३‍-९ साउन २०७२ | 19-25 July 2015

चन्द्रशमशेरको कूटनीति

Share:
  
- ज्ञानमणि नेपाल
दाजु देवशमशेरलाई गद्दीच्युत गरेपछि स्वयं रेजिडेन्सीमा उपस्थित भई आफूले वेलैमा यो काम नगरेको भए दाजुभाइकै ज्यान खतरामा परिसक्ने थियो भन्छन्, चन्द्रशमशेर।

चन्द्रशमशेर।
देवशमशेरको उदार प्रजातान्त्रिक प्रक्रियाबाट तर्सिएका चन्द्रशमशेर भाइभतिजालाई समेत मिलाई देवशमशेरलाई रानीपोखरी स्कूलको कार्यक्रममा बोलाएर 'एउटा अंशबण्डा मिलाइदिनुपर्‍यो सरकार' भन्दै चारबुर्जा दरबारको बैठकमा पुर्‍याउँछन्। महाराज त्यहाँ पस्नासाथ सबैले झुरुप्प घेरेर तामदानमा बाँधेर ८० कोस पूर्वको धनकुटा पुर्‍याइन्छ। तत्काल राजाबाट महाराज घोषित चन्द्रशमशेरले जनी गरेर देवशमशेरकी गर्भवती महारानी र केही रखेली सुसारेलाई धनकुटा पठाउँछन्।

राजकाजमै हुर्केका र धेरै वर्ष कमाण्डर इनचीफ चलाएर क्रमैले महाराज बनेका देवशमशेरलाई अकस्मात् यस्तो आपत् पर्दा धनकुटाका डाँडामा उकुसमुकुस हुन्छ। वीरशमशेरले अघि भाइ चीफ खड्गशमशेरलाई निकाल्दा पाल्पाको तैनाथी दिएकाले बडो राजसी चालले बस्न पाएका थिए। पछि जुद्धशमशेरले चीफ रुद्रशमशेर र उनको परिवारलाई पाल्पा धपाउँदा पनि त्यसरी नै बस्न दिएका थिए। तर, देवलाई धनकुटामा प्रशासनिक कार्य गर्न दिइएन।

न इष्टमित्र न कुनै कामकाज अर्काको निगरानीमा बसेका देवशमशेर त्यहाँबाट उम्कने दाउमा लागे। शिकार खेल्न तराई जाने भन्दा चन्द्रले पहिला हुन्छ भने पनि पछि दिएनन्। त्यसपछि बस्नलाई अलि राम्रो घर बनाउने ठाउँ खोज्न भन्दै दशैंपछि इलाम हिंडे। त्यहाँबाट सीमानेर पुगेका उनी गोर्खा रिक्रुट भर्ना गर्न आएको एक जना सुवेदारको साथ लागेर दोर्जेलिङ पुगे। उनकी सुत्केरी रानी धनकुटामै थिइन्।

देवशमशेरको दोर्जेलिङ पलायनबाट चन्द्रशमशेर अप्ठ्यारोमा परे। उनले चलाखी गरेर तयार पारेको दाजुको राजीनामा र भारतस्थित ब्रिटिश सरकारलाई लेखेको चिठी पनि दिंदै रेजिडेन्टसँग लामो संवाद गरे, जसमा अघि नेपालले सुखिमका राजा सुम्पे जस्तै ब्रिटिशले पनि नेपालको वापतीलाई सुम्पनुपर्छ, नभए निगरानीमा भए पनि राखी दिनुपर्छ भने। चन्द्रशमशेरले भने पनि अंग्रेज अनुसरण गर्ने पक्षमा भने थिएन। सारा अंग्रेजी अखबारमा नेपालमा सत्ता पल्टाइयो भन्ने छापिइसकेको थियो। कूटनीतिपटु ब्रिटिश अधिकारीहरूले अघि वीरशमशेरलाई समर्थन गर्दा जंगले रोकिराखेको रिक्रुट भर्ना खुलाएका थिए। अब चन्द्रलाई समर्थन गरेर पहिलेदेखि नपाइराखेको भोट बेपारमा हात हाल्ने दाउमा थिए।

