सन्तान जन्मँदा को खुशी नहोला! तर, ३१ असोज २०६७ ले राजु र संगीता तामाङको जीवनमा दुःखको सागर लिएर आयो। जन्मन त पितृसत्ताले खुशीखुशी स्वागत गर्ने छोरै जन्मेका थिए, तर हात–खुट्टा नभएका। जसलाई चिकित्सा विज्ञानले टेट्राएमेलिया सिन्ड्रोम भनेको छ।
आफ्नो तेस्रो सन्तान रविनको स्वरुप देख्दा तामाङ दम्पती भाग्यलाई धिक्कार्थे। छोराको भविष्य कल्पना गर्दा उनीहरू कहालिन्थे। छोरो तीन वर्ष पुग्दासम्मको हरेक दिन उनीहरूका लागि पीडाको एक युग थियो।
एक वर्षअघिको एक दिन अपाङ्गता क्षेत्रमा कार्यरत साहित्यकार मनिषा गौचनसँग रविनका बुबा राजुको भेट भयो। भेटमा राजुले हात–खुट्टाविनै उफ्री–उफ्री रमाउँदै हिंडिरहेको रविनको मोबाइल भिडियो देखाए। शुरूमा त मनिषालाई पनि अचम्म लाग्यो। अर्को दिन रविनको घरमै पुगी मनिषाले यस्तै शारीरिक समस्याग्रस्त अस्ट्रेलियन निक भुजिकिक (३३) को संघर्ष र सफलताको भिडियो देखाइन्। भिडियोमा निक स्वीमिङ्ग, गल्फ, कम्प्युटर, वाद्ययन्त्र, फिसिङ्ग, पेन्टिङ्ग, अभिनय, फोटोग्राफी, पुस्तकलेखन सबै सबै गरिरहेका देखिन्थे। यति मात्र होइन, उनी संसारभरका सबलाङ्गलाई समेत जीवनप्रति आशा जगाउने प्रेरणास्रोत बनेका थिए। (हे.तस्वीर)
तामाङ दम्पतीले निक र रविन उस्तै देखे। त्यही दिनदेखि उनीहरूको वर्षौंको निराशा आशामा बदलियो। अवसर पाएमा आफ्नो छोरो पनि निक जस्तै बन्नेमा विश्वास पलायो। राजु भन्छन्, “कुन जुनीको पापले यस्तो सन्तान भयो भन्ने लागेको थियो तर निकको जीवनले ठूलो राहत महसूस भएको छ।” लक्षण त्यस्तै देखिन्छ। रविन अहिले ए,बी,सी,डी, १,२,३ पढ्छन्; लेख्छन्। हिंड्ने, उफ्रने र भर्याङ समेत चढ्छन्। टीभीमा कार्टुन हेर्छन्, रमाउँछन्। हिन्दी कार्टुन 'मोटु और पत्लु' हेर्दा मज्जा आउने बताउँछन्।
मनिषाकै सक्रियतामा जन्मँदै मलद्वार टालिएको समस्या झेलिरहेका रविनको शल्यक्रिया गरिएको छ, घरमै पढाउन शिक्षकको व्यवस्था गरिएको छ। मनिषा भन्छिन्, “अचानक जोडिन आइपुगेको रविन मेरै सन्तान जस्तो लाग्न थालेको छ।” (हे. छुट्टै अनुभूति)