३‍-९ साउन २०७२ | 19-25 July 2015

पुनरागमनको पर्खाइ

Share:
  
- रमेश कुमार
भूकम्प र स्ट्रक्चरल इन्जिनियरिङको क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका राजेश ढकाल (४५) महाभूकम्पपछिको देशका लागि पुनरागमन हुनुपर्ने नाम हो।

बिक्रम राई
२०४५ सालको भूकम्पले धरानस्थित घर ध्वस्त बनाएर बासकै ठेगान नभएका वेला राजेश ढकाललाई काठमाडौं गएर इन्जिनियरिङको प्रवेश परीक्षा दिने जाँगर थिएन। मनमौजी अल्लारे उमेरमा उनलाई जीवनमा यसो गर्छु, उसो गर्छु भन्ने महत्वाकांक्षा पनि थिएन, तर बुबा रामप्रसादले साम, दाम, दण्ड, भेद सबथोक अपनाएर रात्रिबस चढाइदिए। “नत्र यतिवेला म बढीमा कुनै विद्यालय वा कलेजमा गणित पढाइरहेको हुन्थें कि!” राजेश अनुमान लगाउँछन्।

त्यसरी विना तयारी प्रवेश परीक्षा उत्तीर्ण गरेर पुल्चोक क्याम्पसमा छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ पढेका ढकाल अहिले न्यूजिल्याण्डको प्रसिद्ध क्यान्टरबरी विश्वविद्यालयमा प्राध्यापक छन्। एशियाली विकास ब्यांक (एडीबी) को विज्ञको रूपमा महाभूकम्पपछिको पुनःनिर्माणमा परामर्श दिन अहिले काठमाडौंमा रहेका उनी यसअघि १२ वैशाखको महाभूकम्पलगत्तै पनि न्यूजिल्याण्ड सरकारले पठाएको विज्ञ टोली सदस्य बनेर नेपाल आएका थिए। नेपालमा भूकम्प नआएको भए अहिले उनी भिजिटिङ प्रोफेसरका रूपमा यूरोपका विश्वविद्यालयहरूमा लेक्चर दिइरहेका हुनेथिए।

लिक नछाडेको रेल

धरानका लाहुरे परिवारका साथीहरूसँग हाँसखेल गर्दै हुर्किएका प्रा. ढकाल जिन्दगीसँग कहिल्यै गम्भीर भलाकुसारी नगरी जस्तो बाटो आउँछ, विना योजना हिंडेको बताउँछन्। तत्कालीन धरान बोर्डिङ माविबाट स्कूले शिक्षा पूरा गरेका उनका मित्रमण्डली असाध्यै बरालिएका र अल्लारे थिए। काठमाडौं आएपछि पनि उनको संगत रामरमाइलो रुचाउने समूहसँग भयो। “क्याम्पसको पहिलो सेमेस्टरमै 'टप' भएपछि भने मलाई गोल्डमेडलिस्ट हुने रहर जाग्यो र होस्टलमा बस्न थालें”, ढकाल भन्छन्।

त्यसपछि नेपाल इन्जिनियरिङ स्टुडेन्ट्स एसोसिएसनको अध्यक्ष समेत भएका उनले बीईमा गोल्डमेडल जितेर पुल्चोक क्याम्पस पढाउँदै दूरसञ्चार संस्थान र सिंचाइ विभागमा इन्जिनियरको जागिर खाँदै तीन वर्ष विताए। त्यही बीचमा थाइल्याण्डको एशियन इन्ष्टिच्युट अफ इन्जिनियरिङ (एआईटी) मा स्ट्रक्चरल इन्जिनियरिङमा एमई गर्ने छात्रवृत्ति पाएका ढकाल त्यहाँ पनि गोल्डमेडल पाएर भूकम्प र कङ्क्रिटमा विद्यावारिधिको लागि टोकियो विश्वविद्यालय पुगे। सन् २००० मा विद्यावारिधि सकेर साढे दुई वर्ष सिंगापुरको नान्याङ विश्वविद्यालयमा पढाएपछि उनी न्यूजिल्याण्ड पुगे। क्यान्टरबरीमा उनका दिन प्राध्यापन र अनुसन्धानमा बित्छन्।

