मोरिस हेर्जोग

Share:
  
(१५ जनवरी १९१९–१३ डिसेम्बर २०१२)
p55
 
 

 

फ्रान्सका मोरिस हेर्जोग ३ जून १९५० अपरान्ह २ बजे अन्नपूर्ण हिमालको शिखरमा पुगेको समाचारसँगै संसारमा नेपालको चर्चा चुलियो― लौ मानिसहरू हिमालयमा पनि पुगे रे, आठ हजार मिटर भन्दा अग्लो हिमाल चढे रे, त्यो नेपाल भन्ने देशमा हो रे!  
 
सगरमाथा आरोहणको तीन वर्षअघि त्यस्तो कीर्तिमान बनाउने हेर्जोग यही १३ डिसेम्बरमा स्तब्धकारी खबर बने, ९३ वर्षको उमेरमा पेरिसस्थित घरमा दिवंगत भएर। राष्ट्रपति फँस्वा ओलँदले श्रद्धाञ्जलीमा भने, “बहादुरी र साहसका प्रतीक मोरिस हेर्जोगलाई फ्रान्सेलीहरूले सदैव सम्झिरहने छन्।” 
 
फ्रान्स दोस्रो विश्वयुद्धमा राष्ट्रिय अभिमान जोगाउन नसकेको पीडाबाट गुजि्ररहेको बेला हेर्जोगले मानव विचरण असम्भवप्रायः ठानिएको हिमालयमा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर विश्वलाई चकित पारेका थिए। उनको यो उपलब्धिलाई राष्ट्रिय उत्सव बनाउन फ्रान्सका तत्कालीन राष्ट्रपति चार्ल्स द गोलले तत्कालै राष्ट्रिय विदा घोषणा गरे, लाखौं फ्रान्सेलीले सडकमा निस्किएर विजयोत्सव मनाए।  
 
हेर्जोग र नेपाल 
आरोहण सामग्री फ्रान्समै बटुलेर दिल्ली उत्रिएको हेर्जोग नेतृत्वको आरोहण दल त्यहाँबाट प्रतिव्यक्ति दैनिक रु.५ ज्यालामा ५०० भरिया लिएर नेपाल पसेको थियो। हिमालयको नक्सा नभएको, कति मिटर माथि कस्तो छ र कुन बाटो, कुन मोहडाबाट चढ्ने केही थाहा नभएको अवस्थामा केही समय धौलागिरि हिमालतिर अल्मलिएका उनीहरू १४ मेमा अन्नपूर्णतिर सोझ्िएका थिए। टोलीमा सात आरोही, एक चिकित्सक, एक फोटोग्राफर र एक कूटनीतिज्ञ पनि थिए– फँसिस द नोइएल। 
 
आरोहणपछि हिउँले खाएका हातखुट्टाका औंलाको उपचार गरेर दिल्लीबाट पेरिस पुग्दा हेर्जोगलाई राष्ट्रिय हिरोको रूपमा स्वागत गरियो। राष्ट्रपति द गोलले फ्रान्सेली युवालाई स्वस्थ, तन्दुरुस्त र साहसी बनाउन खेलकुद मन्त्री नियुक्त गर्दै देशभरका स्कूल, कलेज र संघसंस्थामा गएर प्रवचन दिन लगाए। त्यही समयमा हेर्जोगले पुस्तक लेखे– लान्नपुर्ना फर्मिए हुइमिल (अन्नपूर्ण पहिलो― आठ हजार मिटर)। १७ भाषामा अनुवाद भएको त्यो किताब बाइबल जस्तै बिक्री भएको हेर्जोगले यो सम्वाददातालाई सुनाएका थिए। उनले नेपालबारे अरू किताब पनि लेखे।  
 