चन्द्रशमशेर र रेजिडेन्टबीच भएको वार्ता दुई लङ्गमा सवाल–जवाफ लेखिएका छन्। यहाँ भने मैले दुई व्यक्तिबीचको संवादलाई क्रमैसँग प्रस्तुत गरेको छु।


प्रधानमन्त्री चन्द्रशमशेर र बेलायती रेजिडेन्ट बीचको संवाद

सम्वत् १९५८ साल कार्तिकवदि ७ रोज १ मुतावीक सन् १९०१ नभेंवरको ३ तारीखका दीन रजिडंन्त कर्नेल टि.सी. पियर्स साहेबले मुलाकातको इच्छा जाहेर गरी पठायाको हुनाले श्री ३ महाराज चन्द्रशम्सेर जङ्ग राणाबहादुरबाट आफै रजिडंसीमा आउंछु भन्ये जबाब् पठाई बक्सी बेलुकाको ४ बजे सुबा मरीचीमान्सींलाई साथ ली बक्सी रजिडंसीमा सवारी हुंदा रजिडंटसाहेबसंग खैर अफियत्को कुरा भैसकेपछि कुरा कहानी भयाको।

श्री ३– नवाकोट तर्फको सफर कतिको मजा मांनुभयो...१

रेजी– बहुतै मजा माने, तपायींबाट मेरा सुवीस्ता निमीत्त जो गरीदीनु भयो तेस्मा बहुतै मेहशान्मन्द छु. माछाको सीकार अलि गरे. तपायीं तेसतर्फ जानुभयाको छकी...२

श्री ३– तेस् ठाउंमा गयाको छैन...३

रेजी– ताहां औलो छ भन्दा रछन्...४

श्री ३– हो औलो छ भन्छन्. हामी पाहाडमा बस्नेहरू डीसम्बर महीना नभै तेस्तो ठाउँमा जादैनौ...५

रेजी– यो मासीम्मा (मौसममा) माछा उस्तो पाइदो (र)हेनछ कुन मौसममा माछा बेस पाइयेला...६

श्री ३– डीसम्बर महिनातिर पाउनुपर्दछ...७

रेजी– नुवाकोटको वरालो बहुतै ठाडो र लामो रहेछ. तेस्मा हीड्नु बहुतै कसरत पुग्ने रहेछ. तपायीहरू ता कसरतमा विस्वास राखनुहुन्न की यसले खायाको हजम गराई भोक जगाउछ...८

श्री ३– हो कसरत बढिया कुरा हो. यसमा मलाई पुरा विश्वास छ...९

रेजी– तपायीलाई आराम छैन के...१०

श्री ३– सचै छ. अघी अघी जुन जुलाईको ताक मलाई आराम हुदैनथियो यस पाली सो कुरा भयन. अघि तेसो भयका बहुतैसबेरै उठ्नु परेको भयको हुन गयाको हो...११

रेजी– तेति चाँडो केन उठ्नुहुन्थ्यो...१२

श्री ३– परेट्मा जानालाई...१३

रेजी– आजकाल परेट्मा जान हुदैन की...१४

श्री ३– आजकाल पनि रोजरोज हुंछ...१५

रेजी– जनरलवाट किन याहाको रजिडंसि ईस्काट जाँच गर्न आउने भयाका छन्. उनले याहाको नेपाली फौज पनि हेर्नाको आग्रह गरे भने देषाउनालाई तपाईको के राय छ भनि मैले अली अफिसरद्धारा सोधी पठायाको थियो मौसुफ जनरलले हेर्छु भनि लेखी पठायको होइनन्। कदाचीत हेर्न मन्सुबा गरे मन देखाउनु होला किनभनि सोधी पठायाको हुँ मलाई पनि यकपल्ट हेर्नाको ईरादा छ...१६

