पुराना शासकका गुण पनि बैगुन

Share:
  
- ज्ञानमणि नेपाल
कौटिल्यले पुराना शासकको दोष देखाएर खोइरो खन्न सक्यो भने नयाँ शासक लोकप्रिय हुन्छ भनेका छन्।

देवशमशेर।
१९५७ फागुन तेस्रो हप्ता गद्दीमा बसेका महाराज देवशमशेरको राज्याभिषेक चार महीनापछि १९५८ असारमा ठूलो उत्सवका साथ भयो। सँगसँगै, भाइभतिजाहरूबाट गद्दीच्युत गर्ने तानावाना पनि बुनिन थाले। सत्तासीन महाराजलाई गद्दीच्युत गर्न उनैका अङ्गरक्षकलाई हात लिनुपर्छ भन्ने मन्त्र सबैले जानेका थिए।

पहिले भीमसेन थापाले तर्जुमा गरेर भतिजा माथवरसिंह थापाले तैनाथी पाएको पल्टनले बाजले झ्ै झ्म्टने हुँदा त्यसलाई बाजपल्टन भनिन्थ्यो। बिजुली चम्के जस्तै झ्ट्ट मालिकको रक्षा गर्ने हुँदा त्यसलाई पछि बिजुलीगारत भनियो। जसले यसलाई हात लिन सक्यो, राज उसैको हुन्थ्यो। त्यसैलाई हात लिएर जङ्गसन्तति पन्साएका वीरशमशेरले रणोद्दीपलाई पनि मारेका थिए। चन्द्रशमशेरले पनि यसैलाई हात लिएर राज्याभिषेक गरिएको महीना दिनभित्रै देवशमशेरलाई राजीनामा गराएर निकाले। यति चाँडो गर्नुको कारण जनतामा देवशमशेरको वाह्वाही चल्न थालिसकेको थियो। उनले जागरण ल्याउने र जापानको जस्तो शासनपद्धति चलाउने ध्येय राखेका थिए।

उनले जयपृथ्वीबहादुर सिंह जस्ता सल्लाहकार राखेका थिए, जसले नयाँ खुलेका पाठशालाहरूका लागि पाठ्यपुस्तक तयार पार्न थाले। समाचार प्रवाहका लागि गोरखापत्र प्रकाशित हुन थाल्यो। कर्मचारीको पनि कार्य समय र विदाको दिन निर्धारित भयो। कमारा–कमारीको अमलेख गराउनु देवशमशेरको अर्को महत्वपूर्ण काम थियो। उनले सरकारबाटै मोल तिरिदिएर कमारा–कमारी छुटाउन थाले, जुन पुरातनपन्थी र धनीमानीका लागि असह्य भयो। पहिलेदेखि सैनिकलाई खान्कीमा जग्गा दिइन्थ्यो, देवशमशेरले नगद दिने घोषणा गरे। त्यो झ्न् ठूलो दोष भयो।

चन्द्रशमशेर।
अघि रङ्गनाथ पौडेल मुख्तियार हुँदा पनि सैनिकलाई जग्गा होइन, नगद नै दिनुपर्छ भन्ने कुरा उठ्दा सेना भड्किएको थियो। त्यही कुरालाई लक्ष्य गरेर चन्द्रले पहिले 'बाहुन मुख्तियार हुँदाको जस्तै उधुम उठ्ने' संकेत गरेका थिए। देवले भविष्य हेरेरै त्यसो गरेका थिए, तर सबै उनको दोषै दोष भए।

कौटिल्यले पुराना शासकको दोष देखाएर खोइरो खन्न सक्यो भने नयाँ शासक लोकप्रिय हुन्छ भनी लेखेका छन्। यो कूटनीति हो। राजा महेन्द्र राणाशासनको निन्दा र प्रजातन्त्रको बखानमा कहिल्यै थाक्दैनथे। अहिलेका प्रगतिशील नेता हौं भन्नेहरू पनि महेन्द्रवाणी दोहोर्‍याएर संसदीय प्रजातन्त्र अफाप भइसक्यो भन्न लागिसके।

उनीहरू बहुलवाद होइन जनवाद, गणतन्त्र होइन जनगणतन्त्र उत्तम हो भन्दैछन्। नयाँ नेता–शासकको धर्म नै पुरानाको बदख्वाइँ गर्ने हो।

