कृषक नर्स

Share:
  
बेलायत रहँदा डिमेन्सिया उपचारमा कृषिकर्म प्रभावकारी हुने देखेकी नर्स रेवता राई पशुपालन गरिरहेकी छन्।

सजना बराल
बेलायतको थेम्स कलेजबाट 'हेल्थ एण्ड सोसल केयर' विषयमा नर्सिङ कोर्स गरेकी रेवता राई (४१) अहिले भक्तपुरको बोडेमा पशुपालनमा व्यस्त छिन्।

भोजपुर, दिल्पा–३ की रेवताले स्वास्थ्यकर्मीका रुपमा नेपालगञ्ज मेडिकल कलेजमा काम गर्दागर्दै सन् २००६ मा लन्डन लागिन्। त्यहाँ उनले डिमेन्सिया (बिर्सने रोग) बारे अध्ययन गरिन्। पाँच वर्षसम्म त्यहींको अस्पतालमा डिमेन्सियाका बिरामीको उपचारमा सहभागी भइन्।

“नेपाल फर्केर म बेलायतमा झै 'डिमेन्सिया रिसर्च सेन्टर' खोल्छु”, मुलुक फर्कनुअघि रेवताको सपना थियो। तर, २०११ मा जसै नेपाल फर्किइन्, परिस्थिति उनले भने जस्तो थिएन। डिमेन्सियाका बिरामीप्रति गम्भीरता देखाउँदै, उनको सेवाभावमा लगानी गर्ने कोही निस्किएनन्।

त्यसपछि उनको रोजाइ पशुपालन बन्यो। “त्यत्रो पढेलेखेको भएर पनि किन बाख्रा, कुखुरा पालेको भन्दै धेरैले गाली गरे, कतिले त पागल समेत भने”, रेवता भन्छिन्। उनले बेलायतमा डिमेन्सिया बिरामीको उपचारमा 'फार्म हाउस' प्रभावकारी भएको देखेकी थिइन्। नेदरल्याण्ड्स र जापानका उदाहरण पनि पर्याप्त थिए।

प्रायः बूढाबूढीलाई लाग्ने डिमेन्सियामा स्मरणशक्ति खलबलिन्छ। र, उनीहरू ठ्याक्कै बच्चा जस्तो बन्छन्। राजधानीमै थुप्रै डिमेन्सिया पीडितलाई निद्राको औषधि ख्वाएर कोठामा थुनिदिने गरेको देखेकी रेवता भन्छिन्, “पशुपालनबाट आम्दानी गरेर अलिपछि डिमेन्सिया बिरामीको उपचार केन्द्र खोल्ने मेरो योजना छ।”

त्यही लक्ष्य पछ्याउँदै रेवताले बोडेमा तीन रोपनी जग्गाको दुई छेउमा कुखुरा, बाख्रा र कुकुर पालेकी छन्। एक हजार कुखुरा पालेकी उनले अण्डा बेचेरै दैनिक रु.१२०० देखि रु.२ हजारसम्म कमाउँछिन्।

डिमेन्सिया बिरामीको उपचारमा कृषिकर्मलाई प्रयोग गर्ने रेवताको अठोट सराहनीय छ। तर, हाम्रो बुढेसकाललाई जीवनका रंगीन सम्झनाले पूर्ण बनाउन एक्ली रेवताको लगन पर्याप्त छैन।

सजना बराल

comments powered by Disqus

रमझम