नेपालको आठ दशक लामो प्रजातान्त्रिक आन्दोलनको इतिहासलेखनमा राजेश गौतम अग्रणी छन्। उनका पछिल्ला तीन पुस्तक– नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग–३, ४ र ५ मा क्रमशः पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्म, सहयोगको प्रस्तावदेखि सशस्त्र आन्दोलन २०२८ सम्म र राष्ट्रिय मेलमिलापको नीतिदेखि बीपीको निधनसम्मको चर्चा गरिएको छ।
राजा महेन्द्रले २०१७ पुसमा निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रधानमन्त्री बीपी कोइराला, मन्त्रिमण्डलका अधिकांश सदस्य र सभामुख कृष्णप्रसाद भट्टराईलाई थुन्दा उप–प्रधानमन्त्री सुवर्णशमशेर भारतमा थिए। त्यसपछि कांग्रेसका कार्यकर्ताहरूका लागि पनि निर्वासन निर्विकल्प बन्यो। सुवर्णशमशेरले कार्यवाहक पार्टी अध्यक्षका रुपमा पटना सम्मेलनमा सशस्त्र संघर्षको आह्वान गरे। त्यसको तयारी हुँदै गर्दा चीन–भारत युद्ध शुरु भयो र परिवर्तित भूराजनीतिक परिस्थितिका कारण सशस्त्र संघर्ष बृहत्तर रुपमा शुरु नै नभई स्थगन गर्न बाध्य भयो, कांग्रेस। अनि व्यक्तिहत्याको दोस्रो श्रृंखला चलाउन फुक्का भयो, पञ्चायत।
नेपाली कांग्रेसका प्रमुख चार नेतामध्ये बीपी र गणेशमान सिंह जेलमा थिए भने सूर्यप्रसाद उपाध्याय रिहा भएका थिए। बीपीले 'आत्मवृत्तान्त' मा आफू लगायतका नेताहरूको रिहाइका लागि उपाध्यायले खेलेको भूमिकाको अवमूल्यन गरे पनि गौतमले न्याय स्थापना गर्न खोजेका छन्। उनले पञ्चायती संविधान संशोधन गर्दै प्रजातन्त्रीकरणको मार्गप्रशस्त गर्न राजा महेन्द्रले कानूनका ज्ञाता शम्भुप्रसाद ज्ञवालीदेखि सूर्यप्रसाद उपाध्यायसम्मको सहयोग लिएको खुलाएका छन्। तर, त्यही समयमा महेन्द्रको निधन भयो र राजा वीरेन्द्रले पञ्चायतलाई अझ्ा कसिलो पार्दै लगे।
बीपीले आफ्ना आखिरी दिनहरूमा भाइ गिरिजाप्रसादलाई पार्टी नेतृत्व स्थापित गर्न सामूहिक नेतृत्वको अवधारणा अगाडि सारेको संकेत गरेको पुस्तकहरूमा गौतमले बीपीको रिहाइपछि सूर्यबहादुर थापाको संदिग्ध भूमिकाको पनि चर्चा गरेका छन्। भाग–३ ले सशस्त्र संघर्षका खर्च–बर्चदेखि योजनासम्मका भित्री पाटो उधिनेको छ। भूमिगत संगठनभित्र यति पारदर्शी शैलीबाट काम भएको विरलै पाइन्छ। सशस्त्र संघर्षले कांग्रेस पार्टीलाई नयाँ पुस्तासँग जोडेर जीवन्त–चलायमान बनाएको देखिन्छ। भाग–४ र ५ पढ्दा जीवनका आखिरी वर्षहरूमा एक्लो बृहस्पति बन्दा पनि बीपीको व्यस्तता साँच्चै रहरलाग्दो बनेको देखिन्छ। यसबाट नेपाली राजनीतिमा बीपीको उँचाइ ठम्याउन पनि सघाउ पुग्छ।
