अन्योलभित्रको अवसर

Share:
  
- डा. विद्यानाथ कोइराला
विद्यालय, विषय, करिअरबारे प्लस टु शिक्षामा कायम अन्योलभित्रैबाट अवसर टिप्नुको विकल्प छैन।

भीएस निकेतन।
विद्यार्थी भर्नाको आधार के हुने, क्षमता (एप्टिच्यूड), झुकाव वा मनोवृत्ति (एटिच्यूड) कि पेशोन्मुखता (करिअर पाथ)? क्षमता हो भने, हामीसँग पिसा (PICA), टिम्स (TIMMS), साट (SAT) जस्ता स्तरीय परीक्षा त छैनन्, त्रिवेणीमै अलमल छ। झुकाव वा मनोवृत्ति हो भने, हामीसँग मनोवैज्ञानिक प्रश्नावली (टेस्ट ब्याट्रिज) पनि छैनन्। पेशोन्मुखता हो भने, अपेक्षित पेशा खोज्ने खोजाउने परामर्श सेवा वा विषयवस्तु पनि छैनन्। मेरो अनुभवले भन्छ– हामीसँग विद्यार्थीले आर्जेको अंक छ। बाबुआमाको पैसाको तुजुक छ। शिक्षकको निर्णायक अभिमत छ। त्यही बलमा हाम्रा विद्यार्थी विषय छानिरहेछन्। हामी अँध्यारोको झ्टारो जस्तो सुझाव दिइरहेछौं।

के यो अन्योल चिर्न हामी स्तरीय क्षमता मापक प्रश्नावली बनाउन सक्छौं? के हामी विद्यार्थीको झ्ुकाव पहिल्याउने स्तरीय प्रश्नावली निर्माण गर्न सक्छौं? पेशोन्मुख सापेक्ष पाठ्यवस्तु सुनिश्चित गर्न सक्छौं? यदि सकेनौं भने यो वर्षसम्म त धानिएला तर अर्को वर्षदेखि अक्षरांकन प्रणाली (ग्रेडिङ) का विद्यार्थी उच्च माविमा आउनासाथ हामी झ्न् दलदलमा फस्छौं।

विषय छनोटमै अन्योल

कुन विषय पढ्ने? अहिलेको साझा प्रश्न हो, यो। सिद्धान्ततः एकल धारको उमावि प्रणाली र बहुधारको बजारी चिन्तन हावी छ हामीकहाँ। एकल धारमा जुन विषय पढे पनि हुन्छ, बहुधारमा कित्ताकाट गर्नुपर्छ। उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) ले एकल धार अख्तियार गरेर बहुधारको बजारी स्कूल अगाडि लाचार बन्यो। त्यसैले, विद्यार्थी अन्योलमा परे। अन्योल त्यहीं हो– धारमा कि रहरमा जाने?

उमाविहरूको स्वभाव एकलधार हो भने उमाशिपको रहर दोस्रो धार। यी दुईलाई मिलाउने हो भने खुला मोड वा खुला विश्वविद्यालयका पाठ्यांश (कोर्ष) उत्तर हुन सक्छन्। तर, खुला विश्वविद्यालय त अस्तित्वमै छैन।

धारे बुद्धिमा विषयको लचकता हुन्छ। विज्ञान पढे इन्जिनियरिङ, मेडिसिन, वन, कृषि, शिक्षा, मानविकी, व्यवस्थापन जुन धारमा गए पनि हुन्छ। अर्थात् विज्ञानलाई सर्वस्वीकार्य विषय बनाइएको छ। तर, व्यवस्थापनलाई विज्ञानले स्वीकार्दैन। मानविकी, शिक्षा, कानून, पत्रकारिता आदिले स्वीकार्छ। शिक्षाले विज्ञान, मानविकी र व्यवस्थापन स्वीकार्छ। मानविकीले शिक्षाका विषयमा थप विषयविज्ञता खोज्छ। यस अर्थमा कुनै धार लचिला छन्, कुनै संकीर्ण।

संकीर्ण धारमा थप पाठ्यांश पढ्ने/पढाउने संस्कार नै बनाइएन। पश्चिमा देशहरूमा जुन धारका जति विषय पढे पनि हुन्छ, क्रेडिट आवर्स भने पूरा गर्नुपर्छ। उमाशिपको सोच पश्चिमी ढंगमा बन्यो, बजारी सोच चाहिं कित्ताकाटको बुद्धिमा गयो। विद्यार्थी, शिक्षक र अभिभावक यस्ता कुरामा सचेत भएनन्। न त विद्यालय सञ्चालक वा उमाशिपका पदाधिकारीहरू नै यसमा गम्भीर देखिए। यी सबैको संयुक्त परिणति हो– विषय छनोटको अन्योल।