नयाँ महाराज चन्द्रशमशेरले अंग्रेज रेजिडेन्टसँगको पहिलो भेटमै गद्दीच्युत दाजु महाराजका गुणहरूलाई पनि बैगुनको रूपमा प्रस्तुत गरे। यो बुझ्ेका अंग्रेज पियर्स कोट्याई कोट्याई सोध्छन्। यस परिसंवादमा रूसी प्रतिनिधिमण्डल तिब्बत हुँदै चीन पसेको विषयलाई महत्व दिएको छ। अंग्रेजी साम्राज्यको शक्तिशाली शत्रु जारशाही नै थियो। रूसीहरू कहिले अफगानिस्तान त कहिले तिब्बतबाट आफ्ना मान्छे चीन पठाउँथे। ल्हासास्थित नेपाली वकीलबाट त्यसको खबर लिने चेष्टा अंग्रेजको हुन्थ्यो।


प्रधानमन्त्री चन्द्रशमशेर र बेलायती रेजिडेन्ट बीचको संवाद

संवत् १९५८ साल श्रावण वदी ५ रोज २ मुताविक सन् १९०१ अगष्टको ५ तारीखका दीन श्री ३ महाराज चन्द्रशमशेर जङ्गबहादुरबाट प्राइम्मिनिष्टर हुदा उठाइबक्से पछीको पैल्हा श्री पश्चिम्तर्फका कम्यांडीङ्ग जनरल फत्येसम्शेर जङ्गबहादुर राणा बहादुर, मेजर कप्तान भैरवबहादुर गढतौला क्षेत्री, सुब्बा मरीचमान सिंलाई साथ्मा लीबक्सी रजीडंसीमा दिउंसो ३।। बजे सवारी भै रजिडन्ट कर्णेल टि.सी. पियर्स साहेबसंग मुलाकात हुंदा भयाको कुरा कहानी रजिडन्ट साहेबसंग डाक्टर आर्मष्ट्राङ थिये.

खैराफियत्को कुरा भैसकेपछि श्री ३ महाराजबाट हुकुम् भएको रेजिडन्ट साहेबले बोलेको भनी दुई लङ्गमा दुई जनाका कुरा लेखिएका छन्।

पहिले पानी परेको बारे कुरा हुन्छन्। त्यसपछि रेजिडेन्ट यताउता डुल्न जाने कुरा गर्छन्, यसपछि–

रेजिडेन्ट– टिवेट्यान् मीसन्को बारेमा तपाईबाट पठाउनु भयाको खबर गभर्मेन्टलाई लेखी पठाउंदा खुस भै सुकुर्गुजारी गरी पठायाको कुरा तपाईलाई अघी नै खवर पठायाको छु. फेरी यौटा अर्को खवर गभर्मेन्टबाट लेखिआयाको छ. सो कुरा विश्वास्को हो. तिबत्मा गयाको मीसन्का मानिसहरू नेपालको बाटो गरी बबै पुगी ताहांबाट सीलोन् गै सीलोन्को बाटो रुसको उडीसातरफ गयाको जस्तो बुझिन्छ भन्ने बेहोराको कुरा मलाई लेखी आयाको छ. तेसै निमित्त गयाको अप्रेल मैन्हामा नेपाल्को बाटो गरी गयाका भोटेहरू को हुं भनी मैले सोधी पठायाथ्यां...१८

श्री ३– बेपारी भोटेहरू आउंछ जान्छ. ती मानीसहरू यस्तै हुन्छ भने केही पक्का हाल थाहा हुंदैन. तर मेरो चित्तमा ता रुस जानालाई नेपालको बाटो गरी आउनु पर्दैन. कीन भने दार्जलीङ्गको बाटो गरी जानाले तिनीहरूलाई बहुतै नजीक पर्छ उ बाटो गरी जांदा ल्हासाबाट १० दिं जतिमा दार्जलीङ्ग पुगीन्छ यो बाटो आउनाले मैन्हौ दीन् सफर गर्नुपर्छ...१९

रेजी– यो कुरो पक्कै हो भनी मैले भनेको होइन. तर यस्तै अनुमान् भयेको छ भनी तपाईलाई सुनायेको हु. तर यस्ता किसिमका गोप्यसाथ जाने मानिसहरू थाहा नहोस् भंनानिमित्त घुमावरै बाटो गरी पनी अक्सर जाने गर्छन्...२०

श्री ३– अघी गयेका मीसन्ले मेडीयर पुगी रुसको बादसाहसंग भेट गरी फर्की आया भनेको धेरै दीन्को कुरा हो. त्यो मीसन्मा गयाको मानीसहरू यही अप्रेल मैन्हामा गयाको चाही हुन सक्दैन...२१

