३‍-९ साउन २०७२ | 19-25 July 2015

अकारण रक्तस्रावको समस्या

Share:
  
- डा. सुमनराज ताम्राकार

महीनावारीको वेला अधिक रक्तस्राव हुने समस्या स्त्री जननेन्द्रियमा हुने संक्रमण लगायतका कारणले मात्र हुँदैन। जननेन्द्रियको माथिल्लो वा तल्लो भागमा सुजन, संक्रमण, क्यान्सर, मासु पलाउने (ट्युमर) तथा गर्भ सम्बन्धी कुनै खराबीको कारणबाट पनि अधिक रक्तस्राव हुन सक्छ। तर डीयूबीमा त्यस्तो कुनै प्रष्ट कारण नभएको हुन सक्छ।

स्त्री रोग विभागको बहिरङ्गमा आउने नयाँ बिरामीमध्ये करीब १० प्रतिशतमा डीयूबीको समस्या देखिने गरेको छ। रक्तस्रावको मात्रा, अवधि वा अन्तराल असामान्य हुने यो समस्या पाठेघरको भित्री तहको खराबीका कारणले हुन्छ। यस्तो रक्तस्राव डिम्ब निष्काशनसँग सम्बन्धित हुन र नहुन पनि सक्छ। सुत्केरी वा गर्भपतनपश्चात्, किशोरीवस्था, महीनावारी सुक्नु अगाडि तथा स्त्री जननेन्द्रियको माथिल्लो भागमा संक्रमण हुँदा चाँडो चाँडै (२१ दिनभन्दा कम समयमा) महीनावारी हुन सक्छ। यसको अलावा बच्चा पाउने उमेरको शुरू वा अन्त्यतिरका महिलाको पाठेघरको भित्री तह अनियमित रूपमा भत्किएर वा अपरिपक्व भएर पाठेघरबाट असामान्य रक्तस्राव हुन सक्छ।

प्रोजेस्टेरोन हर्मोनको अभावमा पाठेघरको भित्री तहलाई आवश्यक पर्ने बलको कमी हुने असामान्य रक्तस्राव (डीयूबी) पीडारहित खालको हुन्छ। यस्तो रक्तस्राव अत्यधिक मात्रामा हुन्छ। महीनावारी रोकिनु अगाडि देखापर्ने अर्को प्रकारको असामान्य रक्तस्राव नियमित रूपमा हुनुपर्ने हर्मोन उत्पादन वा डिम्बाशयको खराबीका कारण हुन्छ। डिम्बाशय निष्काशन नभएपछि प्रोजेस्टेरोन उत्पादन हुँदैन र इस्ट्रोजेनको निरन्तर प्रभावले पाठेघरको भित्री तह बाक्लिन्छ। यस्तो बाक्लो तह महीनावारीको रूपमा भत्किन थालेपछि लामो समय रक्तस्राव जारी रहन्छ। प्रोजेस्टेरोनको अभावमा रक्तनली खुम्च्याउने शक्ति पनि नहुनाले रक्तस्रावको मात्रा अधिक हुन्छ।

इस्ट्रोजेनको निरन्तर प्रभावले पाठेघरको मांसपेशी र त्यहाँका ग्रन्थि पनि सुन्निन्छन्। ती ग्रन्थि कुनै ठूला, कुनै साना भई बीच–बीचमा खाली ठाउँ सिर्जना हुन्छन्। एकातिर वा दुवैतिरको डिम्बाशयमा पनि इस्ट्रोजेनको प्रभावले स्रावयुक्त डल्लो उत्पन्न हुन सक्छ। महीनावारी सुकिसकेको महिलामा पाठेघरको चाउरिएको भित्री तह मुनिको सुन्निएको रक्तनली फुट्दा पनि अधिक रक्तस्राव हुन्छ।

उपचारमा होशियारी

विना कारण पाठेघरबाट हुने डीयूबीको उपचार गर्दा रक्तस्रावको मात्रा, अवधि तथा अन्तराल एवं रक्तस्रावको वेला सानो पेट दुख्ने/नदुख्ने लगायतका लक्षणहरूको विस्तृत जानकारी लिनुपर्छ। असामान्य रक्तस्रावको कारण खुट्याउन रगतको सामान्य जाँचदेखि रगत जम्ने/नजम्ने, थाइरोइड ग्रन्थिको अवस्था र पाठेघरको मासु जाँचदेखि भिडियो एक्सरे (अल्ट्रासाउण्ड) सम्म गरिन्छ। सुविधा उपलब्ध भएको अस्पतालमा पाठेघरमा दूरबिन राखेर हिस्टेरोस्कोपी वा ल्याप्रोस्कोपी जाँच पनि गरिन्छ।

विना कारण पाठेघरबाट हुने डीयूबीको उपचार किशोरी वा महिलाको उमेर समूह अनुसार गर्नुपर्ने हुन्छ। डीयूबी भएका किशोरीलाई रगत बढ्ने तथा दुखाइ कम गर्ने औषधिका साथै मानसिक ढाडस दिए पुग्छ भने बच्चा पाउने उमेर समूहका महिलाहरूमा हर्मोनयुक्त औषधिले राम्रो काम गर्छ। कसै कसैलाई पाठेघर सफा गर्ने (क्युरेट) वा पाठेघरको भित्री तह पगाल्ने लेजर उपचारको पनि जरुरत पर्न सक्छ। महीनावारी सुकिसकेका महिलाका हकमा भने पाठेघर र त्यस वरिपरि क्यान्सर, ट्युमर वा अरू संक्रमण छैन भन्ने कुरा निर्क्योल गरेर पाठेघर निकाल्ने शल्यक्रिया नै उपयुक्त उपचार हुन्छ।

महीनावारी सुक्ने वेला भएका महिलाहरूलाई डीयूबीको समस्या हुँदा क्युरेट गरी पाठेघरको भित्री तहको मासु जाँचेर केही समयका लागि प्रोजेस्टेरोन हर्मोनयुक्त औषधि दिन सकिन्छ। तर, अधिक मोटोपना, उच्च रक्तचाप वा मधुमेहको समस्या पनि छ भने कालान्तरमा पाठेघरको क्यान्सर हुनसक्ने हुनाले पाठेघर निकाल्ने शल्यक्रिया उत्तम विकल्प हुनसक्छ।

comments powered by Disqus

रमझम