श्री ३– उनी १० तारीखमा याँहा पुग्नाले हाम्रो याहा देवाली तीहारको छुटी हुने वेला परेको हुनाले यात ८ तारीख सुक्रबारका दिन यात १५ तरीखमा दीवाली देखाउला भनि तपाइलाई भनि पठायाको थीयाँ...१७

रेजी– १५ तारीखका दिन बिहानै उनि याँहाबाट रवाना हुनेछन्...१८

श्री ३– तेसो भया उनीलाई देखाउनलाई बडो अपठ्यरो भयो. तापायीले हेर्न इच्छा राखनुहुन्छ भन्या तपायी याहा आउनु भयाको ८–९ महिना भयो याँहाका फौजको कवायत हेर्नु भयाको छैन. यकपल्ट देखाउनाका इच्छा छ...१९

रेजी– तपायींलाइ सुकुरगुजारी छ. कैल्हे देखाउनुहोला...२०

श्री ३– ८ तारीख सुक्रवारका दीन २ बजे अथवा जुन्वेला तपायींलाई सुवीस्ता हुन्छ देखाउला...२१

रेजी– सो दीन् ३ बजे भया मलाई सुवीस्ता हुन्छ...२२

महाराज देवसमसेर जङ्गको बात्मा तपायींबाट पठाउनु भयाको चीठी हीजो बेलुका पायां. सो कुरा मैले गभरमेन्टलाई लेखी पठायां...२३

श्री ३– तपायींबाट पठाउनुभएको चीठी पनी पायां तेस्मा तपायींलाई मेरो बहुत् सुकुरगुजारी छ...२४

रेजी– किन वाहा दार्ज्येलीङ् जानुभयाको होला...२५

श्री ३– किन हो, केही बुझियन. वाहाबाट तेसो गरी जानु ठुलो मुर्ख्यायीं काम् गर्नु भयाको हो...२६

रेजी– वाहालाई हिन्दुस्तान् जान दीने ईजाजत् दिनु हुने कुरा अघि तपायींबाट मसंग गर्नुभयाको हुनाले तपायींको ईजाजत पाई जानुभयाको हो की भन्या लाग्याको थियो. कसरी जानुभयेछ...२७

श्री ३– वाहालाई मैले ज्यादै आजादगी दीदियाको थियां. अलिकति केही ऐटन् राखेकोमा पनि वाहाबाट सो कुरा नरहोस् म मुर्ख केटाकेटी होईन भागी गै इन्डियामा जानाले मलाई बढीया छैन. यो बुझ्दछु भन्या बारंबार लेखीपठाउनु भयाको हुनाले मैले वाहलाई घर बनाउनालाई ईलाम्मा जगा हेर्न जानाको र पाहाडमा यताउता जानाको इजाजत् दी तराई झर्नालाई मेरो ईजाजत् नभै हुंदैन भन्या लेखी पठायाको थीयां. तेसैले मलाई यस्तो इजाजत आयाको छ भनि दसायीं सिद्धिनेवित्तिकै इलाम्मा आफु बस्ने घर बनाउनालाई ठाउ हेर्ने मतलब जाहेर गरी इलाम् जानुभयेछ. ताहा पुग्नु भै एक्रात बसी ताहाबाट तल तिल्लुङ् भन्ने ठाउ सेवानादेखि ३ माईल यस्तरफ जान लाग्नु हुदा साथ्मा रहेका अफिसरहरूले मनाही गर्दा ताहासम्म जानालाई मनाही छैन. ताहा घर बनाउने जगा असल् होला भनि ताहा गै १ रात बसी भोलीपल्ट साथ्मा मानीसलाई झुक्याई सेवाना पार जानुभयेछ. वाहालाई बाटो देखाइ लैजाने बृटिस् गोर्खा पल्टनलाई रीकुट भर्ना गर्ने कामको सुवेदार अगमसीं रहेछ. बृटिस पल्टनलाई गोरखाली रीकुट भर्ति गर्नालाई हुन सकेसम्म सजिलो गरी दीयाको हुनाले यस्तो हीसाबसंग नीज सुवेदारले कम् गरेछन्. नीजले बाटो नदेखाई दीयाका भया वाहालाई भागी जानु पनि मुस्कील थीयो. यस्तो भयेपछि अब उप्रान्त गोर्खाली रीकुट भर्ति गर्न रीकुट खोज्न आउने मानीसहरूको चाल्चलन्मा पनि केही नीग्रानी राख्नुपर्ने आवसेक् हुन जाने हुंछ.

