त्यसो त यसै साता उनको लघु बाल उपन्यास शरणार्थी राजकुमार पनि बजारमा आएको छ। दुवै उपन्यासमा ऐतिहासिक डोट्याली राज्यका भिन्दा भिन्दै कालखण्ड केलाइएका छन्।
२००६ सालमा देवस्तुति श्लोकबद्ध भाषा पुस्तकबाट लेखक बनेका ओझ्ााको २०२१ सालमा प्रकाशित उषा अनिरुद्ध नाटक अहिले पनि उत्तिकै रुचाइन्छ। संक्षिप्त सरल नेपाली रामायण र कृष्णायान जति लोकप्रिय छन्, देउकी प्रथामा आधारित उपन्यास तीला पनि उत्तिकै मार्मिक छ। उनका अहिलेसम्म नौ गैरआख्यान, चार कवितासंग्रह, चार उपन्यास, तीन नाटक संग्रह, दुई कथासंग्रह र एउटा खण्डकाव्य प्रकाशित छन्।
साहित्यकारका अतिरिक्त उनी प्राचीन डोटेली संस्कृतिबारे जानकारी राख्ने विरलैमध्येमा पर्छन्।
शाकाहारी भोजनका सौखिन ओझा अहिले पनि दैनिक चार/पाँच घण्टा लेखपढ गर्छन्। स्थानीय पत्रिकामा स्तम्भ, कथा, कविता र नाटक छपाउँछन्। ''आत्मानुशासन नै ठूलो कुरा रहेछ'' उनी भन्छन्। त्यही स्वअनुशासनले नै हुनुपर्छ यो उमेरसम्म गम्भीर बिरामी परेको उनलाई सम्झ्ाना छैन। चार वर्षजति अघि दृष्टिमा समस्या देखिएपछि उनले लेखपढ गर्न नातिनीको सहारा लिए। आँखाको शल्यक्रियापछि फेरि उनी पुरानै जोसमा फर्किएका छन्।
ओझाले भर्खरै मात्र इतिहास, धर्मदर्शन र जीवनीबारे तीन वटा पुस्तकको पाण्डुलिपि सिध्याएका छन्। अब उनको ध्याउन्न अर्को उपन्यास र नाटक संग्रह प्रकाशित गर्ने छ। त्यसका लागि उनी 'इतिहास छामछाम छुमछुम' गरिरहेका छन्।
निजामती कर्मचारीबाट २०४७ सालमा निवृत्त ओझालाई लेखक बनाउनुको पारिवारिक कारण पनि छ। बुबा रामचन्द्र ओझा संस्कृतमा लेख्थे भने भाइ डा. देवीप्रसाद पनि चिनिएका साहित्यकार हुन्।
ओझाको सक्रियता हेर्दा लाग्छ, उनी बाँचुञ्जेल थाक्ने छैनन्। उनको श्वास नै साहित्य हो, शब्द हो। उनी पनि यो कुरामा सहमत छन्। भन्छन्, ''लेख्न बन्द गरौं जस्तो कहिल्यै लागेन। बरु लेखिरहेकैले पो बाँचिरहेछु जस्तो लाग्छ।”
बच्चु बिक