३‍-९ साउन २०७२ | 19-25 July 2015

महाभूकम्पपछि फौजी कीरा

Share:
  

बुलुङ्ग–३ थापास्वाँरा दोलखाका श्रीराम खड्का अघिल्ला वर्षहरूमा यतिवेला धान रोपाइँ सकेर बारीमा कोदो रोप्ने चटारोमा हुन्थे। त्यसलगत्तै छोप्थ्यो, मकै भित्र्याउने चटारोले। यसपालि उनको गाउँको अवस्था विल्कुलै फरक छ। “खेतमा रोप्न ठिक्क भएको १० पाथी धानको बीउ फौजी कीराले गाई चरे जस्तै ठुटै बनाइदियो”, खड्का भन्छन्, “गाउँभर सबैको त्यस्तै छ।”

फौजी कीरा दोलखाको थापास्वाँरामा सखाप बनाएको मकै।

यस वर्ष राहतको अन्नले गुजारा चले पनि अर्को वर्ष अनिकाल लाग्ने उनले बताए। फौजी कीराले बुलुङ्गमा कोदोको ब्याड समेत सखाप पारिदिएको छ। पाँच पाथी कोदोको ब्याड राखेकोमा कीराले सखापै बनाएको थापास्वाँराका खड्काले बताए। पछि विषादी छरेर एक पाथी जति बीउ बचाएका उनले अर्को वर्ष ६ जनाको परिवार पाल्ने उपाय नभएको बताए। थापास्वाँराका चेतविक्रम खड्का, रामशरण खड्का, सूर्यबहादुर खत्री सबैको अवस्था श्रीरामको जस्तै छ।
मकैमा सुत्ला लाग्नुपर्ने यो वेला बुलुङ्ग उजाड छ। सबैको चिन्ता आउने वर्ष कसरी कटाउने भन्नेमा छ। “भूकम्पपछि चामल–चिउरा त पाइएको छ, तर अर्को साल के गरेर बाँच्ने?” रामशरण भन्छन्।

उत्तरी दोलखाको गौरीशंकर, कालिन्चोक, सिंगटी, खोपाचागु, बाबरे, विगु, लामावगर, बुलुङ्ग लगायत १५ भन्दा बढी गाविसमा जेठको दोस्रो र तेस्रो साताको बीचमा फौजी कीराले धान र कोदोको ब्याड र मकै समेत सखाप पारेको छ। जिल्ला कृषि विकास कार्यालय दोलखाका प्रमुख बौआलाल चौधरी महाभूकम्पपछिको माहोलमा ढिलो सूचना पाउँदा र बाटोघाटोमा पहिरो गएकोले रोकथाम गर्न नसकिएको बताउँछन्। उनले ती ठाउँहरूमा तरकारीको बीउ पठाइएको बताए। तर, थापास्वाँराका श्रीराम खड्का कृषिले ढिलो गरी दिएको दुई प्याकेट बीउले खेतबारी नढाकिने बताउँछन्। “तरकारी फले पनि बेच्न कहाँ, कसरी लैजाने?” खड्काको प्रश्न छ।

सिन्धुपाल्चोक, गोरखा, सोलुखुम्बु, मनाङ, मकवानपुर र बझाङका किसान पनि फौजी कीराको मारमा परेका छन्। भूकम्पपछिको खडेरी र घरबारविहीन अवस्थाले किसान कृषि विकास कार्यालयमा पुग्न पनि सकेका छैनन्। बाली संरक्षण निर्देशनालय हरिहर भवन पुल्चोक, ललितपुरका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारी सबैतिर खबर ढिलो हुँदा नोक्सानी बढी भएको बताउँछन्।

जिल्ला कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले फौजी कीराको प्रकोपको जानकारी पाएको पाँच दिनमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरबाट प्राविधिक टोली पठाएको बताउँछन्। थाहा पाएर पनि हिंडेर जान सक्ने अवस्था नहुँदा ढिलो भएको उनी बताउँछन्। उनका अनुसार, गोरखाको बारपाक, लाप्राक, केरौंजा लगायतका गाविसमा फौजी कीराले बीउ–ब्याड नष्ट पारेको छ। सबै ठाउँको नोक्सानीको आँकडा आउन बाँकी रहेको बाली संरक्षण निर्देशनालय, पुल्चोकका वरिष्ठ अधिकृत तिवारीले बताए।

उनका अनुसार, समुद्र सतहबाट १२०० मीटर भन्दा माथिको भेगमा फौजी कीराको प्रकोप हुन्छ। रातको समयमा आउने यो कीराको समूहले गाईबस्तु जस्तै चरेर बाली सखाप पार्छ।

मुकेश पोखरेल

comments powered by Disqus

रमझम