सन् १९७० देखि २४ वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य रहेका हेर्जोगलाई१९६६–७७ मा हिमाल आरोहणको व्यवस्थित विकासका लागि फ्रान्सको हिमाली क्षेत्र सामोनीको मेयर बनाइयो। नेपाल जाने फ्रेन्चमध्ये अधिकांश सामोनीकै हुने गर्दछन्। युरोपमा नेपालबारे जानकारी राख्ने सबभन्दा धेरै नागरिक भएको देश फ्रान्स हुनुको जस हेर्जोगलाई नै जान्छ। हेर्जोगको पुस्तक पढेर, कार्यक्रम हेरेर अनि प्रवचनहरू सुनेर लाखौं फ्रान्सेली नेपालप्रति आकर्षित भएका छन्। उनको अन्नपूर्ण आरोहण अभियान माध्यमिक तहको पाठ्यक्रममा समावेश छ।   
 
अन्नपूर्ण आरोहणपछि राणा प्रधानमन्त्री मोहनशमशेरले हेर्जोगलाई 'तपाईं बहादुर हुनुहुँदोरहेछ, त्यत्रो हिमाल चढेर संसारभरि नेपालको नाम फैलाइदिनुभयो' भन्दै गोर्खाक्रसले सम्मान गरेका थिए। हेर्जोग नेपालका धेरै ठाउँ पुगे पनि बढी तारिफ अन्नपूर्ण क्षेत्रकै गर्थे। मों रनेसँस आफ्रे लान्नपुर्ना (अन्नपूर्णको आरोहणपछि मेरो पुनर्जन्म) किताबमा उनले 'अन्नपूर्णको लेतेमा मर्न चाहेको' उल्लेख गरेका छन्। अक्टोबर २०११ मा नेपाली राजदूतावासले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा अन्तिम पटक सरिक भएका थिए,हेर्जोग। कार्यक्रममा एउटा संयोग कस्तो जुरुरेको थियो भने हेर्जोगको आरोहण दलका मुख्य शेर्पा आङथार्केका छोरा दावा शेर्पाले उनलाई उचालेर कार्यक्रम हलमा पुरुर्‍याएका थिए।  
 
विवादास्पद आरोही 
फ्रान्सेलीहरूका 'हिमाली हिरो' हेर्जोगमाथि सयौं डकुमेन्ट्री र फिल्म बनेका, हजारौं लेख लेखिएका छन्। फ्रान्समा हिमालको चर्चा हुनासाथ हेर्जोग र अन्नपूर्णको प्रसंग जोडिन्छ। उनको अन्नपूर्ण विजयपछि नै युरोपमा हिमाल आरोहण साहसिक खेलका रूपमा स्थापित भयो।  
 
यति हुँदाहुँदै पनि हेर्जोगको आरोहण विवादास्पद रह्यो। उनले सफल आरोहण नगरेको दाबी गरिएका पुस्तकहरू पनि छन्। छोरी फेलिसिते हेर्जोगले समेत किताब लेखेर उनलाई एकदम झुटो, निष्ठुरी, आडम्बरी र धोकेबाज आरोहीको आरोप लगाएकी छन्। उनको दाबी छ, “चुचुरोमा कोही पनि पुगेको थिएन। उनीहरूको हात–गोडा हिउँले खाइसकेको थियो। त्यस्तो बेला कसरी चुचुरोमा पुग्न सक्छन्? मेरा बुबाले चार्ल्स द गोलको शक्ति प्रयोग गरी अरूलाई सँगै लगेर पनि चढ्न दिएनन्। त्यो एक्लै नाम कमाउनका लागि थियो।”  
 
हेर्जोगले नेपाललाई पनि सक्ने जति नदिएको नेपालप्रेमी फ्रान्सेलीहरूको गुनासो छ। तीमध्ये एक इसाबेल साकारो भन्छिन्, “हेर्जोगले नेपाललाई स्वीस अन्वेषक टोनी हागन र सगरमाथा आरोही एडमण्ड हिलारीले जति नै दिनसक्थे, तर उनीहरूको तुलनामा केही पनि दिएनन्, आफ्नो लागि मात्रै गरे।” तर पनि, संसारलाई नेपाल चिनाउनु र नेपाली पर्यटनलाई आजको ठाउँमा पुरुर्‍याउनुमा हेर्जोगको योगदान अतुलनीय मानिन्छ।

 

comments powered by Disqus

रमझम