२०-२६ असार २०७२ | 5-11 July 2015

गालपारा समस्या

Share:
  
- डा. सुमनराज ताम्राकार
मुख र मोजा गन्हाउने समस्याबाट छुटकारा पाउन धेरै मूल्य चुकाउनु पर्दैन।

तपाईंलाई आफ्नो मुख गन्हाइरहेको बिल्कुलै थाहा नहुन सक्छ। बोलिरहँदा सामुन्नेको व्यक्तिले बेइज्जतीकै अनुभव गर्नुपर्ने हुनसक्छ। कतिपयलाई भने आफ्नो मुख गन्हाएको भान हुन्छ, तर वास्तवमा गन्हाइरहेको हुँदैन।

हेलिटोसिस वा फिटोर ओरिस भनिने यो समस्या गिजा पाक्दा र दाँतमा अड्केको खानामा कीटाणुहरूले सल्फर तत्व उत्पादन गर्दा हुन्छ। कतिपय औषधि, पिनास, टन्सिल, ब्रोङ्काइटिस, ब्रोङ्कियाक्टेसिस, मधुमेह, कलेजो, पेट र मिर्गौलाको समस्याले पनि सास गन्हाउन सक्छ।

नियमित ब्रस वा कुल्ला नगर्ने व्यक्तिहरूको मुखमा अड्किएको खाद्यकणहरूमा भएको सल्फरयुक्त प्रोटिनलाई कीटाणुहरूले टुक्र्याएपछि हाइड्रोजन सल्फाइड तथा मिथाइल मरक्याप्टेन नामक गन्हाउने ग्याँसयुक्त पदार्थ उत्पादन गर्दा मुख गन्हाउने समस्या आउँछ। यसले दाँत र गिजामा पनि समस्या उत्पन्न गराउँछ। लसुन, प्याज लगायतका कतिपय तरकारी तथा मसलामा तेल निस्किन्छ। त्यो वाष्पशील तेल फोक्सोमा गएर सासको माध्यमले बाहिर आउँदा पनि मुख दुर्गन्धित भए झैं गन्हाउँछ।

र्‍यालको कमीले मुख सुक्खा भई नष्ट भएका कोषहरू गिजामा जम्मा भएर पनि दुर्गन्ध फैलिन्छ। बिहान उठ्दा मुख गन्हाउन थाल्यो भने सम्झ्नुहोस्, मुखमा सुक्ने समस्या आएको छ। राति सुत्ने वेला र खानाको बीचमा मुख सुक्खा भए जस्तो लाग्यो भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ। धुम्रपान र मद्यपानले पनि मुख सुक्खा बनाउँछ र बढ्ता गन्ध उत्पादन हुन्छ।

एनारोब्स प्रजातिको कीटाणु मार्ने, नियमित ब्रस गर्ने, दाँतको बीच भागलाई औषधियुक्त धागो (फ्लस) ले सफा गर्ने क्लोरहेक्सिडिनयुक्त झोल औषधिले कुल्ला गर्ने अनि जिंकयुक्त पदार्थको प्रयोगले मुख गन्हाउने समस्याबाट छुटकारा पाइन्छ।

मोजा गन्हाएर हैरान

धेरै मान्छेको मोजा गन्हाउने समस्याले अरूलाई पनि हैरान पारेको हुन्छ। यो समस्या गर्मी याममा बढी हुन्छ– पसिनाको कारण। पसिनाको ओसिलोपनमा पैतालामा व्याक्टेरियाले विभिन्न रासायनिक प्रतिक्रिया गरी हावामा मिसिने सल्फर नामको यौगिक तत्व उत्पादन गर्ने हुनाले मोजा फुकाल्ने वित्तिकै भयानक गन्ध फैलन्छ। गर्मी याममा अस्पतालहरूको चर्म रोग विभागमा आउनेमध्ये पाँच प्रतिशत मोजा गन्हाएर हैरान भएका हुन्छन्।

आफ्नो मोजा गन्हाएको थाहा नपाइए पनि अरूले थाहा पाइहाल्छन्। त्यसमा पनि महिला र केटाकेटीहरूले मोजाको गन्ध चाँडै थाहा पाउँछन्। मोजा गन्हाउने समस्याले मानिसलाई कुनै पनि वेला निकै अप्ठ्यारोमा पारिदिन्छ।

मानिसको पाइतालामा साढे दुई लाखभन्दा बढी ग्रन्थी हुन्छन् भने जुत्ता लगाएको वेला तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुग्छ। त्यो तापक्रममा उत्पादन हुने पसिनाको लवण, बोसो, नुनिलो पदार्थ र अम्लयुक्त पानीमा व्याक्टेरिया र फंगस उत्पन्न भएर जुत्तासँगैको मोजामा सोसिन्छ र नराम्ररी गन्हाउँछ। नाइलनको मोजामा यो समस्या बढी हुन्छ। हत्केलामा पनि पसिना आउँछ, त्यो वाफ बनेर जाने हुनाले व्याक्टेरिया र फंगस उत्पादन हुन पाउँदैन।

मोजा गन्हाउने समस्याबाट छुटकारा पाउन महीनौं निरन्तर मिहिनेत चाहिन्छ। एन्टीव्याक्टेरियल साबुनले पटक–पटक खुट्टा धुने, धोइसकेपछि पुछेर ओभानो पार्ने, मोजा फेरी–फेरी लगाउने गर्नुपर्छ। कसिलो जुत्ता र नाइलन तथा पोलिस्टरको मोजा लगाउनुहुन्न।

जुत्ता–मोजा अघि खुट्टामा डिओडरेन्ट लगाउने र पसिनाले भिजेको जुत्ता घाममा सुकाउने गर्नुपर्छ। मोजा गन्हाउने समस्याबाट मुक्त हुने सबभन्दा भरपर्दो उपाय चाहिं खुट्टाको नियमित सफाइ नै हो।

comments powered by Disqus

रमझम