२०-२६ असार २०७२ | 5-11 July 2015

धुवाँरहित र सुग्घर

Share:
  
धूलो–धुवाँले घरको सौन्दर्य बिगार्ने मात्र नभई रोग समेत निम्त्याउने हुँदा सफाइमा विशेष ध्यान दिनुपर्छ।

सानो होस् वा ठूलो घर सौन्दर्यका मानक होइनन्। सुन्दरतासँग त सफाइ गाँसिएको हुन्छ। घर जति सफा छ, उति नै राम्रो मानिन्छ। घरमा बस्ने व्यक्तिको हैसियत र उसको प्रतिष्ठा त्यहाँका सामग्रीले होइन, कति सुग्घर छ भन्नेले निर्धारण गर्छ। मन बस्ने घर यस्तै हुन्छ।

तर, घरलाई सफा राखिराख्न सजिलो भने छैन। किनकि घरभित्र पस्ने धूलो–धुवाँका स्रोत धेरै छन्। सडकको धूलो–धुवाँ हावाको माध्यमबाट घरभित्र पस्छ। वर्षाका वेला जुत्ता र सवारीको पांग्राले हिलो भित्र्याउँछ। त्यसो त नियमित बढार्ने, पुछ्ने, सुधारिएको चूलो प्रयोग गर्ने जस्ता उपायले पनि घरलाई सफा राख्न सकिन्छ। तर यो अल्पकालीन हो।

अमेरिकन लंग एसोसिएसनका अनुसार घरभित्रको धूलोले श्वासप्रश्वास सम्बन्धी विभिन्न रोग निम्त्याउन सक्छ। घरको कुना–काप्चा चिसा भइरहे त्यहाँ डस्ट माइट (असाध्यै साना कीरा) जन्मिने र तिनले शरीरमा एलर्जी उत्पन्न गराउनुका साथै दमको रोग निम्त्याउन सक्छ। “ती कीराले टोक्दैनन् तर तिनबाट विषाक्त पदार्थ निस्कन्छ र हामीलाई एलर्जी हुन्छ”, एसोसिएसनद्वारा जारी सन्देशमूलक जानकारीमा भनिएको छ, “त्यसैले, घर फोहोर र ओसिलो राख्नुहुँदैन।”

वातावरणविद् डा. तोरण शर्मा बाहिरी वातावरण स्वच्छ नभएसम्म घर फोहोर भइरहने बताउँछन्। “घरबाहिरको वातावरण जति सफा राख्यो घर उति सफा हुन्छ भन्ने कुरा बिर्सनुहुन्न”, उनी भन्छन्। डा. शर्मा घरमा सबैभन्दा बढी धुवाँ–धूलो भान्सा कोठामा हुने हुँदा पंखा वा चिम्नी राख्न सुझाव दिन्छन्।

सफाइका तरीका

जुत्ताको र्‍याक मूल ढोकाभन्दा बाहिरै राख्नाले धूलो र हिलो भित्र पस्न पाउँदैन। तर, सबैभन्दा गतिलो उपाय चाहिं घर वरिपरि रुख रोप्नु नै हो। रुख–बिरुवाले बाहिरका धूलो र धुवाँ छेक्छ। तर, बढ्दो शहरीकरणले हामीकहाँ घरमा रुख रोप्ने चलन हराउँदै गएको छ। अधिकांशले थोरै जग्गामा घर बनाउनुपर्ने भएकाले रुखबिरुवा रोप्ने ठाउँ समेत हुँदैन। जमीन भएकाहरू सबैसँग यस्तो चेतना देखिंदैन। फलतः शहरमा रुखभन्दा बढी घर ठडिएका छन्, धूलो–धुवाँ त्यसैका सिर्जना हुन्।

पुराना पत्रपत्रिका, लुगा र अन्य अनावश्यक सामग्री धूलोले नभेट्ने ठाउँमा थन्क्याउनुपर्छ। भुईंमा सिन्थेटिक, ऊनी आदिका कार्पेट वा म्याटे्रस ओछ्याउँदा भएभरको धूलो, कपाल वा नङका टुक्रा, बालुवा आदि टाँसिन्छन्। पार्केटिङ गरेमा यो समस्या कम हुन्छ। टेबुल, खाट वा सोफा मुनि धूलो जम्मा हुन्छ। त्यसैले कम्तीमा दिनको एक पटक घरको कुना–काप्चा चिसो टालोले पुछ्ने गर्नुपर्छ।

सफाइका हिसाबले दराज, खाट, शो–केस जस्ता ठूला फर्निचर लामो समय एकै ठाउँमा नराख्नु राम्रो मानिन्छ। त्यसैले समय–समयमा ठूला फर्निचर सफाइ र स्थानान्तरण गरिरहनुपर्छ।

घरका पिलर वा खाँबामा माकुराले जालो लगाउन सक्छ, वेलावेला जालो र धूलो झ्ाार्नुपर्छ। प्रयोग गरिएका तन्ना, पर्दा, सोफाका खोल, टेबुलक्लोथ आदि हप्ताको एक पटक धुनुपर्छ।

सडक नियमित मर्मत गर्ने, घर वरिपरि फोहोर–मैला नफाल्ने, टायर–प्लास्टिक नबाल्ने गरेमा घरबाहिरको वातावरण धेरै हदसम्म सफा हुन्छ। डा. शर्मा यसका लागि टोलवासीले स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने बताउँछन्। “शहर सफा राख्न सरकारले कानून नै बनाएर कार्यान्वयन गराउनुपर्छ”, उनी भन्छन्।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम