२७ असार - २ साउन २०७२ | 12-18 July 2015

रियली ननसेन्स, जोन!

Share:
  
- महेश थापा

प्रिय जोन,

भानु भट्टराई
नेपाली भूमिमा तिम्रा वाणी सुन्दा मेरो कन्पारोले पनि तपन महसूस गर्‍यो नै। मानवीय मामिलाका समन्वयी तिमी कसरी अमानुषिकता र असमन्वयतिर चिप्लियौ भनेर घोत्लिंदा बोध भयो– तिमीलाई तुच्छो, छुच्चो र लुच्चो सावित गर्न कम्मर कस्नेहरू नै खसोखास 'ननसेन्स' रहेछन्।

विवेकको भेट्नो छाम्ने 'कमन्सेन्स' नभएकाहरूलाई देशी अन्दाजमा वाहियात्, बकम्फुसे वा ताइ न तुइको भन्न सकिन्छ। आफ्नो भूमि हरण हुँदा समेत काखी कन्याएर बस्नेहरूले 'कुहिएको सामल नखाए घिच्' भनेकै भरमा तिमीलाई ठिंगुर्‍याउने हिसाबले कडा पत्र लेखेका छन् अरे भनेको सुन्दा खित्को थाम्न मुश्किल परिराखेको छ। यो भन्दा 'ननसेन्स' कुरा अरू के होला!

नेपाली मिडियाले यत्तिको 'ननसेन्स' रिपोर्टिङ गर्ला भनेर मैले त कल्पेको धरि थिइनँ। समाचार लेख्नुअघि तिनका डुँडुला काँपेनछन्। तारे होटलमा संचालित तिम्रा गोष्ठीहरूमा हसुरेको मेजमानी र भत्ताको धरि लाज राखेनछन्। नेपाली पत्रकार साह्रै बैगुनी! सबूत/प्रमाणमा लिपापोतीको अवसरै नदिई ड्याङ्ग समाचार ठोकेर घत्रक्क बैठाउन खोज्ने?

निकासको दुलो नछाडी मुङ्ग्रयाउन खोज्दा बिरालोले त घिच्रो ताक्छ भने तिमी त उच्च कोटरीको विकासे ढाडे पो हौ। कोचलगाँडाहरूले त्यत्ति कुरा पनि हेक्का नराखी समाचार कोरल्दा तिमीले सात समुद्र छिचोलेर आउनुपर्‍यो, म्याउँ गर्न। अब रुद्रघण्टीमा टाँका लगाएर बसून् ठेउकेहरू!

फेरि, सडियल चामल अहिले मात्र बाँडिएको हो र? 'कामका लागि अखाद्यान्न' बाँड्नाले पश्चिमी जिल्लाहरूमा वर्षेनि टुर्रे फैलिएको कचकच गर्दै टिउरेहरू टिमुर्किएकै थिए। पत्रकारहरूले पनि कत्रङ–कत्रङ कोपरेकै हुन्। धन्दा चलुन्जेल ङ्यार्रसम्म नगर्ने अनि कसोकसो नसो पर्दा तिम्रो उदारमनलाई समेत हियाउने। यस्ता ढीठहरूले ड्यामे भेट्नु जरूरी थियो। कसैको चालू धन्दा गिजोल्न खोजे'सि भाँडमा जाओस् चौथो अङ्ग। उस्तै परे तिनका अङ्ग/प्रत्यङ्गलाई मृदङ्ग झैं बजाउन पछि परिन्न, कसो जोन?

प्रिय जोन, तिमी धेरै नरिसाऊ। टाठिंदै गएकाले अचेल नेपालीहरू यस्ता 'ननसेन्स' कुरा गरिरहन्छन्। तुलीगाँडाहरू चिच्याउँदैमा केही लछारिने पनि होइन। तर, कुनै लट्ठकले 'तिम्रो सड्या चामल जता मन लाग्छ उतै लैजाऊ' हान्द्या'भे बोर हुन्थ्यो यार! तुइलामे शैलीमै सही, हाम्रो लघुताभास सिनित्त पार्देकोमा तिमीप्रति अनुगृहीत हुनुपर्ने कुरा यिनलाई के थाहा!

हामीलाई लाग्थ्यो, यस दुनियाँको सबैभन्दा तन्नम, निमुखा र दुखिया मानव भएकाले दाता भनाउँदाहरू अरू ठामका चारखुट्टेले पनि अस्वीकार गर्ने चिजबिज हाम्रोमा मिल्काएर हिंड्छन्। सबै मनुवाको खान्कीको मानक समान हुनुपर्ने, तर संयुक्त राष्ट्रसंघको उच्चासनमा विराजमान भई हेर्दा मान्छेहरूको अनेकन् तह देखिंदो हो। बडाको बडे बात अदनाहरूको भेजामा सहजै घुस्ने कुरो पनि भएन!

तिम्रो आगमन पूर्व 'राष्ट्रसंघका साहेब आउँदै' भन्ने समाचार पस्कनेहरूलाई लट्ठु ठानी बेपत्ता उडाइयो। तिमी तत्कालीन राष्ट्रसंघले 'संरक्षित क्षेत्र' मा शासन गर्न खटाएको बडाहाकिम मतिका छौ भन्ने बुझीवरी लेखेको कुरा यो घुच्चुके खप्परमा अहिले पो घुस्यो! परन्तु, लिग अफ नेसन्समा सदस्यताको आवेदन नहाल्ने संसारका ६ देशमध्ये एउटा नेपाल भएकाले एक्काइसौं शताब्दीका नेपालीले त्यो मतिलाई स्वीकार्ने आस नराख्नू। सरकार लाछी भए पनि नेपालका जनता अलि टेढी छन् है!

के गर्छौ दोस्त! सम्मानको लागि विकासको नारा तिमीहरूले नै घन्कायौ, आत्मसम्मानमा चोट खपेर अविकसित रहन को तत्पर होला अब? तिमीले तेवर त देखायौ, तर गोर्खे झवाँक मालूम छ कि नाईं? तिम्रो विरादरीमा के भन्छन् कुन्नि, हाम्रातिर 'उही मुखले पान र जुत्ता' भन्ने कहावत प्रचलित छ। आइन्दा चपड–चपड गर्नुअघि केहीबेर विचारी बन्दा बेस होला!

युरोपेली युनियनकी राजदूत महोदयाले 'गौरव गर्नु राम्रो हो, तर दुःखको कुरा, त्यसलाई खान मिल्दैन' भन्दै तिम्रो समर्थनमा ट्वीट्नु बेमनासिब होइन, तर अखाद्य अन्न वा अपाच्य शर्त एवं व्यवहार ज्यादा कोच्याउन खोज्दा ग्रीसमा झै उल्टी सोहोर्नुपर्ने हुन सक्छ। तिम्रासामु सानो हाब्रोले ठूल्ठूला डायलग निकाल्नु 'रियली ननसेन्स' हो, तर तिम्रो 'बुलसिट' गफभन्दा 'ननसेन्स' कुरा उत्तम ठानी पोख्ने दुस्साहस गरें।

comments powered by Disqus

रमझम