२७ असार - २ साउन २०७२ | 12-18 July 2015

चीनको स्मार्ट' चिनारी

Share:
  

सूचनाप्रविधि, दूरसञ्चार र उपभोक्ता उपकरणबारे अनुसन्धान गर्ने अमेरिकी कम्पनी इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले प्रत्येक तीन महीनामा बिक्रीका हिसाबले उत्कृष्ट पाँच स्मार्टफोनबारे प्रतिवेदन सार्वजनिक गर्छ। सन् २०१५ मार्चसम्मको आँकडा हेर्दा, विगतका केही वर्षको जस्तै सामसुङ को बिक्री अन्यको भन्दा बढी देखिन्छ। तर, चार वर्षअघि सामसुङ ले ओगटेको बजार विस्तारै उसको हातबाट फुस्कन थालेको देखिन्छ। आईडीसीको सन् २०१४ र यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनमा सामसुङ को बजार ६ प्रतिशतले झारेको छ। दक्षिणकोरियाली कम्पनी सामसुङ को जस्तै अमेरिकी कम्पनी एप्पल को बजार पनि घटिरहेको छ। सन् २०१२ मा २२ प्रतिशत रहेको एप्पल को बजार अहिले १८ प्रतिशतमा खुम्चिएको छ। यही वर्ष आईफोन सिक्सर सिक्स प्लस नआएको भए, एप्पल को बजार १५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

'सस्तो, राम्रो र बलियो'

रोचक कुरा– विश्वका ठूला, पुराना र बजार ओगटेका स्मार्टफोन उत्पादकलाई चिनियाँ ब्रान्डका मोबाइल फोनहरूले सन् २०१२ देखि पछ्याइरहेका छन्। सन् २०११ सम्म चिनियाँ ब्रान्डका स्मार्टफोन बजारका लागि सामान्य प्रतिस्पर्धी मात्र थिए, तर अहिले उत्कृष्ट पाँचको सूचीमा दुई या तीन चिनियाँ स्मार्टफोन छन्।

आईडीसी प्रतिवेदन अनुसार अहिले चिनियाँ ब्रान्ड लेनोभो को मोबाइलले बिक्रीमा तेस्रो स्थान ओगट्छ। कुल बजारको ५.६ प्रतिशत हिस्सा ओगटेको लेनोभो ले मोटोरोला लाई आफ्नो बनाएपछि यस्तो सफलता हासिल गरेको अनुमान छ। बिक्रीमा चौथो नम्बरमा पर्ने चिनियाँ कम्पनी हो, हुवाए। हुवाए ले कुल स्मार्टफोन बजारमा ५.२ प्रतिशत हिस्सामा कब्जा जमाएको छ। एक्सेण्ड ७, अनर सिरिज र पी सिरिजका फोन आएसँगै हुवाए को बजार आकाशिएको हो। भर्खरै नेपाली बजारमा भित्रिएको हुवाए को जी प्ले मिनी समेत चर्चित बन्न पुग्यो। कम्पनीको बजारबाट प्रभावित भएर गुगलले नेक्सस फोन हुवाए कम्पनीबाट निकाल्ने हल्ला समेत चलेको छ।

कोरियाली कम्पनी एलजी र चिनियाँ कम्पनी सायोमी बीच स्मार्टफोन बजारमा पाँचौं स्थानका लागि वेलावेला टक्कर पर्छ। अहिले एलजी ले कुल ४.६ प्रतिशतका साथ पाँचौं स्थान ओगटेको छ। जी थ्री, जी फ्लेक्स टु जस्ता फोन बजारमा आएपछि एलजी ले सायोमी लाई पछिपारेको हो। डिस्प्ले, क्यामेरा, प्रोसेसर र तुलनात्मक कम मूल्यका कारण, सायोमी लाई धेरैले रुचाएका छन्। उसको एमआईथ्री, एमआईफोर, एमआईफोरआई, रेड्मी नोट लगायतका मोडल सुरुआतमा यसरी चर्चित बने कि, प्राविधिकहरू सायोमी लाई चीनको एप्पल भन्न समेत पछि परेनन्।

अन्य फोनको ४१.७ प्रतिशत हिस्सामध्ये चिनियाँ फोनहरूकै बाहुल्य छ। जेडटीई, वानप्लस, मेइजु, ओप्पो, कुलप्याड, भिभो लगायतका चिनियाँ ब्रान्ड लोकप्रिय भइरहेका छन्। तीमध्ये वानप्लस लाई धेरैले उत्कृष्ट फोनको उपमा दिने गरेका छन्।

चल्तीका ब्रान्डहरू, एप्पल र सामसुङ का महँगो सेटमा पाइने सुविधा त्यसको आधाभन्दा कम मूल्यमा पाइने भएकैले चिनियाँ फोनप्रति आकर्षण बढेको हो। 'सस्तो, राम्रो र बलियो', चिनियाँ स्मार्टफोनको यस्तो चर्चा हुने गरेको छ। नेपाली बजारमा समेत चिनियाँ फोनको बजार विस्तारै बढ्दैछ।

गणेश आचार्य

comments powered by Disqus

रमझम