रेजी– अघिल्लो मीसन्को मानीस् अर्कै हो. यो पछील्लो पट्क जाने दोर्ज्ये भनेको कुरा मैले गरेको हुं. नीजलाई रुस्का रैती भनी भंदा रहेछं अघीबाट रुस्ले मीसन् पठाया तेसैको फिर्ती मीसन्को तवरसंग पोर र यो साल २ मीसन गयाको देखीन्छ...२२

श्री ३– अघिल्लो मीसन् रुस्मा गयेको हाल् पाउंदा हाम्रा वकीलहरूलाई लेखी पठायेकोमा निज्ले तिबत् एण्ड पोर्टसंगै सोधी पायेको खबर लेखी पठायेको मैले तपाइलाई लेखी पठाई सकेकै छु फेरी यो पछील्लो मीसन् गयाको खबर आउनासाथ अर्को चिठ्ठी लेखी सोधी पठायेको छु. ज्वाव् आउनुसाथ् तपाईलाई खवर दीउला हाल् नीज वकील्ले सुनेका खबर लेखी पठायाको हाल् यही हो...२३

रेजी– यो कुरा सुनाउनु भयाकामा तपाईलाई सुकुरगुजारी छ. तपाईबाट सोधी पठाउनु भयाको चीठ्ठी ज्वाव् आउनालाई कति दीन् लाग्ला...२४

श्री ३– चीठि्ठ आउनालाई २ मैन्हा जानालाई २ मैन्हा जति लाग्छ...२५

रेजी– मलाई गभर्मेन्टबाट लेखी आयाको यस् विषयको कुराहरू म सबै तपाईलाई लेखी पठाउनेछु...२६

श्री ३– तपाईको मेहरवानी हो. मैले पनि अैल्हे पायाको खवर तपाईलाई पढी सुनायेको लेखी पठाइदिउला...२७

रेजी– तपाईको मेहरवानी हो. यो विषय गभर्मेन्ट इन्डियाले जतीको जरुरी संझेका छ उतीकै नेपाल् गभर्मेन्टले संझनु भयाकै छ...२८

श्री ३– यो विषयमा नेपाल्को ठूलो इन्टरेष्ट छ. सो कुरा अघी पनि यांहा लेखी पठायेको छ...२९

रेजी– कम्माण्डर इन चीफको थमौती केही दीं पछी हुन्छ भनी छापामा लेखीयेको रहेछ...३०

श्री ३– हो भारदार, अफिसर, पल्टन इत्यादी गैह्र सर्कारी नोकरहरूको साल्ना १ पल्ट थमौती गर्ने दस्तुर छ...३१

रेजी– संघै यै टाइम्मा हुन्छ की...३२

श्री ३– यही टाइम्मा हुन्छ. तर यो साल अलीक् दीन् ढिलो भयाको छ...३३

प्राइम्मिनिष्टरको चेन्जमा आफ्नै दाज्युलाई (बर्खास्त गरी) सो वहदा लीनुपरेको हुनाले मलाई अवसोस् छ तर के गर्नु. नगरी नहुने भै परी आयाको हुनाले लाचारीसाथ गर्नूपर्‍यो...३४

रेजी– सो तव्दील् भयाको कारन् मलाई सोध्नाको ता केही प्रयोजन छैन तर म आफु र ईनी डाक्टर आरमष्ट्राड्को समेत राय भंदछु की हामीलाई जस्ता महाराज देवसम्सेर उस्तै तपाई पनि हुनुहुन्छ. यस्ले हामीलाई केही हानी छैन. उसो भया तापनी माहाराज देवसम्सेरको माया लाग्छ...३५

श्री ३– वाहाका नीमित्त अब्सोस् र माया मलाई जतिको अरु कसैलाई लाग्नु सक्दैन. वहाको प्राइंमीनिष्टरी छाड्नु परेको मुख्य कारन् के भने हाम्रो यांहा पल्टन अफीसर भारदारहरूलाई अघीदेखी जागीर्मा जमीन दी आयाको छ. अघीभन्दा जमीन्को र अनाज्को भाउ अैल्हे बढेको हुनाले खान्गीमा लेखीये भन्दा जमीनबाट जागीर्दालाई दोवर आम्दानी हुन्छ. तेस्मा यक्स महाराजबाट सो जागीरको खेत झीकी दर्ताबमोजीम्को नगदीमात्र दीने हिसाब गर्नुहुंदा सबै भारदार अफीसर पल्टंहरू चीडीन गया. अघी यक् पल्ट बाहुं मीनिष्टरका पालामा पनि यस्तै कुरामा मीनीष्टरलाई वेहीसाव हुन गयाको थियो. अैल्हे पनी उस्तै देखीन गयाको थियो. अरु साना तिना कारंहरू पनी छं. तर म आफ्नै दाज्युको बदखुवाई गर्न चाहदीन...३६

