार्थीको सैद्धान्तिक एवं व्यावहारिक स्तरोन्नति गर्नु हाम्रो लक्ष्य हो।

डा. करणसिंह ठगुन्ना

प्रिन्सिपल, युनिग्लोबल कलेज

पढ्ने र पढाउने कुरामा सूचनाप्रविधिले ठूलो सहयोग गर्न सक्छ। तर, नेपालका शैक्षिक संस्थाहरूले सूचनाप्रविधिको सही उपयोग गरेका छैनन्। यस्तोमा, हामीले 'मल्टी–मिडिया बेस्ड टिचिङ स्टाइल' अवलम्बन गरी सिक्ने र सिकाउने कुरा सरलीकरण गर्न खोजेका छौं। कलेजमा टेक्नो–ल्याबदेखि फूटसलसम्म भएकाले विद्यार्थीले व्यावहारिक ज्ञान पाउँछन्। शैक्षिक, भौतिक र प्राविधिक सुविधा राम्रो छ।

मनुराजा शाक्य

कार्यकारी क्याम्पस प्रमुख, सिद्धार्थ वनस्थली इन्स्टिच्युट

उपत्यका बाहिरबाट आउने विद्यार्थीका लागि हामीले छात्रवृत्तिको व्यवस्था गरेका छौं। इतिहास बोकेको हाम्रो कलेजमा पढाइ अनुसारको सुविधा छ। सैद्धान्तिक र व्यावहारिक ज्ञान सँगसँगै अघि बढाउँछौं। सबैभन्दा मह140वपूर्ण कुरा, हामी विद्यार्थी/अभिभावकसँग जाली कुरा गर्दैनौं। शुल्क र सुविधाका विषयमा पहिल्यै स्पष्ट गराउँछौं।

रविनजंग थापा

प्रिन्सिपल, रिलायन्स इन्टरनेशनल एकेडेमी

ठोस नीति–नियम नहुँदा नेपालको शैक्षिक क्षेत्र अव्यवस्थित बनेको छ। यसले विद्यार्थीलाई समेत अल्मल्याएको छ। यो समस्याको अन्त्य भइदिए पढ्ने र पढाउने वातावरण सुमधुर हुन सक्थ्यो। छोराछोरीलाई घर नजिकैको कलेजमा भर्ना गराउँदा गतिविधि नियाल्न सकिन्छ। अभिभावकले पनि शैक्षिक संस्थासँग नजिकिने अवसर पाउँछन्।

तारालाल श्रेष्ठ

अध्यक्ष, ओलम्पिया वर्ल्ड कलेज

विद्यार्थीलाई समष्टिमा होइन, व्यक्तिगत रूपमा ध्यान दिन हामी थोरै भर्ना लिन्छौं। उनीहरूमा सकारात्मक उत्प्रेरणा जगाउने क्रियाकलाप गछर्ौं। 'भ्याल्यु–बेस्ड एजुकेशन' लाई प्राथमिकता दिन्छौं। प्रविधिको सदुपयोग गर्दै हामीले नेपालमै पहिलो पटक 'डिजिटल स्मार्ट क्लास' सञ्चालन गरेका छौं। प्रत्येक कक्षामा डिजिटल–बोर्ड राखिएकाले जस्तासुकै जटिल कुरा पनि विद्यार्थीले सजिलै बुझछन्।

प्रज्वल बानियाँ क्षेत्री

कार्यक्रम निर्देशक, एनसीसीएस कलेज

विद्यार्थीले पुस्तक मात्रै जानेर हुँदैन। अहिलेको प्रतिस्पर्धी बजारमा आफूलाई बिकाउन र टिकाउन जुझारु हुनैपर्छ। यसका लागि प्लस टु देखि नै बाटो बनाउनुपर्छ। अनुशासन सिकाउनु हाम्रो मूल लक्ष्य हो। व्यवस्थापन संकायमा मात्रै पढाइ हुने भएकाले यसभित्रका सबै विषयका लागि हामीकहाँ सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध छन्।

पीताम्बर पन्त

एकेडेमिक डाइरेक्टर, ओमेगा कलेज

कक्षा ११ र १२ जीवनको 'टर्निङ प्वाइन्ट' हो। त्यसैले, के पढ्ने, कहाँ पढ्ने भन्नेबारे विद्यार्थी सचेत र स्पष्ट हुन आवश्यक छ। गलत विषय वा कलेज छानियो भने जिन्दगीभर पछुतो हुन सक्छ। कलेज छान्दा पूर्वविद्यार्थी र उनीहरूका अभिभावक वा छिमेकीसँग बुझनुपर्छ। आम्दानी र पढाइ दुवैमा मध्यम खालका विद्यार्थीलाई लक्षित गरी खोलिएको हाम्रो कलेजले स्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

विष्णुहरि पाण्डे

अध्यक्ष, एभरेष्ट कलेज

कलेजले आफूलाई परिष्कृत गर्दै लैजानुपर्छ। १७ वर्षदेखि सञ्चालित हाम्रो कलेज पहिले अलि 'म्यानुअल' थियो, अहिले निकै 'टेक्निकल' भएको छ। विद्यार्थीले प्रयोगात्मक शिक्षा मन पराउने भएकाले त्यही अनुसारको शिक्षण शैली अवलम्बन गरिएको छ। व्यवस्थापन संकाय पढाइ हुने हाम्रो कलेजमा विद्यार्थीलाई निःशुल्क ट्युसन कक्षा पनि प्रदान गरिन्छ।

पुरुषोत्तम विष्ट

भाइस–प्रिन्सिपल, काठमाडौं बर्नहार्ट कलेज

१५ वर्षअघि हामीले कलेज शुरू गर्दा विद्यार्थी– शिक्षकबीच दोहोरो कुराकानी समेत हुँदैनथ्यो। अहिले विद्यार्थी कलेजसँग हरेक कुरामा जवाफदेहिता खोज्छन्। यस्ता विद्यार्थीसँग सहकार्य गर्नुपर्ने भएकाले कलेजलाई चुनौती थपिएको छ। औसत विद्यार्थी लिएर पनि हामीले प्रत्येक वर्ष राम्रो नतीजा निकालिरहेका छौं।

सुमन बस्नेत

एकेडेमिक डाइरेक्टर, डीएभी कलेज

पढाइलाई मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन जरूरी छ। यही कुरा मध्यनजर गर्दै हामीले विद्यार्थीलाई उनीहरूको रुचि बमोजिम विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएका छौं। यस्तो कामले विद्यार्थीको व्यक्तित्व विकासमा सघाउनुका साथै बहुप्रतिभाशाली बनाइरहेको छ। हाम्रो लक्ष्य भनेकै विद्यार्थीलाई सभ्य बन्न सिकाउनु हो।

comments powered by Disqus

रमझम