इतिहासलाई अन्तर्वार्ता शैलीमा लिपिबद्ध गर्ने परम्परा बसाएका गौतमको इतिहासप्रति पृथक् धारणा छन्। उनका अनुसार, इतिहासकारले घटनासँग सम्बन्धित तथ्यगत सूचना–सामग्री पाठकलाई दिने हो, घटनाबारे अन्तिम टिप्पणी वा ठोकुवा गर्ने होइन। उनले तीन वटै पुस्तकमा पुरानो शैलीलाई निरन्तरता दिंदै परिशिष्टमा मूल सामग्रीहरू राखेर पाठकलाई आफैं धारणा बनाउने अवसर दिएका छन्।
रहस्यको गर्भमा रहेका थुप्रै तथ्यलाई बाहिर ल्याएका यी पुस्तकहरूको शीर्षकमा 'कांग्रेस' भए पनि पञ्चायतकालीन राजावादीदेखि कम्युनिष्टसम्मका अनेक घटकको चेहरा देखाएका छन्। इतिहासकार गौतमकृत यो संग्रह निसन्देह रुपमा पठनीय र संग्रहणीय छ।
शंकर तिवारी
प्रणय र यौनका कथा
**अश्विनी कोइरालाको 'जुकरबर्ग क्याफे' मूलतः प्रणय र यौनका कथाको सङ्ग्रह हो। संग्रहमा प्रणय र यौनका विविध परिवेशलाई साहित्यिक मूल्य सहित प्रस्तुत गरिएको छ। **
त्यस्तै, 'अपूर्वा' मा फुकीढल पात्र गोपालको प्रणय लालसा र हीनताबोधको चिरफार गरिएको छ। 'चिना हराएकी केटी' मा ज्योतिषीले विवाहको भविष्यवाणी गरेकी कान्छीले पहिल्यै भागेर विवाह गरिसकेको रहस्योद्घाटन हुन्छ। 'असल खराब' मा सामाजिक परिवेश विरुद्धको नक्कले प्रेमले निम्त्याएको दुष्परिणाम छ। 'ह्यारी' शीर्षकको कथामा प्रणय व्यापारमा घटित रोचक हेराफेरी कथानक बनेको छ। 'गरीबको प्रेम' मा अभावग्रस्त अवस्थाको रतिरागात्मक नैराश्यको वर्णन छ। 'पूर्व कथा' मा गार्मेन्टवाली युवती र म पात्रको अन्तरंग छ। यसरी कथाकारले २४ वटै कथामा किशोर, युवा, वृद्ध सबैको रतिरागात्मक जिजीविषालाई चियाएका छन्।
विश्व साहित्यमा रतिरागात्मक सिर्जनाहरू महत्वपूर्ण रुपमा स्थापित छन्। 'जुकरबर्ग क्याफे' का कथाहरूले पनि यथेष्ट साहित्यिक मूल्य बोकेका छन्। कथाकारले विविध प्लट, परिवेश र पात्रको प्रणय व्यापार मार्फत साहित्यिक कलात्मकता प्रस्तुत गरेका छन्। कथाहरूमा मिस्टर एल जस्तो परपीडक र प्रद्युम्न जस्तो आत्मपीडक पात्रहरू छन्। शहरी परिवेशको अधिकतामा तराईको आञ्चलिकता र शहरोन्मुख परिवृत्तको पनि प्रतिनिधित्व छ।
कोइरालाले प्रस्तुतिमा भाषिक सौन्दर्यलाई नभई अखबारी भाषिक बोधगम्यता समातेकाले सबै स्तरका पाठकले कथाको स्वाद पाउँछन्। संग्रहमा शब्दगत र व्याकरणगत त्रुटिहरू पनि कम छैनन्। ध्वाँसोलाई तुवाँलो भनिएको छ। साँहिला पौडेल ठाउँठाउँमा पोखरेल भनेर चिनिन्छन्। सेक्स गर्नु, छाती देखिनु आदि शब्दावलीले शालीनता भंग गरेका छन्। यद्यपि, यस्ता त्रुटिहरूले संकथनमा बाधा पुर्याएको छ्रैन। समग्रमा 'जुकरबर्ग क्याफे' नेपाली साहित्यको कथा विधामा आशलाग्दो सम्भावनाको रुपमा आएको छ।
भरतबहादुर थापा