१३-१९ असार २०७२ | 28 June - 4 July 2015

आफैंलाई चिन्ने अवसर

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
परीक्षामा फेल हुनु भनेको जीवनमा असफल हुनु होइन, बरु आफूभित्र लुकेको क्षमता चिन्ने अवसर हो।

“मकेही विषयमा फेल भएँ तर मेरा एक जना साथी सबैमा पास भए। उनी अहिले माइक्रोसफ्ट इञ्जिनियर छन् भने म त्यसको मालिक”, सूचनाप्रविधि उद्योगमा असाधारण प्रगति गरेका विल गेट्सको यो भनाइले अनुत्तीर्ण भई निराश धेरै विद्यार्थीलाई प्रेरणा दिन सक्छ। गेट्सको सफलताले पुष्टि गर्छ, औपचारिक शिक्षामा असफल हुनुले जीवनको सफलता र असफलताको मापन गर्दैन, परीक्षामा अनुत्तीर्ण हुनु जीवनमा अनुत्तीर्ण हुनु हुँदै होइन।

परीक्षा नियन्त्रण कार्यालयले यसपालि एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको नतीजा निकाल्यो। हरेक वर्ष नतीजामा फेल हुनेको संख्या बढी देखिन्छ। विद्यालय शिक्षाका रूपमा १२ कक्षाले मान्यता पाइसके पनि एसएलसीलाई शैक्षिक सफलताको मापक मान्न अझै छाडिएको छैन।

हरिवंश आचार्य

महात्मा गान्धी

स्टिभ जब्स

रवीन्द्रनाथ टैगोर

विल गेट्स
एसएलसीमा असफलताको पीडा सहन नसकी हरेक वर्ष कलिला किशोरकिशोरीले आत्महत्या गर्छन्। एसएलसीलाई 'हाउगुजी' बनाउने अभिभावक, शिक्षक र सरकार त्यसका दोषी हुन्।

विश्वचर्चित यस्ता धेरै पात्र छन् जसले विद्यालय जीवनमा असफलता सामना गरे तर उनीहरूको जीवन सफल र महान् बन्यो। वास्तविक असल उनीहरू नै कहलिए। साहित्यमा नोबेल पुरस्कार पाएका रवीन्द्रनाथ टैगोर १० कक्षामा ७ पटकसम्म फेल भएका थिए। म्याक्सिम गोर्की कहिल्यै विद्यालय गएका थिएनन्। विलियम शेक्सपियर कक्षा ५ मा दुईपटक फेल भएका थिए। लियो तोल्सतोय कलेजबाटै भागेर हिंडेका थिए। कला क्षेत्रसँग मात्र होइन, विज्ञानमा पनि प्रशस्त यस्ता उदाहरण छन्। थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो। उनलाई 'नो कलेज, नो नलेज' भनेर सबैले हेप्थे। अल्बर्ट आइन्सटाइन कलेजको प्रवेश परीक्षामै फेल भए। उनलाई 'मन्दबुद्धि' भनिन्थ्यो। सर आइज्याक न्यूटनको हालत पनि उस्तै थियो। उनलाई कक्षामा 'सुस्त मनस्थिति' भनेर हेलाँ गर्थे।

एसएलसी सरहको म्याटि्रकुलेसन परीक्षामा तेस्रो डिभिजनमा पास भएका मोहम्मद करमचन्द गान्धीले विश्वमै अहिंसात्मक आन्दोलनको पाठ पढाए। पादरी शिक्षा लिएका चार्ल्स डार्विन विकासवादका संस्थापक बने। विन्स्टन चर्चिल कक्षा ६ मा फेल भएका थिए। जोन डी रकेफेलर निरक्षर थिए भने ब्रुस लीले पनि पढाइ छाडी मार्शल आर्ट रोजेका थिए।

सिर्जनाका बादशाह मानिएका एप्पलका संस्थापक स्टिभ जब्स पनि कलेज 'ड्रप आउट' थिए। माइकल फराडे, स्टेफन स्पेलबर्ग, पिटर जेनिग्स, हेरी एस ट्रूमन लगायतका विश्वचर्चित व्यक्तित्वले कलेज नै टेकेका थिएनन्।

यस्ता सफलताका कथा नेपालभित्रै पनि थुप्रै छन्। कलाकार हरिवंश आचार्य, फोटोग्राफर राजभाइ सुवाल, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (डीआईजी) रविराज थापा, सरकारका पूर्व सचिव द्वारिकानाथ ढुंगेल पनि एसएलसीमा फेल भएका थिए।

ब्रुस ली

थोमस एल्भा एडिसन

अल्बर्ट आइन्सटाइन

लियो तोल्सतोय

एसएलसीमा तीन पटक फेल भएका कलाकार आचार्य भन्छन्, “फेल भएकोमा आत्महत्या गर्नुपर्ने भए मैले तीन पटक मर्नुपर्थ्यो।” आफ्नो कला क्षमता पहिचान गरेर अघि बढेकैले आफू आजको अवस्थामा आइपुगेको बताउँदै भन्छन्, “पास भएको भए जागीर खान्थें, कतै गुमनाम जीवन बिताउँथे होला, तर फेल हुनु वरदान भयो।” उनको भनाइमा नेपालको शैक्षिक प्रणाली र सन्तानको भन्दा आफ्नो चाहना लाद्ने अभिभावकको गलत सोचका कारण एसएलसी जहिल्यै समस्या बनेको हो। दुई पटक एसएलसी फेल हुँदाकै समयमा आफैंलाई चिनेर फोटोग्राफी सिकेकैले आजको अवस्थामा पुग्न सकेको चर्चित फोटोग्राफर सुवाल बताउँछन्।

साहित्यकार अमर न्यौपानेको प्रकाशोन्मुख उपन्यास 'करोडौं कस्तूरी' शिक्षा प्रणालीका यिनै विकृतिमाथि केन्द्रित छ। अहिलेका लाखौं विद्यार्थी वनको कस्तूरी झ्ौं आफ्नै नाभीभित्रको सुगन्ध थाहै नपाई भौंतारिइरहेको' बताउने न्यौपाने भन्छन्, “तर मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्छ। एसएलसी र यस्ता परीक्षामा फेल हुनेहरूले आफ्नो सुगन्ध आफैंभित्र खोज्नुपर्छ।” (हे. बक्स)

मानवशास्त्री सुरेश ढकाल भने पढ्दै नपढी अब्बल भएका व्यक्तित्व अपवाद भएको बताउँछन्। तर, विद्यालयस्तरमै क्षमता पहिचान गरी त्यसै अनुसारको शिक्षा दिने हो भने कोही असफल नहुने उनको भनाइ छ। कक्षा १२ पछि 'स्कूल लिभिङ' हुनुपर्नेमा सरकार स्वयं कक्षा १० को मोहमा फँसेको बताउँदै उनी भन्छन्, “१ देखि ९ कक्षासम्म खुरुखुरु पास गर्ने अनि १० कक्षामा कडाइ गर्ने? विद्यार्थीको भविष्य बिगार्ने दोष सरकारले लिनुपर्छ।”

comments powered by Disqus

रमझम