म अपांगताको क्षेत्रमा काम गर्ने कुरा थाहा पाएपछि अढाइ वर्षजति अघि व्यवसायी राजबहादुर गिरीले मलाई रविनको बुबासँग भेट्टाइदिएका थिए। “दिदी यसले दाजुसँग कापीकलम मागेर लेख्न खोज्छ। खानेकुरा आफैं खाने भन्छ। भर्याङ आफैं चढ्छ, हेर्नुहुन्छ?” भेटमा राजुले मोबाइलमा खिचेको भिडियो देखाउँदै भने। न हात, न खुट्टा। अहो! कसरी पार गर्न सकेको भर्याङका खुट्किला? भर्याङ चढ्न सक्छु भन्ने दृढविश्वास। अनि पूरै भर्याङ उक्लेपछिको विजयी भावमा माछा झ्ौं उफ्रन थालेका उनी। मेरा आँखा रसाए। बालकको जीवन संघर्ष देखेर म चकित भएँ। उनी जीवनका प्रेरणा लागे। त्यसपछि हो, म उनलाई हेर्न गएको।
सम्झ्ों, अस्ट्रेलियन निक भुजिकिकलाई। उनका पनि दुवै हातखुट्टा छैनन्। तर, निक जीवनबारे आश जगाउने प्रवचन दिंदै संसार चहार्छन्। दुई विषयमा स्नातकोत्तर उनी लेखक पनि हुन्। उनी स्वीमिङ्ग जान्छन्। गल्फ खेल्छन्। कम्प्युटर चलाउँछन्। वाद्ययन्त्र बजाउँछन्। अभिनय गर्छन्। फिसिङ्ग अनि पेन्टिङ्ग पनि गर्छन्। एक छोराका बाबु पनि हुन्।
आज हाम्रा आँखाअघि निक जस्तै अपांगता भएका रविन छन्। चार वर्षीय उनी पनि चिउँडोले कलम च्यापेर ए, बी, सी, डी लेख्छन्। पढ्न खोज्छन्। दाजुको झोला लिएर स्कूल जाने तयारी गर्छन्। भर्याङ चढ्छन्। सबै काम सबलाङ्ग झ्ौं गर्न तम्सन्छन्। यसो गरिरहँदा रविनको अनुहार गर्वले चम्कन्छ। लाग्छ, उनले जीवनमा धेरैथोक गर्न बाँकी छ। के रविनलाई निक जस्तै सक्षम बनाउन सकिएला? मलाई बारम्बार यो प्रश्नले घोचिरहन्छ।
“भूकम्प जाँदा कहाँ थियौ?” १३ असारमा भेट्न गएकी मैले सोधें। “खाट मुनि” उनले भने। त्यसो त शुरू शुरूमा भेट्न जाँदा उनी खाट मुनि नै लुक्थे।
हाम्रो देशमा अपाङ्गता भएकाहरू शिक्षा, रोजगार, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाटै बञ्चित छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (सीआरपीडी) अनुमोदन गरेको नेपालमा यस सम्बन्धी थुप्रै नीति र कानून त बनेका छन् तर कार्यान्वयनको अवस्था निराशाजनक छ। यस्तो स्थितिमा रविनको भविष्य कस्तो होला? कल्पना गर्दा समेत मन अत्तालिन्छ।
रविनलाई स्कूलमा भर्ना गर्न सकिन्छ कि भनेर हामीले केही ठाउँमा बुझ्यौं। तर, अझ्ासम्म त्यस्तो स्कूल भेटिएको छैन। बाध्यताले उनलाई घरमै पढाउन शुरू गरिएको छ। रविन र रविन जस्ताहरूको जीवन सार्थक बनाउन हामी सक्षम भनिएकाहरू कति उत्तरदायी बन्न सक्छौं? सोध्न मन लागेको छ।