२७ असार - २ साउन २०७२ | 12-18 July 2015

'मेरो मर्जी' को विपक्षमा

Share:
  
- शेखर खरेल
महिलामाथिको हिंसा अन्त्य नगरी उनीहरु सशक्त हुनै सक्दैनन्, यौन स्वतन्त्रता पक्षधरलेे नबुझेको कुरा नै यही हो।

गत जून २६ (११ असार) मा अमेरिकी उच्च न्यायालयले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिएपछि समर्थनमा विश्वभर इन्द्रधनुषी झ्न्डा फहराइए। समलिङ्गी र तेस्रोलिङ्गीको प्रतीकात्मक इन्द्रधनुषी रङ सामाजिक सञ्जालका पानामा समेत पोतिए।

यो निर्णयले विश्वभरका समलिङ्गी, तेस्रोलिङ्गी अनि उनीहरूका समर्थक विजयी भावमा देखिए तापनि नेपालमा चाहिं कुनै उभार ल्याएन। किनभने अमेरिकी न्यायालयको निर्णय नेपालीलाई चकित पार्ने स्तरको थिएन। बरू संसारलाई नै आश्चर्यमा पार्ने गरी नेपालको सर्वोच्च अदालतले झ्न्डै दशकअघि (६ पुस २०६४) मै तेस्रोलिङ्गीलाई पहिचानको आधारमा नागरिकता दिन सरकारलाई आदेश दिएको थियो। यसै आदेशको जगमा जिल्ला प्रशासन कार्यालय कास्कीले ढिकुरपोखरी–९ का विष्णु अधिकारीलाई 'तेस्रो' लिङ्गीको हैसियतमा नागरिकता जारी गरेको थियो। (हे. तस्वीर) तर, कानूनी अड्चन देखाउँदै सरकारले अन्य तेस्रोलिङ्गीलाई नागरिकता दिन आनाकानी गरिरहेको छ।

सुषुप्त र दबिएको समलैङ्गिक विषय एक्काइसौं शताब्दीको उदयसँगै नेपालमा प्रखर बनेको हो। करीब डेढ दशकको बहस, पैरवी र आन्दोलनपछि समलिङ्गी र तेस्रोलिङ्गीको विषय आज जातीय, भाषिक, अल्पसंख्यक झैं पहिचानको मुद्दाका रूपमा स्थापित भइसकेको छ।

कतिपय मुलुकका दृष्टान्त नियाल्दा नेपाल तेस्रोलिङ्गीको सवालमा कठोर देखिंदैन। शहरिया र शिक्षित वर्गले तेस्रोलिङ्गीप्रति खुलेर समर्थन नगरे पनि विरोध र बहिष्कार गरेको देखिंदैन। ग्रामीण र अशिक्षित वर्ग तेस्रोलिङ्गीको यौनिकता बहसप्रति विस्मयका साथ हेरिरहेका छन्। तर, जसरी समलैङ्गिक र तेस्रोलिङ्गीलाई सामान्य यौनिकताको रूपमा परिभाषित गर्न खोजिंदैछ, त्यो तर्कसंगत छैन। कारण, समलैङ्गिक जोडीबाट सन्तानोत्पादन हुन सक्दैन। अप्राकृतिक तवरमा गर्भधारण गर्नु वा 'सरोगेसी' (आफ्नो जोडी बाहेकको व्यक्तिको गर्भाशय प्रयोग गर्नु) खोज्नु अर्कै कुरा हो। संसारका कुनै पनि आमाबावु आफ्ना छोराछोरी समलिङ्गी वा तेस्रोलिङ्गी होउन् भन्ने चाहँदैनन्। सन्तानका खुशीका खातिर चित्त बुझाइदिन भने सक्छन्। तर, चाहनु र चित्त बुझाउनु बीच ठूलो अन्तर छ।

पछिल्लो समय यौन स्वतन्त्रतालाई व्यक्तिको अधिकारको रूपमा वकालत गरिंदै आएको देखिन्छ। केही समयअघि बलिउड अभिनेत्री दीपिका पादुकोण यौनिक स्वतन्त्रताबारेको एक अभियानमा दिएको अभिव्यक्तिबाट विवादमा परेकी थिइन्। दीपिकाले भनेकी थिइन्, “मेरो मस्तिष्क, मेरो शरीर मेरै मर्जी। विवाह अघिको यौन वा विवाह बाहिरको यौन वा यौनको परहेज मेरै मर्जी, पुरुष मन पराउनु वा महिला वा दुवै मेरै मर्जी।” एकाएक उनको धारणा सामाजिक सञ्जालमा 'भाइरल' बन्यो, प्रतिक्रिया पहिरो झैं बर्सियो। समर्थकभन्दा विरोधी धेरै देखिए। महिला, त्यसमाथि पनि बलिउडकै समकक्षी अभिनेत्रीहरू दीपिकाको विरोधमा उत्रिए। उनीहरूको तर्क थियो– यौन स्वतन्त्रताबाट महिलाको सशक्तीकरण हुँदैन।

नेपालमा पनि सामाजिक सञ्जाल र खासगरी अनलाइन माध्यममा दीपिकाका समतुल्य स्वर सुन्न पाइन्छ। महिलामाथिको हिंसा, बालविवाह, बोक्सीको बात, छाउपडी, चेलीबेटी बेचविखन जस्ता समस्याले गाँजेको मुलुकमा सबैभन्दा पहिले त महिलालाई हिंसामुक्त जीवन बाँच्ने अवस्था सिर्जना गर्नुपर्छ। तर विडम्बना चाहिं यौन स्वतन्त्रताप्रतिको 'मेरै मर्जी' कतिपयका लागि सशक्तीकरणको पर्याय बनेको छ।

प्राध्यापकबाट आध्यात्मिक चिन्तकको अवतारमा रूपान्तरण हुँदै गर्दा आचार्य रजनीश 'स्वतन्त्र यौन' को पक्षमा खुलेरै वकालत गर्दथे। स्वतन्त्र यौनका कारण के पूर्वीया के पश्चिमा, अनुयायी रजनीशप्रति चुम्बक झ्ैं तानिए। रजनीशकी पूर्व निजी सहायक आनन्द शीलाले उनको यौनप्रतिको उदारताकै कारण तत्कालीन पुना (भारत) को कम्युन एकताका यौनरोगग्रस्त बनेको आफ्नो आत्मसंस्मरण 'डन्ट किल हिम' मा लेखेकी छिन्।

यौनजन्य सरुवा रोग कम्तीमा उपचारबाट निदान हुने भए पनि सन् ८० को मध्यतिर एचआईभी/एड्सको महामारी फैलिएपछि 'स्वतन्त्र यौन' भन्नेहरूको होसहवास उड्यो। गुरु रजनीश पनि यौनभन्दा ध्यान मार्फत समाधिको अभ्यास सिकाउन थाले। यसले पनि पुष्टि गर्छ, यौन उन्माद नभई नितान्त व्यक्तिगत पाटो हो, जसमा अधिकारभन्दा जिम्मेवारीको ठूलो भूमिका रहन्छ।

comments powered by Disqus

रमझम