लेखक अभय कुमार
अनुवाद किशोर नेपाल
प्रकाशक वी रिड
पृष्ठ १२२+६
मूल्य रु.३९९
१२ वैशाखको महाभूकम्पअघि जात्रा शीर्षकको कविता संग्रह विमोचन भएको थियो। भुईंचालोपछि लाखौं नेपाली जस्तै यस संग्रहका भारतीय सर्जक अभय कुमार पनि भूकम्पपीडित हुनपुगे। पेशाले कूटनीतिज्ञ उनी मस्को र काठमाडौंपछि लन्डन पोस्टिङका लागि तम्तयार थिए, तर भूकम्पकै कारण काठमाडौं छाड्ने समय पर सरेको छ।
हिमाल को लागि अभय कुमारको अघिल्लो कविता संग्रह सेडक्शन्स् अफ दिल्ली को समीक्षा लेख्दा पाठकहरू उनले नेपालमा रहँदा नेपालमाथि लेखेका कविता पढ्न उत्सुक छन् भनेर उल्लेख गरेको थिएँ। नभन्दै, उनी नेपाल छँदै नेपालबारे लेखेका कविताहरूको संग्रह जात्रा प्रकाशित भयो। काठमाडौंमा अड्केका उनी अहिले भूकम्पपछिको नेपालबारे कविता लेखिरहेका हुनसक्छन्।
जात्रा मा नेपालको युनेस्को विश्व सम्पदास्थल, जात्रा, काठमाडौं भित्र/बाहिरका बिम्ब, भूचित्र, व्यक्तित्व र चरित्रका ६९ वटा कविता छन्। 'वागमती' शीर्षकको कविताको अंशः
म भने सभ्यताको फोहोरी मायाजाल भित्रै हराएको छु
अन्धकारमा
कसैले मेरो जल सफा गर्ला
र सदियौंदेखि थुप्रिएका पापहरूबाट
उन्मुक्ति देला
त्यस्तै, 'बीपी कोइराला' शीर्षकको कवितामा कुमार लेख्छन्ः
समाजवादले सारा संसारलाई पे्ररित गर्न
बाँकी नै छ
बहुदलीय लोकतन्त्रको जरा गाडिएकै छैन
संसारका धेरै भागमा
मेरो मिशन टुंगिएको छैन
हो, अझै सकिएको छैन
स्वतन्त्रताको युद्ध र लोकतन्त्र प्राप्तिको
संघर्ष
अभय कुमार मूलतः अंग्रेजीमा लेख्छन्, तर यो संग्रहले मूल अंग्रेजी भन्दा अगावै नेपालीमा अनूदित भएर आउने सौभाग्य पायो। यसका अनुवादक बन्न पुगेका पत्रकार किशोर नेपालले कविताहरूको सहजता, प्रवाह, लय र गतिको जगेर्ना गरेका छन्।
कविले कर्णाली नदी पारि बाहेक नेपालका सबै भूभागलाई कवितामा उतारेका छन्। कविले कतै चिन्तन गरेका, कतै व्यङ्ग्य गरेका त कतै कटु यथार्थ देखाएका छन्। उनी छोटा कविता मार्फत पाठकको मन छुन्छन् र मस्तिष्कमा आकृति उतारिदिन्छन्। तार्शितोका चित्रकलाले संग्रहलाई अझ सुन्दर र कविताहरूलाई थप सुललित बनाइदिएको छ।
शंकर तिवारी
एक प्रहरीको सांस्कृतिक सोपान
लेखक श्यामबहादुर खड्का
प्रकाशक एकता बुक्स
पृष्ठ ४५०
मूल्य रु.४२५
हिन्दू धर्म–संस्कृतिमा आस्था तथा चासो राख्नेहरूका लागि नेपालको मध्यपश्चिम र सुदूरपश्चिम पहाडको मस्टो संस्कृति महत्वपूर्ण छ। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) श्यामबहादुर खड्काले यो संस्कृतिमा गहिरिएर पाएका कुराहरू मस्टो संस्कृति र परम्परा नामक पुस्तक मार्फत सार्वजनिक गरेका छन्। पेशागत हिसाबले फरक क्षेत्र भए पनि आफ्नो धर्म–संस्कृतिप्रतिको विशेष रुझानले हुनसक्छ, खड्काले यो सराहनीय काम गरेका छन्।
