२७ असार - २ साउन २०७२ | 12-18 July 2015

बार्दलीको बहु–उपयोग

Share:
  

बहुतले र कम्पाउन्डविनाका घरमा बार्दलीका फाइदा अनेक छन्। बार्दलीले कोठा उज्यालो र फराकिलो देखिन्छ। तर, बार्दलीको फाइदा यति मात्र होइन। “योग/ध्यानदेखि स–सानो बगैंचा बनाउन समेत बार्दली काम लाग्छ”, इन्टेरियर डिजाइनर्स एसोसिएसनका अध्यक्ष सानुराजा शिल्पकार भन्छन्।

बार्दलीमा हलुका र मोड्न (फोल्ड गर्न) मिल्ने खालका टेबुल, कुर्सी राख्नाले बसेरै वरिपरिको दृश्य नियाल्न सकिन्छ। जाडोमा घाम र गर्मीमा शीतल पाउन पनि बार्दली उपयोगी हुने गर्छ। गृहिणीहरू बार्दलीमै बसेर साग–सब्जी केलाइरहेका पनि हामी देखिरहेका हुन्छौं। “सधैं कोठाभित्रै गुम्सिरहन मन लाग्दैन”, शिल्पकार भन्छन्, “त्यस्तो वेला बार्दलीमा 'फ्रेस' महसूस होस् भन्नका लागि फूल–बिरुवा रोप्न सकिन्छ।”

ह्यान्ड्रेल (केही चिज अड्याउने डन्डी) का माध्यमले बार्दलीको रेलिङमा गमला, टेबुल, बत्ती आदि राख्न सकिन्छ। रेलिङमा टेबुल राख्ने हो भने चिया/खाजा खानका लागि उपयुक्त स्थान बन्छ। यसले बार्दलीलाई आकर्षक देखाउन पनि मद्दत गर्छ। कतिपय विकसित देशमा रेलिङमै बार्बिक्यू ग्रील पनि अड्याइने गरिएको छ। सानो होस् या ठूलो, आकार जत्रोसुकै भए पनि बार्दलीले घर र कोठा दुवै सुन्दर देखाउँछ। अझ, लहरै गमला राखेर थरीथरीका फूल रोपी बगैंचा बनाउने हो भने प्रकृति माझ रहेको अनुभूति पनि गर्न सकिन्छ। “फूलले मान्छेलाई प्रफुल्ल बनाउन सघाउने भएकाले कोठा अगाडि नै बगैंचा बनाउनु उपयुक्त हुन्छ”, शिल्पकार भन्छन्।

त्यसो त शहरका अग्ला घर र अपार्टमेन्टमा बार्दलीलाई लुगा सुकाउने, ग्याँस सिलिन्डर राख्ने, नचाहिने सामान थुपार्ने ठाउँका रूपमा पनि प्रयोग गरिएको पाइन्छ।

बार्दलीका रेलिङ बलियो र सुरक्षित हुनुपर्नेमा ध्यान दिनुपर्छ। बार्दली बनाउन सावधानी नअपनाइए मान्छे नै खस्ने खतरा पनि हुन्छ। घरको आन्तरिक सजावटमा संलग्न शिल्पकार भन्छन्, “बार्दलीमा कम्तीमा ४८ इन्च अग्लो ग्रील हाल्नुपर्छ। यसले मान्छे खस्ने जोखिम हुँदैन।” समय–समयमा रेलिङ र पर्खालको मर्मतसम्भार गर्नुपर्ने उनको सुझाव छ।

बार्दलीको भुईंमा नचिप्लिने टायल प्रयोग गर्नुपर्छ। पानी निकासका लागि प्वाल वा पाइप राख्नुपर्छ। वरिपरिको भित्तामा फिक्का रङ वा त्यस्तै रङको टायल बिछ्याउँदा बार्दली बढी चम्किलो हुँदैन।

बाहिरी प्रकाशको आधारमा बार्दली कहिले असाध्यै उज्यालो र कहिले अँध्यारो हुन्छ। बार्दलीको प्रकाश स्थिर राख्न र सँगै जोडिएको कोठा प्रभावित हुन नदिन 'डिमर लाइट' अर्थात् धिमा बत्ती जडान गर्नु उपयुक्त मानिन्छ। गह्रौं र मोड्न नमिल्ने फर्निचर बार्दलीमा राख्नुहुँदैन।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम