कर्ममा दत्तचित्त

Share:
  
राजधानीमा अनेक हण्डर खाएर आत्मनिर्भर बनेका नन्द–लक्ष्मी दम्पतीले कर्ममा विश्वास राखेर जीवनको सन्तुष्टि लिइरहेका छन्।
p54
 
तस्वीरः विक्रम राई

२०४९ सालमा दुई ज्यान, एक मन भएर खोटाङको दिक्तेल छाडेका नन्दबहादुर श्रेष्ठ (५२) र लक्ष्मी श्रेष्ठ (४६) ले राजधानीमा गुजारा चलाउन ललितपुर, धापाखेलको ईंटा भट्टामा काम गरे। “रु.२०० ज्यालाका लागि १००० वटा ईंट्टा बनाउनुपर्थ्यो”, नन्द भन्छन्, “खाई–नखाई ८० हजार रुपैयाँ जम्मा गर्न नौ वर्ष लाग्यो।” 

त्यसपछि श्रेष्ठ दम्पतीले तीन रोपनी जग्गा भाडामा लिएर गोलभेंडा लगायतका तरकारी खेती गर्दा भने एक वर्षमै डेढ लाख रुपैयाँ कमाए। शुरूकै वर्ष राम्रो नाफा गरेका नन्दले खुमलटारको कृषि कार्यालयमा तीनमहिने तालिम लिए। विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स नेपाल) नामक सामुदायिक संस्थाको सदस्य भएकी लक्ष्मीले रु.६० हजार ऋण लिएर तरकारी खेतीमै थप लगानी गरिन्। 
 
अहिले राजधानीको कृषिकर्म र पारिवारिक जीवनप्रति पूरै सन्तुष्ट छन्, नन्द र लक्ष्मी। पढ्ने उमेर दाउराघाँसमै बिताएका उनीहरूकी छोरी सम्झ्ना नर्सिङ पढिरहेकी छन् भने एसएलसीमा डिस्टिङ्सन ल्याएका छोरा सरोज विज्ञानमा प्लस टु पढिरहेका छन्। “पहिला १७–१८ घण्टा काम गर्‍यौं, तर अहिले यी छोराछोरी हेर्दा जीवन सुखैसुखमा बितेजस्तो लाग्छ”, लक्ष्मी भन्छिन्, “उनीहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको भविष्य निर्माण गर्न अझै मिहिनेत गरिरहेका छौं।” 
 
बीचबीचमा प्रतिकूल मौसम र पानीको कमीले नोक्सानी भए पनि पौरख नछाडेको यो दम्पतीले अहिले वार्षिक रु.७० हजार भाडा तिरेर सात रोपनी जग्गामा तरकारी खेती गरिरहेको छ। चार वटा गाई र एउटा भैंसी पनि छन्। दूध र तरकारीबाट उनीहरूको मासिक आम्दानी रु.२५–३० हजार हुन्छ। यसबाट उनीहरूले धापाखेलमा चार आना जग्गा समेत जोडेका छन्। 
 
रति महर्जन  

 

comments powered by Disqus

रमझम