सिंहदरबारको साँढे

Share:
  
- महेश थापा
सिंहदरबार छिर्नासाथ मान्छेहरू साँढा बन्छन् भन्ने थाहा हुँदाहुँदै पनि मुलुकको त्यो प्रशासनिक केन्द्रमा साक्षात् साँढे ढसमस्सिएको बातले गच्ची नै ख्वायो।

भानु भट्टराई
“ए आयो, आयो!”

मान्छेहरू फिलिलि दौडेको देखेर म पनि ठाडोपुच्छर लगाउँदै त्यही हूलमा मिसिएँ।

“त्यसका साँढे यो भूकम्प भन्ने जिनिसले यसपालि बिताएरै छाड्छ कि क्या हो?”

साविक बमोजिम पूरक प्रश्न वा प्रतिक्रिया नहुँदा उदेकिंदै यसो मुन्टो घुमाएर हेर्दा त खेतबीचमा आफू एक्लै ठिंगिएको रहेछु। के गर्नु, भूकम्पले लिरिक्क पारो कि खेत, खलियान वा बारीको पाटोमा पुगेर मात्र खैरियत पुछ्ने बानी लाग्यो। असार १५ मा गह्रा सम्याएर पानी जमाएको खेतमा रोपाहार र बाउसेको नामोनिशान नदेख्दा त्यो फगत विभ्रम रहेछ भन्दै चोकैतिर फर्किएँ। झयालढोकामा छेस्किनी लगाएर मान्छेहरू घरभित्र थुनिएकाले चोक सुनसान थियो।

“घरभित्र थुनिनुपर्ने कुन जातको भूकम्प आयो?” एउटा घरको ढोका ढकढक्याउँदै कराएँ।

“छुसी भूकम्पसँग को चाहिं डराउला र अब? तर, रोपाइँमा छिरेको मैमत्त साँढेले ढिम्किन नदिएर छेस्किनी लगाएर बसेको”, घरमूलीले साउती गरे।

रोपाइँमा त गोरु जोतिन्छ, साँढेको के काम? बरु बाली पाके'सि सत्यानाश पार्न साँढे महाराज ढलकढलक पधारिनुहुन्थ्यो। तर्कनाकै बीच मैले फ्याट्ट भनें, “टिन ठटाएर खेदाउन छाडी सिल्ली साँढेसँग तर्सेर घरभित्र दुम्चिने?”

“तिमी भन्छौ नि!” घरमूलीले दुखडा सुनाए, “छिप्या बोको जस्तो दुङ्दुङ्ती गन्हाउने पात्तिएको साँढे छेउ कसरी पुग्नु? महिला देख्यो कि झ्म्टिहाल्छ, स्वाँकस्वाँक सुँघेर मर्छ, पड्के! हाम्रो इज्जत छैन? यस्तो डेन्जर साँढे छाडा होउन्जेल झयालढोका खोल्ने जोखिम मोलिन्न बा!”

“लेकतिर गएर यार्सागुम्बा चरेछ कि क्या हो! अनि के गर्‍यौ त त्यसलाई?”

“दहीचिउरा ख्वाएर मन्छायौं!”

“चड्कनचिउरा लगाउनुपर्नेलाई दहीचिउरा ख्वाए'सि पल्किंदैन त साँढे?”

“सिंहदरबारको साँढे पर्‍यो, क्यार्नु!” घरमूली विवश देखिए।

कौतुहल मेट्न सिंहदरबार पुग्दा मूलढोकामा झुन्ड्याइएको बडेमानको बोर्डमा सूचना टाँसिएको थियो– महिला निषेधित क्षेत्र! महिलाहरूलाई सिंहदरबार प्राङ्गणमा दाखिल हुनबाट रोक्न ढोकामा ठूलो संख्यामा प्रहरी तैनाथ थिए। मुहारमा आंशिक चिन्ता झ्ल्काएका महिला प्रहरीहरू विशेष सतर्क देखिन्थे। साँढे अधमरिएको स्थानविशेषमा पूर्वसतर्कता अपनाइएको तिनका कमाण्डर प्रहरीले बताए।

“हे भोलेनाथ! भूकम्पले नपुगी आफ्नै वाहन समेत खोलेर हामीमाथि छाड्यौ?” मलाई आतेस लागेर आयो।

“देवाधिदेव महादेवलाई किन कोस्छौ बाबु, यो साँढे त हाम्रै वामदेवले पुल्पुल्याएको साँढे हो”, नेपथ्यबाट कुनै बुजु्रकको आवाज आयो, “आफ्नो चर्तिकलाबाट सार्वजनिक आक्रोश उत्पन्न भएपछि साखुल्ले हुन साँढे आफ्ना पालनहार गृहमन्त्रीको क्याबिनमा घुसेको छ।” त्यो सुनेर पत्रकारको हूलमा मिसिएर त्यतै सोझिएको भर्‍याङ्गमै झयाम्म जम्काभेट भयो।

“भदौको गाईजात्रा असारमै देखाउनुभएछ नि, मन्त्रीज्यू!” पत्रकारहरू वर्षे, “यस्तो हर्कत गरेर सिंहदरबारवासी बनिरहन मिल्ला?”

“मौका मिलेको घडीमा मैले हल्का रमाइलो गरें, श्लील–अश्लीलको छिनोफानो ग्वाँचहरूले गरुन्!” महिला पत्रकारतिर साँढेले ङिच्च दाँत देखायो।

“कस्तो रमाइलो, साँढेज्यू?”

“रमाइलोको अनुभूति व्यक्ति स्वयंले गर्ने हो! कसैको उमङ्गमा कोही सरिक हुन्न भने नहुँदा भएकै छ” आत्मविश्वासी साँढेले दार्शनिक पारा देखायो।

“महिलाहरूसँग लुटपुटिन शरम् लागेन? अझ् सिंहदरबारबाट डेरा सार्दैनौ बेसोमति?”

“म बैसठ्ठी कटेको साँढलाई त्यसरी नखेद्नुस्!” साँढे भावुक बन्यो, “सिंहदरबारबाट झिटीगुन्टा कस्नुपर्ने गरी केही बिराएको छैन। अडियो, भिडियो, टेलिभजन, रेडियो, पत्रकार लगायत सबै मिथ्या हुन्।”

बित्थाको गलफत्तीमा रुमल्लिनु भन्दा अर्थपूर्ण भेटका लागि पसिना बगाउनु उत्तम ठानेर हुनुपर्छ, साँढे बालकोटतिर हानियो। कत्राकत्रा काण्ड ढिसमिस हुने नयाँ नेपालमा सिंहदरबारबाट साँढेको पत्ता कटेको विरलाकोटी समचार भोलिपल्ट पढ्न पाइयो!

comments powered by Disqus

रमझम