२७ असार - २ साउन २०७२ | 12-18 July 2015

क्याबात् मीरा

Share:
  

११ असारमा फ्रान्समा आयोजित 'समोनि–माउन्ट ब्लांक' दौड प्रतियोगितामा प्रथम भइन्, भोजपुरकी मीरा राई (२३)। ८० किलोमीटरको उक्त दौड १२ घण्टामा पूरा गर्दै मीराले ३० राष्ट्रका सहभागीलाई पछिपारेकी थिइन्।

यो जितले उनलाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय खेल जगत्मा पनि प्रसिद्ध बनाएको छ। मेक्सिकोको 'आउटसाइड अनलाइन', हङकङको 'साउथ चाइना मर्निङ पोस्ट', सिंगापुरको 'सिसुगर्ल्स डट ओआरजी' लगायतका सञ्चारमाध्यमले उनीबारे चर्चा गरेका छन्। मीराकै फेसबुक वालमा पनि विभिन्न देशका थुप्रै प्रशंसकले बधाई दिएका छन्।

यसअघि हङकङमा भएको ५० किमी स्काई रनिङ च्याम्पियनसिप, मुस्ताङ ट्रेल दौड आदिमा पदक जितेकी थिइन्। उनी अयोग्य ठहर्‍याइएकी माओवादीकी पूर्वलडाकू हुन्।


प्रधानमन्त्री गौरी मल्ल!

राजनीतिक विषयमा आधारित टेलिश्रृंखला 'सिंहदरबार' को अहिले छायांकन भइरहेको छ। छिरिङ रितार शेर्पाले निर्देशन गरिरहेको श्रृंखलामा अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीका रूपमा अभिनय गरेकी छन्।

१३ भागको टेलिश्रृंखला प्रधानमन्त्रीको उत्तरदायित्व, पारदर्शिता र सहकार्यात्मक नेतृत्व सहितको सुशासन स्थापना गर्ने अभियानमा केन्द्रित रहने जनाइएको छ। “नेपालमा संविधान आइसकेपछिको अवस्थालाई कथानकका रूपमा देखाएका छौं”, निर्देशक शेर्पा भन्छन्।

अमेरिकी सहयोग नियोग, युएसआईडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपाल र मिला प्रोडक्सनले निर्माण गरेको यस टेलिश्रृंखला मार्फत सरकार र नागरिकबीचको सहकार्यको संस्कारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको सर्च फर कमन ग्राउन्डका युवाकरराज राजकर्णिकार बताउँछन्। उनी भन्छन्, “यसले नागरिकमा सरकारप्रति र सरकारमा नागरिकप्रति सहअस्तित्वको भावना जगाउन मद्दत गर्नेछ।” यो श्रृंखला असोजदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ।


शरणार्थी संगीत

पुनर्वासका क्रममा सन् २००९ मा अमेरिका पुगेका भूटानी शरणार्थी मनोज राई (३९) 'सिनोरिटा' लिएर झ्ाापाको खुदुनाबारीस्थित शरणार्थी शिविर आइपुगेका छन्। सात वटा गीत रहेको यो अल्बमको ६ वटा गीतमा मधुकर लोहनीको शब्द र संगीत छ।

२४ वर्षअघि भूटानबाट खेदिएका राईलाई प्रत्येक दिन देश नहुनुको पीडाले पोल्थ्यो। शिविरको विद्यालयका शिक्षक उनले यहीं रहँदा 'हिमालको काखमा छ सानो हाम्रो भूटान देश...' गीत बनाए। अल्बममा यो गीत पनि संग्रहित छ। सर्भाङ गाउँमा जन्मे–हुर्केका मनोज 'सिनोरिटा' लाई नेपाली गीत 'कान्छी हे कान्छी' को रुपान्तरण ठान्छन्।

बितेको आठ वर्षमा ९५ हजार भूटानी यूरोप, अमेरिका र अष्ट्रेलियामा पुनर्वास भएका छन्, जसमध्ये करीब ८१ हजार त अमेरिकामा छन्। त्यहाँ हुने नेपालीभाषी सांस्कृतिक कार्यक्रममा पनि उनी गाइरहन्छन्। उनी भन्छन्, “भूटानबाट खेदिएर कुन गर्तमा पुगियो भन्ने पीर लागेको थियो, अहिले दुःख सुनिदिने बढेका छन्।”

गोपाल गडतौला, झापा


बर्फी पछिको भोला

सन् २०१२ मा प्रदर्शित भारतीय चलचित्र बर्फी मा नेपाली कलाकार भोलाराज सापकोटाले पनि अभिनय गरेका थिए। प्रियंका चोपडा, रणवीर कपुर, सौरभ शुक्ला जस्ता प्रख्यात कलाकार र अनुराग वसु जस्ता मानिएका निर्देशकसँग काम गरेका भोलाले फिल्म रिलिज भएपछि बलिउडमै संघर्ष गर्लान् भन्ने सोचिएको थियो। तर, उनी स्वदेश फर्किए।

हालै मात्र 'सिंहदरबारको टेन्डर' नाटक मार्फत दुई वर्षपछि रंगमञ्चमा उक्लिएका सापकोटा आफ्नो बलिउड यात्रा नटुंगिएको बताउँछन्। उनी भन्छन्, “अर्को चलचित्रका लागि पनि कुरा हुँदैछ, चाँडै टुंगो लाग्ला जस्तो छ।”

थुप्रै अवार्ड जितेको बर्फी मा भोलाको अभिनय छोटो तर राम्रो मानिएको थियो।

comments powered by Disqus

रमझम