'मस्टो संस्कृति र परम्परा' लाई बुझाउन लेखकले वैदिक र पौराणिक साहित्य, शास्त्र, चलिआएका किंवदन्ती र लोककथाको सहारा लिएका छन्। उत्तर भारतमा समेत उत्तिकै महत्व दिइने मस्टो संस्कृतिको उत्पत्ति कहाँबाट भयो भन्ने बारेमा मतैक्य भेटिन्न। मस्टो र शिवको एउटै रुप मानेका, उनका शाखा–सन्तानहरूमा अहिले पनि बाह्रमस्ट, चौरासी उपमस्ट पुजित रहेका तथा केदारभूमिबाट ल्याइएका मस्टलाई सर्वप्रथम बझाङको ढँढारमा स्थापना गरिएको मान्यता पुस्तकमा छन्। डोटी, बाजुरा, बझाङ, अछाम र जुम्लाका अधिकांश जातजातिले मस्टोलाई मुख्य देवता तथा मुलुकका अन्य भागमा छरिएका नेपालीले आफ्ना कुलदेवता मानेको लेखक बताउँछन्।
केहीले कुलायन पूजाको परम्परालाई कायमै राखेको भए पनि धेरै जातजाति र नयाँ पुस्ताले आफ्ना कुलदेवता (मस्टो) लाई बिर्संदै गएकोमा लेखकको चिन्ता छ। आधुनिकताका नाममा आफ्नो परम्परालाई अन्धविश्वास र पुराना विचारधारा भन्दै पन्छाउँदै गएको उनको तर्क छ। 'हामीले आफ्नो संस्कारलाई लत्याइरहेका छौं, हाम्रो युवा पुस्ता दिग्भ्रमित हुँदै जान थालेको छ, समाजलाई ठीक बाटोमा डोर्याउन र आफ्ना संस्कारप्रति सजग गराउन अत्यावश्यक छ', खड्काले लेखेका छन्।
सश्रद्धा मस्टो परम्पराको अध्ययनमा लागेका लेखक यसको समुचित उन्नयन हुन नसकेकोमा निकै बेखुस हुन्छन्। कतिपय पश्चिमा लेखकले हाम्रा देवीदेवताबारे सतही अध्ययन गरेर अतिरञ्जित गरेको, केही नेपाली लेखकले पनि पश्चिमाहरूको अन्धानुकरण गरेको उनको आरोप छ। समुदायभन्दा बाहिरका व्यक्तिले अर्काको संस्कारको व्याख्या गर्दा नकारात्मक कुरातर्फ बढी ध्यान दिने र पाठकहरू भ्रमित हुने उनको तर्क छ। सँगसँगै उनले मस्टो देवताको नाम मात्र नभएर बृहत् सभ्यताको आधारस्तम्भ भएको प्रष्ट्याउँदै यसलाई भूगोल वा सीमाले नरोकेको बताउँछन्।
पुस्तक मूलतः देवीदेवता, पूजाआजा, किंवदन्ती र लोककथाहरूमा केन्द्रित छ। परम्परागत मान्यता र विश्वासमा आधारित तर्कहरू ज्यादा हुँदा सांस्कृतिक परम्पराको दायरा फराकिलो हुनसकेको छैन। लेखकले यो कमजोरी स्वीकारेका पनि छन्। उनी लेख्छन्– 'किंवदन्तीहरू सत्य नभए पनि तिनलाई सुनेर सो सम्बन्धमा वास्तविकता पहिल्याउनुपर्ने हुन्छ। परम्परा र कथाहरूमा हाम्रो बलियो विश्वास रहे पनि पाठकहरूले त्यसैलाई अनुसरण गरेर जानुभन्दा वास्तविकतालाई पहिल्याउनु उपयुक्त हुनेछ।'
रामेश्वर