तपायींलाई तार कसले पठायाको हो. नीज सुवेदारको नाउं क्या हो. भंनुभयो भनि रजिडंट साहेबले भंनुहुंदा चन्द्रले तार पठायाको हो. तार यही छ भन्या हुकुम भै ५।६ वटा तार देखाई बक्सीयो...२८

रेजी–यक्स महाराजको साथमा जाने अफिसरहरूले नीच् मारी अथवा घुस रीस्वत् ली भगायाको ता होइन की...२९

श्री ३– होइन्. कैल्है तेसो गरेका हवैनन्...३०

रेजी– तपायीलाई तेस कुराको नीश्चय छ की...३१

श्री ३– मलाई तेस् कुराको पुरा नीश्चय छ...३२

रेजी–अैल्हे वाहा दार्ज्येलीङ्मै हुनुहुंछ की...३३

श्री ३– अझसम्मको खवरले ता दार्जेलीङमै हुनु भयाको बुझिन्छ...३४

रेजी– वाहासंग अरु कोही मानीस पनि गयाका छन्...३५

श्री ३–यक्लै हुनुहंछ. १ मैन्हा जतिको सुत्केरी हुनु भयाको वाहाको बडामाहारानी धनकुटामा हुनुहंछ. ४ वटी रखेलीहरू इलाममा छाड्नुभयाको छ. बांकी जाहान्हरू यांही छन्...३६

रेजी– वाहा हिन्दुस्थानैमा बसुन् भनै तपायीको मुराद छ की...३७

श्री ३– वाहाको तेस्तो इच्छा छ भने वही बस्नुभया पनी हुंछ. तर वाहांले गुप्ती तवरसंग मानीसहरू पठाई मेरो ज्यान्मा दगा गर्न नपाउने होस् र सर्कारका बीचको दोस्तीको तेहाजले वाहाको चलन्मा बृटिस गभरमेन्टले नीग्रानी राखी वाहालाई यौटा असल ठाउंमा राखी दिनुभया हुंछ जस्मा की वाहाबाट यस् सर्कारको अथवा यस सर्कारसंग वास्ता नभयाका मानीसहरू माथी वीद्युत् गर्ने उपायेमा लागन नपाउने हवस्...३८

रेजी– वाहाबाट सबै काम कुराको बृटिस् गवरमेन्टलाई जमावारी लिनु कठीन्को काम होला. वाहाको चाल चलन्को नीग्रानी राखनु भनि मैले दार्ज्येलीङका डीपुटी कमीश्नरलाई र चंपारन्का म्याजीष्टरेट्लाई लेखी पठायाको छु. तपायींको पनि ठाउंठाउंमा येजेन्टहरू रहेछन्. तीनीहरूबाट केही खवर आयो भन्या मलाई थाहा दीनुहोला. वाहाबाट मलाई चीठी लेखनुभयामा म तपाईलाई तेस् मजबुन्मात्र लेखी पठाउनेछु, सकलै चीठी पठाउनु मलाई मुनासीव पर्दैन. तपायींहरू दुवैमा कुरा नदेखाउनु बढीया हुने पनि हुन जांछ, तपायींलाई गवरमेन्टबाट रीकागनाइज गरीसकेकै छैन. जाहासम्म हुन सक्तछ केही फरक नपारी तपायींको राय गभरमेन्टलाई थाहा दीनु मेरो काम् हो. यक्स माहाराजबाट केही गर्नन् भंने तपायीलाई त्रास छ की...३९

