१३-१९ असार २०७२ | 28 June - 4 July 2015

आठौं शिखर

Share:
  
सात वटै महादेशका अग्ला चुचुराको आरोहण गरेका द सेभेन समिट्स वुमेन टीमको हिमाल चढाइको अनुभव भूकम्पप्रभावित पहाडका दुर्गम भेगमा राहत तथा पुनर्स्थापनामा उपयोगी बन्यो।

डब्ल्यूएफपीको तर्फबाट रसुवाको चिलिमे गाविसमा राहत वितरणमा खटिएकी महोत्तरीकी आशाकुमारी सिंह।
सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेको सात नेपाली महिलाको टोलीले गत वर्ष सात महादेशका सात वटै अग्ला चुचुरा टेके। त्यो वेला उनीहरूलाई लाग्यो, अब चुनौती सकियो।

तर, १२ वैशाखमा महाभूकम्प गएपछि द सेभेन समिट्स वुमेन टीमको हिमाल चढाइको अनुभव भूकम्प प्रभावित पहाडका दुर्गम भेगमा राहत तथा पुनर्स्थापनामा उपयोगी बन्यो।

आशाकुमारी सिंहको घर पूर्वी तराईको महोत्तरी हो। तर, उनलाई मध्यपहाडको रसुवाबारे राम्रै थाहा छ। सेभेन समिट्स महिला टोली सदस्यका रुपमा हिमाल चढ्नुअघि सन् २००७ मा उनले रसुवाको लाङटाङ वरपर दुई महीनाको पर्वतारोहण तालीम लिएकी थिइन्। उनको त्यो अनुभव पत्तो पाएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले जब उनलाई रसुवामा राहत सामग्री वितरण कार्यक्रमको फिल्ड अफिसर बन्न प्रस्ताव गर्‍यो, उनले तत्कालै स्वीकारिन्।

“म तराईकी हुँ, तर यहाँ आफ्नै घर जस्तो लाग्छ, धेरै साथी छन्”, ८ असारमा भूकम्पले ध्वस्त गत्लाङ गाउँमा खाद्य सामग्री र जस्तापाता वितरण गरेर फर्किएकी सिंह भन्छिन्, “तर, बुबा–आमालाई म सगरमाथा चढ्ने वेला भन्दा बढी यतिवेला मेरो सुरक्षाको चिन्ता छ।”

टोलीकी अर्की आरोही चुनु श्रेष्ठ दोलखाको चरिकोटमा रहेको डब्ल्यूएफपीको रिमोट अपरेशन्स बेसमा कार्यरत छिन्। उनी सिन्धुपाल्चोकका दुर्गम स्थानका लागि आएका आवश्यक राहत सामग्रीलाई हेलिकप्टर, गाडी वा भरिया मार्फत पुर्‍याउन लागिपरेकी छन्।

“यो काम हेलिकप्टरमा सामान राख्ने र पठाउने मात्र होइन”, ५ असारमा चरिकोटमा भेटिएकी श्रेष्ठले भनिन्, “प्रत्येक गाउँको खास आवश्यकताबारे थाहा पाउनुपर्छ। खाद्यान्न चाहिएको गाउँमा 'स्यानिटेशन किट' पुर्‍याउँदा गाउँले रिसाउँछन्। अर्को गाउँमा खाद्यान्न भन्दा जस्तापाता चाहिएको हुन सक्छ।”

टोलीका शैली बस्नेत र माया गुरुङ मायाको गाउँ सिन्धुपाल्चोकको भोटेनाम्लाङमा आपत्कालीन राहत वितरण, विद्यालय मर्मत गरी कक्षा सञ्चालन गर्ने लगायतका काममा खटिएका छन्। अर्की सदस्य सुष्मा मास्के चाहिं डब्ल्यूएफपीको काठमाडौं कार्यालयबाटै संयोजन गरिरहेकी छन्।

टोलीका सदस्यद्वय पेमा डिकी शेर्पा र निमा डोमा शेर्पा गृह जिल्ला दोलखामा डब्ल्यूएफपीले वितरण गर्ने सामग्रीको सुपरीवेक्षण कार्यमा खटिएका छन्। भूकम्पले उनीहरूको सिमीगाउँका अधिकांश घर भत्किएका छन्। विद्यालय र गुम्बा पनि सद्दे छैनन्। तर, ५ असारमा भेट्दा पेमा र निमा लापिलाङमा राहत सामग्री पठाउन व्यस्त देखिन्थे। उनीहरूलाई थाहा छ, आफ्नो ठाउँमा भन्दा संकट लापिलाङमा छ, तत्काल राहत पनि उतै चाहिएको छ।

“विश्वका अग्ला सात चुचुरा आरोहण गरी नेपाललाई विश्वसामु चिनाउन पाउँदा व्यक्तिगत रुपमा आनन्द अनुभूत भयो”, पेमा डिकी भन्छिन्, “तर, भूकम्पपीडितलाई सघाउनुले बेग्लै सन्तुष्टि दिनेरहेछ, मातृभूमिको पीडामा ओखती गर्न पाए झै भइरहेको छ।”

कुन्द दीक्षित

comments powered by Disqus

रमझम