कलेज छनोटमै अन्योल

उमावि, क्याम्पस र कलेज तीन ठाउँमा ११ र १२ कक्षा चल्छन्। गोल्डेनगेट कलेज रे! विश्व निकेतन उमावि रे! नेपाल संस्कृत र काठमाण्डू विश्वविद्यालयका क्याम्पस रे! देश एक, प्रणाली तीन! उमावि र कलेजको जाँच उमाशिपले लिन्छ। क्याम्पसको जाँच सम्बन्धित विश्वविद्यालयले। प्रमाणपत्र तहको जाँच पनि उमाशिपले लिए के हुने? क्याम्पस, कलेज र उमावि भनिने तीन वटैको एउटै नाम राखे के होला? विश्वविद्यालयहरूले बीए र सोभन्दा माथिका कार्यक्रम चलाएपछि तिनको छुट्टै नाम राखे के हुने? यी प्रश्नहरूले कलेज बोर्ड खोज्छ। सामुदायिक विषय पढ्ने कलेज, पूरै प्राज्ञिक विषय पढ्ने कलेज अनि केही क्रेडिट ट्रान्सफर हुने पनि कलेज। उमावि, कलेज, क्याम्पस कता पढ्ने?

भुसुना निजी उमावि र कलेजहरू हात्तीको विज्ञापन गर्छन्। भूकम्पसँगै तिनमा अर्को रहर भित्रियो– छिमेकको उमावि र कलेजलाई निचो देखाउने। 'हेभीवेट' हरूलाई सल्लाहकार र भिजिटिङ प्रोफेसर भन्ने तर तिनले के गर्छन् नभन्ने। ती विचराहरू पनि बेचिने। यो स्थितिमा विद्यार्थीले न विज्ञापनमा सत्यता भेट्छन् न त उमावि र कलेजमा। यस अर्थमा अर्को अन्योल रह्यो, सत्य बुझन भुक्तभोगी खोज्नुपर्ने भयो। ती भुक्तभोगी अघिल्लो वर्षका विद्यार्थी र निष्कासन गरिएका शिक्षक हुन्। मेरो भनाइ हो– दाजुदिदीकै अनुभव सुन्नुस्, ब्रोसियर र विज्ञापनको पछि नलाग्नुस्।

पठनपाठनमै अन्योल

के पढे गरिखान सकिन्छ? सम्मानजनक पेशा पाइन्छ? पर्याप्त आम्दानी हुन्छ? लगायतका प्रश्नको ठाडो उत्तर हो– जे पढे पनि हुन्छ। गरिखान र पढाइबीच खासै सम्बन्ध छैन–पढाइ र जनशक्तिको आवश्यकताबीच सम्पर्क नभएकोले। यसमा योजना आयोग, उद्यमी वा शिक्षण संस्था कसैको पनि चासो छैन। इन्जिनियरहरू बेरोजगार छन्, डाक्टरहरू जागीर नपाएर टापटिपे काम गर्छन्। पाइलटहरू छिमेकी देशतिर हेर्दैछन्, फरेष्ट्री पढेकाहरू वन बाहिर जागीर खाँदैछन्। कृषिविज्ञहरूको त्यही दशा छ। समाजशास्त्र पढ्नेहरू गैरसरकारी संस्थामा दर्खास्त दिएर सूत्रधार खोज्दैछन्। श्रमबजारमा प्रति वर्ष ७ लाख काम खोज्नेहरू आउँछन्, सरकारको तागत एक लाख जतिमा छ। अनि किन पढाइ र जागीरको सहसम्बन्ध खोज्नु!

जागीर बनाउने कि खोज्ने? पढेको विषय र जागीर जोड्ने कि पढेकै विषयमा जागीर खोज्ने? पहिलो अहिलेको आवश्यकता, दोस्रो हिजोको बुद्धिको निरन्तरता। भूकम्पपछि जागीर केमा होला? सिकर्मीमा? डकर्मीमा? बीमा क्षेत्रमा? पशुबस्तुको हेरचाहमा? नश्ल सुधारमा? खेतीको फसल बदल्नमा? मनोचिकित्सामा? घरदैलो शिक्षणमा? कानूनमा? ऊर्जा क्षेत्रमा? यो स्थितिमा जागीर के होला भनेर पढ्ने? यसको अर्थ हो– जागीर छ भनेर पढ्ने दिन गए, जागीरको लागि थप पढ्ने दिन आए। यहाँ जागीर खुल्दैछ, पढाइ पढौं भन्ने हो। अनलाइन पढौं भन्ने हो। विषयान्तर विज्ञता हासिल गरौं भन्ने हो। अबको युवा त्यसमा तयार हुने हो। तिनलाई पढाउनेले पनि यस्तै सोच्ने हो।