श्री ३– मैले वाहा र मेरो आफ्नै ज्यान् बचाउनका लागि वाहलाई पर सार्नुपर्‍यो तापनि येकै कोषको दाज्यु हुनाले वाहालाई जाहासम्म हुन सक्छ आराम् सुवीस्ता साथ राखने बन्दोबस्त गरी दीनामा मैले बांकी राखेको थीयेन. शिकारलाई भनि ३० हाथी समेत दीयाको थीयां. तर यो साल पुर्णीया यो उत्तरतर्फ जर्तापर्नाले रसदको बन्दोबस्त पुग्न नसक्ने हुंदा अघिदेखि सिकार पनि गराउने थियां. वहामाथी मेरो जतिको अरुको मोहवत् हुन सक्दैन. वाहालाई खरेज नगरे हामी दुवै भाईको ज्यान् व्यर्थ अवस्य जाने थियो. ऐल्हे वाहाबाट यस्तो काम् गर्नु ठुलो मुर्ख्याहि हो. जहान् बचाहरू सबैलाई तेसै अलपत्र पारी आफुमात्र गै के गर्नु हुन्थ्यो रे. अब ताहाको जाहान बचाहरू वाहाले केही वदमासी गर्न नपाउन् भंनानिमित्त यौटा ठेकाना बसी वाहाले बेहीसाब् गर्न नपाउने बन्दोबस्त नभयासम्म जमानीको तवरसंग यांह राखी छोड्नेछु. तर यी कुरा पक्का सम्झनुहोला की वाहाबाट अब मेरो इजाजतवेगर नेपाल् भीत्र पश्न खोज्नुभयो भन्या वाहा मारिनु हुनेछ. वाहा भागनुभयाको खवर जाहातही पठाई सकेको छु. नेपाली अहल्काराहरूले वाहा आउनुभयो भने पक्रनेछन्. अथवा मलाई खुसिगराउन सकुला की भंने सम्झि समातन लाग्दा भाग्न खोजेको नीहुं देखाई ज्यान् ली दीनन् भने मात्र छ. कीन भने मेरो आफ्नै दाज्युको ज्यान् तेस्तो हीसाबसंग मारीन गयो भन्या मलाई पछिसम्मको पछुतो लाग्नेछ. वाहादेखि मलाई डर छ भंने मेरो आसये होइन. वाहा सरासरै भेष बदली यांहा नेपाल काठमाडौंमा आया तापनि मलाई केही डर छैन. ममाथीको सब्को यक् राये छ अघि पनि वाहालाई यसै ठाउंबाट पाहाड्तर्फ पठायाको न हो. उस् वेला झन् वाहाको वहदा तकत् सब वाहसंग थीयो. तेस्तो वेलामा त केही हुन सकेन भने अैल्हे खारेज भै सक्नु भयाको सबैले थाहा पायेको कारवाई ली मुलुक्को दुस्मन् जस्तो वाहाबाट के हुन सक्ला भनि मलाई त्रास होला. ऐल्हे भर्खर म यसतर्फ आउनालाई परेटमा गै सबै फौजलाई वाहा भागनुभयाको खवर सुनाई कसैले वाहासंग चीठीपत्र आवतजावत नगर्न गर्‍यौ भने पक्री कोट मार्श्यालबाट नीजहरूलाई सजाये हुनेछ भने सुनाई दीयां. मलाई डर वाहाका ज्यानका लागी छ. वाहाबाट बेकुफ् गरी नेपाल पस्ने हीसाब् गर्नुभयो भने अवस्ये ज्यान् मिल्काउनु हुनेछ. तै आफुलाई चाहीने अगावैको होसीयारी मलाई राखनुपर्ने मुनासीव हुनाले राखनेछ तर ज्यादा फीकीर मलाई वाहाको ज्यान्को छ. मैले वाहामाथी ज्यादा दयां माया गर्नाले यांहा मानीसहरूले ज्यादा दया माया देखाउनु ठीक छैन भनि भनेथे पनि मैले आफु दाज्यु सम्झी वाहालाई हरतरहबाट सुवीस्ता गराउने मतलव्ले ज्यादा दया माया देखायाको वीपरीत गरी काम् गर्नुभयो. तस्बाट वाहा आफैलाई ठुलो हानी हुन गयो...४०

