२७ असार - २ साउन २०७२ | 12-18 July 2015

काष्ठमण्डपको पुर्नजीवन

Share:
  
- सार्थकमणि शर्मा

बिक्रम राई
१२ वैशाखको भूकम्पअघिको काष्ठमण्डप भूकम्पपछिको भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धार गरिंदै ।
१२ वैशाख अर्थात् महाभूकम्पकै बिहान निम्बस् सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले राजधानीको काष्ठमण्डपमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। सहकारीका ५० भन्दा बढी कर्मचारीमध्ये कोही पाखुरामा सुई लगाइरहेका, कोही रगत दिएर कुर्सीमा आराम गरिरहेका अनि कोही गफगाफमा भुलेका थिए। रवि भण्डारी पनि रगत दिने लहरमै उभिएका थिए।

ठ्याक्कै त्यहीवेला ऐतिहासिक काष्ठमण्डप संरचना जोडले हल्लिन थाल्यो। “भवनको छेउमा भएका हामी बाहिर भाग्यौं”, भण्डारी सम्झन्छन्, “फर्केर हेर्दा त त्यत्रो संरचना ढलिसकेको देखें। साथीहरू काठ र खाँबाले थिचिएका थिए।” त्यो दिनको भय र साथी गुमाउँदाको पीडा अझै पनि उनको अनुहारमा झल्कन्छ। सहकारीका १० कर्मचारी त्यहीं बिते।

“एकपछि अर्को गर्दै मन्दिरहरू ढले। हामीमाथि पनि ढुंगा, माटो बर्सियो”, अमित अवाल भन्छन्। एक नर्स र दुई रक्तदाता सहित उनी तत्काल उद्धारका लागि काष्ठमण्डपको भग्नावशेषमा छिरे।

पलभरमै सखाप एक हजार वर्ष पुरानो उक्त संरचनाले धेरैको ज्यान मात्र लिएन सांस्कृतिक सम्पदामा ठूलो क्षति पुग्यो। काठमाडौंले काष्ठमण्डपबाटै आफ्नो नाम पाएको बताइन्छ। मरुसत्तल समेत भनिने उक्त संरचना एउटै रुखका काठले बनाइएको कथन पनि छ।

ऐतिहासिकताको आधारमा भन्ने हो भने सन् १०९० कै सन्दर्भ गाँसिएको काष्ठमण्डप धरहराभन्दा धेरै पुरानो सम्पदा हो। यो आधारमा पनि काष्ठमण्डप उपत्यकाको सबैभन्दा प्राचीन सम्पदामा पर्छ।

प्राचीन दुई हिमाली व्यापारिक नाका बीचमा पर्ने काष्ठमण्डप त्यो वेलाको सार्वजनिक आश्रयस्थल थियो। तिब्बत र भारततर्फ जाने व्यापारी आरामका साथै आफ्ना मालसामान समेत यहीं थन्क्याउँथे। उनीहरू फूल व्यापारी मालाकार र पैसा सटही गर्ने सराफीको सेवा मन पराउँथे, जसका सन्तति अझ्ा पनि काष्ठमण्डप वरिपरि भेटिन्छन्।

“हनुमानढोका र अन्य दरबार राजा र अन्य प्रभुत्ववर्गका लागि बनाइएका थिए, मन्दिरहरू भगवानका लागि”, युएन–ह्याबिटाटका सम्पदा संरक्षक, भुषण तुलाधर भन्छन्, “तर, काष्ठमण्डप आम जनताको लागि बनाइएको थियो।”

कनफट्टा जोगी (कान चिरेका जोगी) का लागि यो तीर्थस्थल नै थियो। भवनभित्र प्राचीन ताम्रपत्र र भगवान गोरक्षनाथको दुर्लभ मूर्ति पनि थियो। जोगीहरूका अनुसार उक्त मूर्ति गोरखपुर (भारत) र गोरखामा रहेका गोरक्षनाथको मूर्तिभन्दा पनि पुरानो हो। अझै पनि भग्नावशेषमै पुरिएका यी सम्पदा जोगाउन आवश्यक छ।

आर्किटेक्ट तथा शहरी विकास योजनाकार सुदर्शनराज तिवारीका अनुुसार काष्ठमण्डप जस्ता संरचनालाई पुरानो र कमजोर भन्नु गलत हुने बताउँछन्। उनी भन्छन्, “समय–समयमा मर्मत–सम्भार गरेको भए संरचना ढल्ने थिएनन्।” पछिल्लो पटक, ५० वर्षअघि काष्ठमण्डपको मर्मत गरिएको थियो।

तस्बीरहरुः मीनरत्न बज्राचार्य
भूकम्प जानुअघि बसन्तपुर क्षेत्रको एरियल तस्वीरमा ढलेका सम्पदा रातो घेराभित्र ।

सम्पदा संरक्षणमा सक्रिय आलोकसिद्धि तुलाधर काष्ठमण्डपलाई ल्हासा–काठमाडौं व्यापारमा संलग्न आफ्ना पितापुर्खाको चिनोका रूपमा लिन्छन्। “त्यसैले, काष्ठमण्डपतिर जाँदा, म छोराछोरीलाई यसको इतिहास र महत्वबारे सधैं सुनाउँछु”, उनी भन्छन्।

काष्ठमण्डपको पुनःनिर्माणका लागि यतिवेला सहयोग संकलन भइरहेको छ। अमेरिकामा रहेका दीपेश रिसालले पुनःनिर्माणमा सजिलो होस् भनेर काष्ठमण्डपबारे विभिन्न जानकारी आफ्नो वेबसाइट www.rebuildkasthamandap.com मा प्रकाशित गरेका छन्। सहयोग–संकलनकै लागि 'द हेरिटेज साइकल राइड' र धावक वैकुण्ठ मानन्धरले नेतृत्व गरेको म्याराथुन आयोजना गरिएको थियो।

सहयोग संकलनसँगै अब बन्ने संरचना पुरानै शैली र सामग्रीसँग नजिक वा दुरुस्त हुनुपर्छ भन्नेमा पनि चर्चा शुरु भएको छ। नयाँ संरचनामा रड, स्टील र सिमेन्ट प्रयोग गर्न पाइने कि नपाइने? यसमा पनि द्विविधा छ।

काष्ठमण्डपको निर्माण सरकारले नै गर्ने हो। तर, सरकारी नेतृत्वको टोलीमा इन्जिनियर, भूगर्भविद्सँगै इतिहासविद् र काष्ठमण्डपलाई पवित्र स्थल मान्ने कनफट्टा जोगीलाई पनि समावेश गर्नुपर्ने देखिन्छ। आलोकसिद्धि तुलाधर भन्छन्, “काष्ठमण्डपको पुनःनिर्माण पनि जन्म, जीवन र मृत्युको चक्र जस्तै हो।”

comments powered by Disqus

रमझम