पेशा छनोटमै अन्योल

पेशा के रोज्ने? समस्या पेशा हो कि पेशाको अक्कल? धेरैको अन्योल हो यो। तर, पेशामा अब्बल हुनेले जे गरे पनि भयो। शिक्षक भए शिक्षणमा अब्बल, पत्रकार भए पत्रकारितामा अब्बल अनि व्यापारी भए व्यापारमा अब्बल। अब्बल र आम्दानी जोडिन्न कि? भन्ने प्रश्न जायज हो। यसको उत्तर हो– सन्तुष्टि केमा छ त? पैसामा? नाममा? काममा? अरू कुनै कुरामा? त्यस्तो भए सन्तुष्टि खोज्ने कि सुख खोज्ने? केको वकालत गरे पुर्खाले? भूकम्पले घर भत्कँदा के खोज्यौं? हाम्रै प्रश्नले हामीलाई पेशा छनोटको अन्योल चिर्ने उत्तर दिन्छ।

सक्नेले एउटै पेशाबाट नाम, दाम र सन्तुष्टि कमाऔं। नसक्नेले एक क्षेत्रमा नाम, अर्को क्षेत्रमा दाम र तेस्रो क्षेत्रमा सन्तुष्टि। पहिला खाले कमै हुन्छन्, दोस्रो खाले धेरै। यसको अर्थ हो हामी एकल योजनामा अल्मलियौं। बनाउनुपर्ने थियो– यो विषय नभए अर्को विषय पढ्ने वैकल्पिक योजना। यो काम नभए त्यो काम गर्ने योजना। यस पेशामा धन नभए अर्कोमा कमाउने। यहाँ नाम नकमाए अर्कोमा कमाउने। यहाँ असन्तुष्टि भए अर्कोमा सन्तुष्टि लिने। यो बुद्धिले पेशा छनोटको अन्योल घट्छ।

जिन्दगी जिउनेमा अन्योल

जिन्दगी जिउने कला जाने जहाँ पनि संभावना देख्ने र केही गर्न सक्छु भन्ने ऊर्जा तरंगित हुन्छ। त्यही ऊर्जा दोहन गर्न हाम्रा पुर्खाले योग, ध्यान र उपासना सिकाए। त्यसको संस्थागत विकास गर्ने रीत बनाए। ती रीतहरूमा चित्त नबुझ्े बदलौं, तर शरीरभित्रको, ब्रह्माण्डको सकारात्मक ऊर्जा दोहन गरौं। नकारात्मक ऊर्जा दोहन गर्नेहरू जिन्दगीबाट पलायन हुन्छन्। तिनलाई बदल्ने हाम्रा आफ्नै परम्परा छन्। रीस उठ्दा मुखमा पानी राख्ने परम्परा। मन नपरे ढुंगो बन्दिने तर नबोल्ने परम्परा। तनाव वा पीडा भए गाई, बाख्रालाई सुनाउने परम्परा। बिहानै सुनाउने परम्परा। बहिरा देवी देवता छन् भनी कराएर सुनाउने परम्परा। यति राम्रा परम्पराका धनीहरूले जिन्दगी मास्ने हो र? आफूलाई तनावमा राख्ने हो र? सोचौं– अन्योल हामै्र हो। अन्योलको उत्तर खोज्न सक्ने पनि हामी नै हौं।

उड्न खोजेको हवाईजहाज जस्तो, नदी थुने जस्तो ऊर्जा संग्रह गर्ने अवसर छ। उमाविकै अन्योलमा पनि संभावना छन्। त्रिवेणीको अन्योलमा स्तरीय परीक्षा प्रश्नावली बनाउने। बजारको बहुधार र उमाशिपको एकलधारबीच संवाद गराएर समाधान खोज्ने। कलेज छनोटको अन्योलमा प्रमाणपत्र तह, कलेज र उमाविको परीक्षा एउटै निकायले लिने। १२ कक्षाको जाँच जिम्मा लिन सरकारले बनाएको सोचमा प्रश्न गर्ने। सामुदायिक उमाविलाई समुदायमै जोड्ने अनि समुदायकै विषय पढाउने, केही क्रेडिट ट्रान्सफर गर्ने। निजी तथा सरकारी कलेज एवं उमाविहरूको नक्शांकन गर्ने, एकअर्कामा गाभ्ने। पठनपाठनको अन्योलले पेशोन्मुख सेवा (करिअर काउन्सिलिङ) दिने प्रबन्ध गर्ने। एउटा विषयको पढाइमा मात्रै भर गर्ने संस्कार बदल्ने।

अन्त्यमा, जिन्दगी एकल हुन्न, बहुलतामा चल्छ। त्यसैलाई स्वीकार्ने अभिप्रेरणा दिने।

comments powered by Disqus

रमझम