स्ट्रक्चरल इन्जिनियरिङमा टोकियो विश्वविद्यालयका स्नातकोत्तर रामचन्द्र न्यौपाने प्रा. ढकालका अनुसन्धानात्मक लेख तथा कार्यपत्रहरू संरचना निर्माण र भूकम्पको अध्ययन हुने महत्वपूर्ण संस्थाहरूमा सन्दर्भ सामग्रीका रूपमा आउने बताउँछन्। ढकालका ६ दर्जनभन्दा बढी जर्नल लेख र २५० प्राविधिक शोधपत्र छन्। ३० भन्दा बढी विद्यार्थीको विद्यावारिधि सुपरीवेक्षण गरिसकेका प्रा. ढकाल अहिले पनि आठ विद्यार्थीको सुपरीवेक्षण गरिरहेका छन्। उनले क्यान्टरबरी विश्वविद्यालयबाट 'योङ रिसर्चर अवार्ड' सहित एक दर्जन सम्मान पाएका छन्। यी यावत् पहिचानबाट प्रष्ट छ, ढकाल एउटा त्यस्तो नाम भएका छन्; जसको पुनरागमनलाई महाभूकम्पपछिको देशले व्यग्रतापूर्वक पर्खेको थियो। र, संभवतः यो बुझ्ोका ढकाल महाभूकम्पपछिका दिनहरुमा देशका लागि समय छुट्याउन थालेका छन्।

देशलाई दिने समय

न्यूजिल्याण्डको सन् २०१० र २०११ को भूकम्पपछिको पुनःनिर्माण योजनामा महत्वपूर्ण योगदान गरेका प्रा. ढकालको ज्ञान र अनुभव अहिले नेपाललाई काम लागेको छ। आफूमाथि देशले गरेको लगानी फिर्ता दिने अवसर पाएको उनी बताउँछन्। उनी पुरानो भवन निर्माण संहितालाई समयानुकूल बनाउन सरकारी निकायलाई परामर्श दिइरहेका छन्। “यो वेला वातावरण बनाइदिए स्वदेशको मौलिकताको जानकारीसँगै विदेशको ज्ञान–अनुभव भएका नेपालीले ठूलो योगदान गर्न सक्छन्”, ढकाल भन्छन्।

उनी महाभूकम्पछिको पुनःनिर्माणमा स्थानीय स्रोतसाधन र प्रविधिलाई बेवास्ता गर्दा भूल हुने बताउँछन्। जबर्जस्त कम्पनहरूले पनि नेपालमा भयावह हुने गरी घर लगायतका संरचना ध्वस्त नपार्नुले परम्परागत निर्माण प्रणाली सोचेजति असुरक्षित नरहेको सावित गरेको उनको भनाइ छ। भूकम्पले चर्काएको घरलाई भत्किएको भनेर गरिएको प्रचारलाई नाजायज भन्ने उनी कङ्क्रिट भवनमा भित्ता चर्किनुलाई सामान्य भन्छन्। “पिलर र बीमको संरचनामा क्षति पुगेको छैन भने भित्ता चर्किएर केही हुँदैन”, ढकाल भन्छन्, “बरु, कति गुणस्तरीय निर्माण सामग्री प्रयोग भएका थिए भन्ने कुरा चाहिं महत्वपूर्ण हुन्छ।”

नेपालमा महाभूकम्प आउँछ कि आउँँदैन भन्ने प्रश्नै नरहेको बरु कहिले आउँछ भन्ने कुराको अर्थ रहने उनी बताउँछन्। त्यो अर्थले भूकम्पका विषयमा बृहत् अध्ययन र पूर्वतयारी गर्ने नीतिको माग गर्छ। अबको पुनःनिर्माण नीतिले त्यसलाई ध्यानमा राख्नुपर्ने बताउँदै प्रा. ढकाल भन्छन्, “नेपालमा अब स्रोतसाधन सम्पन्न एउटा भूकम्प अनुसन्धान केन्द्र चाहिं चाहियो, चाहियो।”

comments powered by Disqus

रमझम