रेजी–वाहाको कतातिर जाने मतलव् बुझिन्छ...४१

श्री ३– तारमा मोकामा जाने मतलव् देखाउनुभयाको छ...४२

रेजी– मोकामा के काम्. कलकत्तामा अथवा सिमलामा गै भ्वाइसररायेसंग मलाई खराव हीसावसंग व्यवहार गर्‍यौ भने उजुर पेस् गर्नलाई जानु मन् गर्नुभयाको हो की...४३

श्री ३– भ्वाईसराय सफरमा आउनुहुने मौकामा इष्टेसन्मा भेट गरुला भन्या मतलव् हो की...४४

रेजी–रेलमा भेट पाउनु मुस्कील हुंछ. भ्वाइसरायसंग भेट्ने इरादा भया तापनि वर्माबाट फर्कनु नभै भेट पाउनुहुने छैन. वाहासंग साथमा केही धन् छ की. तपायीको मतलव् यांहा आउनु भन्दा वही रहे बढीया भने हो की...४५

श्री ३– साथमा यति उती लैजानुभयो भने केही थाहा भयाको छैन. अघी सर वीरसम्सेर जङ्ग राणाले ३ लाखमा लीनुभयाको पछि ५।६ लाख मोल गरीयाको कंठा येक वाहाबाट २ लाखमा र ७० हजार मोलीयाको यौटा मुकुट ४० हजारमा सर वीरसमसेरका छोरासंगबाट लि धनकुटामा साथै लैजानु भयाको वही छ की साथै लैजानुभयो केही पत्ता छैन. तेस्को मोल अरु सर वीरशम्शेरका छोराहरूलाई दीयाको छैन. मैले दीने कवल गरेको थियां. अब सो जवाहीरहरू धनकुटैमा छ भने जफत गरी सरकारी तहविल्मा राखनु भने हुकुम् दीयाको छु. वाहाबाट करीव ६० हजारको यांहाको जगा लीनुभयाको छ. तेस्को पनि सजाईको तवरसंग ४८ हजार जति झिकीदीनेछु. मैले अरु कुराहरू पनि वादा गरी वाहालाई सुवीस्ता होस् भंनानीमित्त वाहाको सबै आम्दानी ज्या गरी वर्ष १ को १ लाखसम्म पुर्‍याईदीउंला. वाहाबाट आफ्नै काम्ले गरी मसंगको सबै हक्को लेहाज हीडाउनुभयो. हीन्दुस्थान बस्नु हुने भया वाहाबाट नेपालमा यी केही दगाको उद्योग गर्‍या छैन भंन्या लीखत् र बृटिस् गवरमेन्टबाट सो कुराको जीम्मा लीनुभयो भन्या खानादानालाई केही अलिकति द्यूलाऐल्हे व्यांकमा वाहाको १०।१२ लाख छ. तेसैले वाहाको खर्च पुग्छ. याहां रहेका आल्मालु याहीकै जाहान बच्चाहरू पाल्नालाई राखनेछ. तर तेस् पक्षेमा वाहाका छोराहरू काठमडौमा रहन पाउने छैनन्. तीनीहरूको जागीर पनि रहने छैन...४६

श्री ३– यक् जनाले वीराये भनि जाहानैलाई दुख गराउनु मुनासीव हवैन. ति जाहानहरू इंडियामा पठाउनाले गभरमेन्टलाई बोझ बढाई दीनुजस्तो मात्र हुन जाला...४७

