२७ असार - २ साउन २०७२ | 12-18 July 2015

जनकपुरको जग

Share:
  
- मिलन बगाले
जनकपुर नगरीले आफ्नो धार्मिक–सांस्कृतिक जगको जतन पटक्कै गरेको छैन।

जानकी मन्दिर।
अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाउन सकिन्छ, जनकपुरधाममा गरेको पापबाट मुक्ति पाउने स्थान अन्यत्र छैन।' वृजकुमार यादवद्वारा सम्पादित 'जनकपुर टुडे' दैनिकको २९ चैतको सम्पादकीय भन्दा माथिको यो वाक्य पढ्दा शुरूमा त म जिल्लिएको थिएँ, तर एकसाता जनकपुर बस्दा राम्ररी अर्थ खुल्यो। धार्मिक ठाउँमा पापप्रति बढी नै सतर्कता हुनु स्वाभाविकै हो, तर जनकपुरले धर्मको कम ख्याल गर्न थालेकोले पत्रिकाको सम्पादकीयको सिरानमा यो वाक्य परेको रहेछ। जनकपुर बसुन्जेल महन्थहरूले नै मठ–मन्दिरको सम्पत्ति मासेका अनेक प्रसंग सुनियो। फोहोर त यो नगरको पर्याय नै भएछ!

सुन्दर जगमाथि कुरूप चाला

मिथिला, विदेह र तीरभुक्ति समेत भनिने प्राचीन जनकपुरको वर्णन रामायण, वेद, पुराण र उपनिषद्मा समेत छ। भारतको वैशालीमा लिच्छवि गणराज्य विकसित हुँदै गर्दा मिथिला सभ्यताले शिखर चुमेको थियो, जसको राजधानी थियो; जनकपुर। याज्ञवल्क्य, गार्गी, मैत्रेय आदि विद्वान्–विदुषीहरूको साधनास्थल जनकपुरले यत्रो विरासत बोकेको छ।

अहिलेको परिदृश्यमा भने जनकपुरको सबभन्दा ऐतिहासिक महत्वको सम्पदा जानकी मन्दिर नै हो। राजस्थानी वास्तुशैलीको यो मन्दिर निर्माता आजको भारतीय राज्य मध्यप्रदेशको टिकमगढकी रानी वृषभानु कुमारी हुन्। निःसन्तान रानी वृषभानुले पुत्रलाभको भाकल पूरा भएपछि १२ वर्षमा नौ लाख रुपैयाँ खर्चेर यो मन्दिर निर्माण गरेको इतिहास छ। मन्दिरको शिलालेखमा मन्दिरको शिलान्यास २८ माघ १९५२ र प्राणप्रतिष्ठा २८ माघ १९६७ मा भएको वृत्तान्त छ।

जानकी मन्दिरको वास्तुकला अनुपम छ। यसको भव्य गुम्बजले ताजमहलको झ्ल्को दिन्छ। मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजुर, फराकिलो परिसर र कलात्मक प्रवेशद्वार हेरिरहँदा यो भव्य संरचना किन विश्व सम्पदा सूचीमा सूचीकृत भएन? भन्ने प्रश्न मनमा खेल्छ। विश्व सम्पदा सूचीमा परेको भए मन्दिरले अन्तर्राष्ट्रिय महत्व पाउँथ्यो। विश्वको त्यस्तो चासो रहँदा मन्दिरको सम्भार तथा सरसफाइ हुन्थ्यो। देवस्व माराहरूलाई अतिक्रमण र ढुकुटीमा लामो हात गर्न सजिलो हुने थिएन।

यत्रो सम्पदा पाएको जनकपुर आफैंले पनि यसलाई इतिहासमा सीमित हुन नदिई आफ्नो शान, भाग्य र भविष्य बनाउनुपर्थ्यो, तर त्यो हुन सकेन। जनकपुरको संरक्षणमा सिंहदरबार पनि टाढै भएछ। त्यसो त, सिंहदरबार आफैं अल्पदृष्टिको छ। १२ वैशाखको महाभूकम्प थेगेको यो सम्पदालाई भविष्यको धक्काबाट जोगाउन पूरा मन्दिर परिसरको विस्तृत नक्शांकन जरूरी छ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अनि पुरातत्व विभाग समेत जाग्ने हो भने सिंहदरबारले पनि होस्टेमा हैंसे गर्ला!

जानकी मन्दिर मात्र होइन, पोखरीहरू पनि जनकपुर सभ्यताका जग हुन्। नदी र पोखरी भएका शहरलाई अहोभाग्यमानी मानिन्छ, तर काठमाडौंले वागमतीलाई दूषित पारेझैं जनकपुरले पोखरी सभ्यतालाई ध्वस्तै पारेछ। गंगासागर र धनुषसागर बाहेक अरू पोखरीलाई भैंसीको आहाल र सुँगुरको चरन बनाइएछ। ऐतिहासिक पोखरीहरूमा ढल मिसाइएको छ। कुटी र मठ भत्कँदा छन् भने बाह्रबिघा मैदान उजाड र फोहोर छ। जनकपुरमा एक टुक्रा सद्दे पीच हेर्न रामानन्द चोक पुग्नुपर्छ। शहरवासी बडे–बडे ढलान घर बनाइरहेका छन्, तर कलाविहीन। उनीहरूलाई जानकी मन्दिर र भूतनाथ मन्दिरको वास्तुकलाले कुनै प्रभाव पारेको देखिएन।

जनकपुर उपमहानगरपालिका घर बनाउनेहरूले ६–७ फुट टप तानेको हेरेर बसेको प्रतीत हुन्छ। 'भुईंचालोले केही नगरेकोले' अब अझ् मनपरी बढ्ने नै होला। यति धेरै भद्रगोल, योजनाविहीन र फोहोर शहर नेपालका राष्ट्रपति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गृहनगर हो। यो तथ्य सम्झ्ँदै ज्यादै ठूलो परिवेशमा मन्दिरको भव्य वास्तुकला नियाल्दा वैराग्य जागेर आउँछ।

बाह्रबिघा मैदान उत्तरको एउटा भवनको भित्तामा लेखिएको छ– 'कुकुर त चर्पीमे दिसा करए नही सकैत छैक, अपने त क सकैत छी न!' यतिसम्म लेख्नुपर्ने भएछ, जनकपुरमा। र, पनि शहरको ताल भने उस्तै रहेछ।

'माल पाएर चाल नपाएको' भन्ने पहाडतिरको उखान सम्झाउने जनकपुर दिउँसो १२ घण्टा झिंगा र राति १२ घण्टा लामखुट्टेको ड्यूटीमा रमेको जस्तो लाग्छ। यति उम्दा इतिहास र सम्पदाको जग भएको शहर छानो भत्काएर बसेको प्रतीत हुन्छ। छानो उधारेपछि छोप्न–लुकाउन सकिने चिज केही रहेन। जानकी मैयाको माइती जनकपुरको जगमा छानो लगाउनेहरूको जय होस्।

comments powered by Disqus

रमझम