३‍-९ साउन २०७२ | 19-25 July 2015

पेम्बाको पहल

Share:
  
निजी विमानसहित अमेरिकामा सफल व्यवसायीको पहिचान बनाएका पेम्बाछिरी शेर्पा (४२) भूकम्प प्रभावित हिमाली क्षेत्र पुनःनिर्माणमा जुटेका छन्।

१२ वैशाखको महाभूकम्पले नेपालमा जति हल्लायो, त्यसभन्दा ठूलो कम्पन महसूस गरे अमेरिका बस्ने पेम्बाछिरी शेर्पाले।

भूकम्पसँगै कोलोराडोस्थित डेन्भर शहरका पेम्बाको व्यस्तता बढेको छ। हतारमा देखिन्छन् तर, हतास भने छैनन्। भन्छन्, “भोलि फेरि अर्को ठाउँ चन्दा उठाउन पुग्नु छ। राहत बोकेर कतिखेर नेपाल पुगौं भइरहेेको छ।”

निजी विमानमा पेम्बा।
कोलोराडोका पेम्बा अमेरिकाका आम शेर्पा होइनन्। स्वयं अमेरिकीले समेत पत्याएका शेर्पा हुन्, जसको जन्म सोलुखुम्बुको स्याङमा गाउँमा भएको थियो। उनको बाल्यकाल विद्यालयमा होइन, खर्कतिर चौंरी चराउँदैमा बित्यो। गनेर साध्य छैन, कैयौंपटक लुक्लाबाट पर्यटकको झोला सगरमाथा फेदीसम्म पुर्‍याए।
१८ वर्षका थिए, जतिवेला उनी पहिलोपटक अमेरिकाको रंगीन शहर सान्फ्रान्सिस्को आइपुगे। सन् १९९१ को त्यो यात्राले अन्ततः उनलाई कोलोराडो पुर्‍यायो। त्यहींबाट माध्यमिक शिक्षा पूरा गरे।

शेर्पा, हिमाल र पर्यटक– यी तीनको भेउ पेम्बाले युवा उमेरमै पाएका थिए। त्यसैले आएकै वर्ष शेर्पा एसेन्ट इन्टरन्याशनल संस्था खोलेर पर्यटन व्यवसाय शुरु गरे। वर्षेनि १३० जनासम्म अमेरिकीलाई उनले नेपाल घुमाए। दशवर्षे सशस्त्र हिंसाले पर्यटन व्यापारमा असर गरेपछि उनी लागे रेस्टुरेन्ट व्यवसायतिर। कोलोराडोकै बोउल्डर शहरलाई केन्द्रबिन्दु बनाएर सन् २००२ मा उनले शेर्पाज् एडभेञ्चर्स रेस्टुरेन्ट एण्ड बार आरम्भ गरे। रेस्टुरेन्टले मीठो खानासँगै शेर्पा जाति र हिमाली परिवेश समेत पस्कन्छ।

रेस्टुरेन्टपछि पेम्बा घरजग्गा व्यवसायमा होमिए। डेन्भरदेखि वोर्डरसम्मका आठ वटा घर र २५ हेक्टरभन्दा बढी जग्गाका मालिक पेम्बा नै हुन्। जापानको टोकियो र थाइल्याण्डको फुकेटमा पनि उनको घर छ।

पेम्बाको अर्को व्यापार 'शेर्पा चि' हो। नेपालबाटै कच्चा पदार्थ मगाउने उनी यतिवेला स्वदेशमै चिया उत्पादन गर्ने दाउमा छन्। चियाबाट मात्र वार्षिक पाँच मिलियन डलर कमाउने उनको योजना छ। “चियाको आम्दानी समाजसेवामा लगाउँछु”, उनी सुनाउँछन्।

अमेरिकामा पेम्बाको निजी पाइपर विमान छ। आफैं विमान चलाएर ग्वाटेमालादेखि तान्जानिया र मेक्सिकोसम्म पुग्छन्। उनी पाइपर विमानबाट आफ्नै डाँडापाखा र हिमालको दर्शन गर्न चाहन्छन्। त्यसो त कुनै वेला उनले नेपालमै हवाई व्यवसाय गर्न खोजे। तर, मुलुकको अस्थिर राजनीतिले उनलाई निराश बनायो।

जापानी मूलकी आर्किटेक्ट मोरिको तुमहारासँग विवाह गरेका दुई छोरीका पिता पेम्बा आत्मकथा लेखिरहेका छन्, जहाँ उनको जीवनका कैयौं पाटा खुल्नेछन्। “विगत तीतो नभए वर्तमानमा रसिलो कहाँ हुन्छ र?” पेम्बा सम्झन्छन्।

भूकम्पपीडित सोलुका लुक्लादेखि जोरसल्लेसम्म नौभन्दा बढी गाउँ पुगेर नगद सहयोग गरेका पेम्बाले ल्याएको जिन्सी भने भन्सारमै रोकियो। रु.२ करोड बराबरको राहत पुर्‍याएर फर्किएका पेम्बा सहयोगमै जीवनको सार्थकता देख्छन्। “मेरो सहयोगले गाउँले खुशी भए, मलाई चाहिएको त्यत्ति थियो”, उनी भन्छन्। अब उनी ती गाउँको पुनःनिर्माणमा सहयोग जुटाइरहेका छन्। भूकम्पअघि पनि विद्यालयदेखि बाटो निर्माणसम्ममा उनले पटकपटक आर्थिक सहयोग गरेका थिए। भूकम्पले सबै सकियो भन्नेहरुसँग पेम्बा फरक मत राख्छन्। दुईहप्ते नेपाल यात्राका क्रममा उनले देखेको सबैभन्दा ठूलो सम्भावना भनेकै पर्यटन हो। “पर्यटकले हेर्ने नदी, पहाड र हिमाल उस्तै छन्”, उनी भन्छन्, “बरु राजनीति पो अस्थायी टहरो जस्तो छ, नेता सुधि्रए हुन्थ्यो।”

जाङ्वु शेर्पा, अमेरिका

comments powered by Disqus

रमझम