राज्यबाट टाढा याङमा

Share:
  
- राजेन्द्रप्रसाद पन्त
लवाइ, खवाइ, भाषा, नाता, शैली सबै तिब्बती भए पनि तन र मनले पूर्ण नेपाली याङमावासी राज्यसँग जोडिन चाहन्छन्।
p52a
 
घुन्सा बजार। तस्वीरः राजेन्द्रप्रसाद पन्त

ताप्लेजुङको उत्तरी गाविस ओलाङचुङगोलाको सुदूर गाउँ याङमापुग्न हामीले जिल्ला सदरमुकाम फुङलिङबाट जैविक विविधताले भरिपूर्ण कञ्चनजंघा संरक्षण क्षेत्रको प्रवेशद्वार घुन्साको बाटो रोज्यौं। भदौको सिमसिमे झ्रीका बीच थालिएको अविस्मरणीय याङमा यात्रामा घुन्साबाट सदावहार जंगलहुँदै ठाडो उकालो काटेपछि आएको दम्स्याइलो बाटोबाट माथि हेर्दा वनस्पतिले ढकमक्क लेकाली डाँडाहरू देखिए भने तल कवाजको तयारीमा रहेका सैनिक टुकडी जस्तै लौठ सल्लाका मनमोहक वन। उकालोको थकाइ बिर्साउने रमणीय लेकमा डाँफे–मुनालका बथानले झ्नै हुरुक्क बनाउँथे। पश्चिमतिर फले डाँडो (३१८० मि.) माथिका भीमकाय पहाडले भने हामीलाई झ्संग बनायो, जहाँ ७ असोज २०६३ मा भएको हेलिकोप्टर दुर्घटनामा विश्वस्तरमै चिनिएका २४ जना संरक्षणविद्को ज्यान गएको थियो।  

बादलका लप्काले छोडेपछि दुई नांगा पहाडको बीचमा यात्राको सबैभन्दा उँचो बिन्दु नाङगोलाक्रस (४९०० मि.) देखियो। मूल बाटो छोडेर बायाँतिर करीब ४५ मिनेट हिंडेपछि प्रकृतिको आँचलमा एउटा डिलले छुट्याएका दुई कञ्चन ताल देखिए― जोरपोखरी। साँझ् पर्न लाग्यो, अब बासका लागि चौंरीका गोठ फेला पार्नै पर्छ। तर गोठ हैन, ढुंगाको गारोले तीनतिर घेरेको संरचना भेटियो, जहाँ त्रिपालले छोपिएका चार बोरा नुन, फुटेको कराही, प्लाष्टिकको बोतल, धूपीसल्लाका पातपतिङ्गर र अलिकति दाउरा थिए। हामी 'नाङगोलाक्रस' नछिचोली त्यही त्रिपाल तन्काएर बास बस्यौं।  
p52b
 
याङमा गाउँ 

जोरपोखरीको कञ्चन पानी र चिया बिस्कुटले दिनभरिको थकाइ र भोकबाट केही राहत पाइयो, तर भिजेका छेस्का नबलेर ज्यान तताउन भने पाइएन। पाल चुहिएर भएभरका लुगा निथु्रक्कै भएपछि झोलाबाट शिक्षा नियमावलीका दुई पुस्तक र अन्य केही कागजपत्र निकालेर बाल्यौं। कागजको आगो कति नै बल्थ्यो र, लगलुग काम्दै रात बिताइयो। झिसमिसेमै मूलबाटोमा फर्केर 'नाङगोलाक्रस'को दायाँ–बायाँका रमणीय दृश्य हेर्दै ओरालो लाग्दा पो सानो खोंचमा भेटिए― गोठ अनि दाउरा चिर्दै, चौंरी दुहँदै, आगो ताप्दै र नुन–घिउको चिया खाँदै गरेका गोठालाहरू। लुगा सुकाएर त्यहीं खाना खाएर छड्के उकालो काटेपछि पुगियो― बगर जस्तो बालुवैबालुवाको मर्स्याङडाँडा। त्यहाँबाट केही तल र्झ्दा हिमनदी आयो। तीन–चार फिट डुबेर नदी तरेपछि बाटो नभएको पाखो हुँदै उकालोलाग्यौं। दिउँसै रात पार्ने कुहिरो पातलिएपछि जमिन देखियो र पुगियो― चौंरीघ्याङ। त्यहाँबाट पहाडको खोंच, पोखरी भन्ने ठाउँ र नूपु खोला छिचोलेर याङमा नदी पुगियो। याङमाको दायाँबायाँ हिंड्दै साँझ् ६ बजे पुगियो― ४२०० मिटर उचाइमा अवस्थित अद्वितीय मानववस्ती याङमा।  

याङमा किनारको केही समतल भूभागमा बसेको यो बस्तीको ३०० मिटर माथि लाम्चो आकारका विशाल याङमा पोखरी छ। १२ घर रहेको यो शेर्पा वस्तीमा दुई–तीन परिवार मात्र नियमित बस्दा रहेछन्। तीमध्ये पनि कोही तिब्बत र कोही गोठतिर गएकाले हामीले सिंगो गाउँमा आमाछोरीको एउटा परिवार मात्र भेट्यौं। गाउँमा सञ्चालित प्राथमिक विद्यालयमा दुई शिक्षक र विद्यार्थी पनि दुवै जना रहेछन्। हामी पुग्दा शिक्षकमा सन्त विक थिए, तर एक विद्यार्थी तिब्बत र अर्को चौंरी गोठ गएकाले विद्यालय बन्द थियो। वर्षको ६ महीना हिउँ जम्ने र आलु मात्र फल्ने याङमामा काठकै गारो र छानो भएका घरहरू छन्। याङमाको प्रमुख व्यवसाय चौंरीपालन, छुर्पी, घिउ तथा पाँचऔंले, पदमचाल, कुट्की आदि जडीबुटीको व्यापार रहेछ। याङमावासी आलुसँग कोदो–मकै साट्न वर्षको एकचोटि एक दिन हिंडेर चिहाने पुग्दा रहेछन्। याङमावासीहरूको वैवाहिक सम्बन्ध र व्यापार–व्यवसाय तिब्बततिरै हुँदोरहेछ। तिब्बत सरकारले वर्षेनि केही खाद्यसामग्री निःशुल्क उपलब्ध गराउँदो रहेछ।  
p52c
 
चिया पसलमा युवती

६० वर्षकी बूढीआमै र उनकी छोरीसँग उसिनेको आलु खाँदै गफिंदा थाहा भयो, काठमाडौंले नदेख्ने ठाउँको नेपाली हुनुको पीडा। शेर्पा जातिको विशिष्ट र मौलिक पहिचानका धरोहर याङमावासीको काठमाडौंसँग चाँडै नाता जोडियोस् भन्ने कामना गर्दै हामी दुई दिन बसेर याङमाबाट विदा भयौं।

 

comments powered by Disqus

रमझम