भावुक योगी, बर्दियामा
झ्न्डै साढे तीन सय वर्ग किलोमीटरमा फैलिएको बबई उपत्यकामा २५/३० वर्षअघि ठूलो मानव बस्ती थियो। जैविक विविधता संरक्षणकै लागि बबईका १ हजार ५८२ घरधुरीका झन्डै साढे आठ हजार स्थानीयलाई २०३८ सालदेखि २०४२ सम्ममा बर्दियाकै सानोश्री गाउँमा सारियो। त्यसपछि बबईलाई बर्दिया राष्ट्रिय निकुञ्जमा गाभियो।
बस्ती सारेको केही वर्षपछि घना जंगलमा परिणत भएको उपत्यकामा विस्तारै जंगली जनावर छिर्न थाले। अहिले हात्ती, बाघ, भालु, चित्तल, जरायो आदिको संख्या बढ्दो छ। चितवनबाट लगेर एउटा गैंडा पनि छाडिएको थियो। तर, द्वन्द्वकालमा गैंडा लगायत थुप्रै वन्यजन्तु हराए। बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कँडेल अब फेरि गैंडा छोड्ने योजना रहेको बताउँछन्।
सम्भावना धेरै
वन्यजन्तुको बासस्थान रहेको नेपालको एक मात्र उपत्यका र जैविक विविधताले भरिएको क्षेत्र हो बबई। आकर्षक बबईलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुर्याए यस क्षेत्रकै विकास हुने चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका पूर्वअध्यक्ष कृष्णप्रसाद भट्टराईको बुझाइ छ। संरक्षण अधिकृत कँडेल भन्छन्, “हामी जैविक विविधता संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकासका लागि पनि काम गरिरहेका छौं।”
बबईमा संरक्षण र पर्यटन दुवैका लागि पूर्वाधार आवश्यक छ। बर्दिया छुने पूर्व–पश्चिम राजमार्गको झ्ान्डै १३ किलोमीटर सडक कालोपत्रे गर्नुका साथै औराही खोलामा पुल हाल्नै बाँकी छ। “भेरीमा डाइभर्सन बनाएर त्यसलाई बबई नदीमा मिसाई र्याफ्टिङको व्यवस्था गर्न सकिन्छ”, चिसापानी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका पूर्वअध्यक्ष भट्टराई भन्छन्, “र्याफ्टिङ गर्दै उपत्यकाका वन्यजन्तुको अवलोकनको मज्जा पर्यटकले पाउने थिए।”