वाहाको २ छोरा र वडा माहारानी धनकुटामा हुनुहुंछ, ४ वटी रखेली ईलाम्मा. जेठा छोरा, कांन्छा विवाह नभयाको, माहारानी र अरुहरू यांहा छन्. अरुलाई यांहा राख्न ठीक पर्दैन. पाहाडतर्फ पठाईदीनु पर्नेछ. यांहा रहेका जेठा छोराचाहीलाई अब तैले यांहा बस्न पाउंदैनस् भनि मैले भंदा मलाई जान नपरोस् भनी भंदथ्यो. नीजको सानी आमा हुनाले बाबुसंग मेल् छैन...४८

रेजी– तपाईको यथार्थ राये गभरमेन्टमा लेखी पठाउनु मेरो काम् हो. तपायीको हीसाबले यस्स माहाराज इंडीयामा बस्नु भंदा यंही आया बढीया भने तपायींको राये हो की...४९

श्री ३– हो. वाहालाई यस्तर्फ पठाई मलाई बुझाई दिनुभया वानजवी हो की भने लाग्छ. यस्को सावीक् पनि छ. अघि सिकीम्को राजा भागी नेपालमा आउंदा पक्रि हामीले बृटिस गभरमेन्टलाई बुझाई दीयाका थीयौं. यसतर्फ पठाईदीनु भो भने वाहाको ज्यान्मा कदाचीत् केही हुन गयो भने मैले केही वीखसीख ख्वाई मारेको हो की भन्या संका हुन जाला भने संदेह लाग्छ. तर मेरो वाहाको ज्यान् लीनाको मतलव् थीयो भने अघी नै सो कुरो हुन जाने थीयो. अरु कोही भयको भया म फेरी यस् मुलुकमा किमार्थ ल्याउने थीईन. आफ्नै दाज्यु हुनुहुनाले मोहवत् लाग्दछ. म यो आफ्नु ईज्जत सम्झी भंदछु की वाहाको ज्युमा केही हुने छैन. वाहामाथी वेहीसावको कारवाई पनि हुने छैन. वाहालाई धनकुटामा ल्याई अघि मैले भने झै वर्षको सबै ज्मा गरी १ लाख आम्दानी दी सुवीस्तासाथ राख्नेछु. अघी जतिको लेहाज र अैल्हे रहनु सकदैन. पछि चलन् असल् देखाउनुभयो भने वीचार रहला...५०

रेजी– बाटा देखाउने सुवेदारको कुरोमा तपाईको के राय छ...५१

श्री ३– नीज सुबेदार यांहा मुलुक्मा फेला पर्‍यो भने खराव् काम् गरेबापत् निजलाई कैदको सजाये दीनेछु...५२

रेजी– यति तारै भोको भरले सो कुरा गर्नु मुनासीब पर्दैन. खुलस्तहाल् आयापछि तपाईं मेरो सल्लाह गरी जो गर्नु ठहराई गर्नु ठीक् छ...५३

श्री ३– खुलस्त हाल् (नआई) म केही गर्ने छैन. तारबाट छोटकरी हालमात्र आयाको छ. सबै बेहोरा थाहा भयापछि तपायीसंग सल्लाह गरी जो गर्नु गरुंला...५४

रेजी– नीज सुवेदार १ जनाको कामले सबै पल्टनैलाई अथवा बृटिस गभरमेन्टलाई दोस् दीनु होला के...५५

श्री ३– अरुलाई दोस् दीयेको होईन्. नीज सुवेदारले बृटीस रीकुटी अफिसर भै यस्तो बेहीसाब गरेको देखियो भनि तपाईसंग भनेको हुं...५६

रेजी– यक्स माहाराजको बात्मा तपायींबाट मसंग भंनुभयाको कुरा सबै भायसराय अथवा वाहाको फरिन् सेक्रेटरीलाई लेखी पठाई दिन्छु. वाहाबाट जस्तो लेखी आउला तपायींलाई इत्तलाय दीनेछु...५७

यस्को २५ दफादेखि ६१ दफासम्म नकल सारी वकील् कुलानंदलाई भयो.

comments powered by Disqus

रमझम