रेजी– त्यो काम् गरीहाल्नु भयाको ता थीयेन. तपाईहरूले सम्झाउनु भयाको भया गर्ने मन् पनी गर्नू हुने थियेन...३७

श्री ३– गरी नै हाल्नु भयाको ता थियेन. तर गर्नालाई नीश्चय गर्नुभयाको थियो. हामी भाइहरूले धेरैपल्ट सम्झयां. मान्नु भयैन. मैले मात्र १०।१२ पल्ट संझाये हुला...३८

रेजी– महाराज्धीराज्बाट तब्दील्लाई मन्जुर गरनु भयोकी...३९

श्री ३– गर्नु भयो...४०

रेजी– वाहाबाट यक्स माहाराज्लाई यस्तो काम् गर्नुहुन्न भनी संझाउनु भयेन की...४१

श्री ३– वाहालाई यस्ता कुराको अख्तियार छैन्...४२

(मूलमा एक पत्र छुटेकाले ४३ देखि ४९ सम्मका प्रश्नोत्तर पनि छुटेका छन्। ती अमलेख सम्बन्धमा थिए भन्ने बुझिन्छ) तिनीहरू फेरि मेरै जीम्मा आइरहेका छन्. तर म आफ्ना दाज्युको बदख्वाइ गर्न चाहदीन इ कुराहरू तपाई मेरो बीच्मा मात्र भयेको संझनु होला...५०

यस्तोमा जाहा जाहा पाइन्छ डेढ्सेदेखी दुईसेसम्म धनीलाई दी कमारा कमारीहरू अभलेख् गराउने हिसाब् गरायेको छु. २०००० जति खर्च भै पनी सक्यो पाली ढुक्टीले कां गर्न परेको छ. यस्तो कां यकैपल्ट १ दीन् २ दीन् मैन्हा २ मैन्हामा हुने होइन. वीस्तार वीस्तार हुने हो...५१

रेजी– माहाराज देवसम्सेर कैदमा छ की...५२

श्री ३– कैदमा हुनुहुन्न हीन्न डुल्नको आजादगी छ. १।२ वर्ष पछी हीन्दुस्तान्तरफ तिर्थ गर्न जानेमन् गर्नुभयो भने पठाई दिन्छु...५३ रेजी– वाहा जानु भयाका ठाउंको राज्काज्को कां वहीलाइ दीनु भयाको छकी...५४

श्री ३– राज्काज्को कां दीयाको छैन. सो बाहेक वाहाको वहदा र मेरो दाज्युलायेक्को इज्जतसाथ रहनालाई यस् मुलुकको गक्षे अनुसार वादसाही ढाचासंग बस्ने बन्दोबस्त गरिदियेको छु. राज्काज्को तागतमात्र दीयेको छैन...५५

रेजी– वाहाबाट बाहेरी दुनियांसंग चीठ्ठी पत्र गर्नाको इजाजत मीलेको छ की...५६

श्री ३– यस् मुलुकमा जोसंग लेखापढी गर्नुभया पनी हुंछ. देस्तर्फ कलकत्ताका माहाजन्हरूसंग पनी माल मगाउनलाई चीठी मात्र गर्न सक्नुहुन्छ...५७

साचै भनु भने वाहा डीपुज् हुनुभयाको होइन. वाहाबाट इस्तफा लेखी दीनु भयाको छ. यौटा चीठ्ठी तपाईलाई पनी लेख्नु भयाको थियो. तर कर्काप गरी लेखायाको भन्ने संझीयेला भने हीसाबले तपाईसंग पठाउन चीठी यही हो. भनी चीठी बक्सीयो...५८

रेजीडन्टसाहेवले चीठ्ठी पढी हेरे...५९

श्री ३– यस्मा खारेजी भन्नु ठिक होइन भनी यस माहाराज्बाट लेख्नु भयाको छ. वाहाबाट इस्तफा दीनुभयाको हो...६०

रेजी– बेलायती छापा र अरु अरु छापाहरूमा पनी रीभोल्यूशन् भनी लेखीयाको छ...६१

श्री ३– त्यो छापा तपाईसंग छ...६२

रेजी– छ...६३

श्री ३– मलाइ हेर्न दीनहुन्छ की...६४

रेजी– हुन्छ. दीउंला...६५

comments powered by Disqus

रमझम