सार्वभौम मुलुकको नियति

Share:
  
p56
 
 

चक्रव्यूहमा चन्द्रसूर्य 

लेखकः सरोजराज अधिकारी 
प्रकाशकः सांग्रिला पुस्तक प्रा.लि. 
पृष्ठः ३२८+,
मूल्यः रु.३५० 
 
एउटा सार्वभौम मुलुकले कूटनीतिक क्षमता गुमाउँदै जानु र शक्तिशाली छिमेकीहरूलाई सुरक्षामा आश्वस्त पार्न नसक्नुको परिणति जे हुन्छ, त्यसैको शब्दचित्रण हो― पत्रकार सरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्रसूर्य। नेपालको भूमि आफ्नो 'सुरक्षा हित' विरुद्ध प्रयोग भइरहेको चीन र भारतको बुझ्ाइ प्रत्यक्ष–अप्रत्यक्ष 'हस्तक्षेप' मा प्रकट हुनथालेको र त्यसले गर्दा राष्ट्रिय सुरक्षाका अवयवहरू धर्मराउँदै गएको छ भन्ने किताबको निचोड हो। यद्यपि यसको कारणको रूपमा लेखकले नेपालको कूटनीतिक विफलतालाई भन्दा छिमेकीहरूको भूमिकालाई बढी महत्व दिएका छन्।  
 
किताबको शुरूमा 'प्रायोजित अपराधका श्रृंखला' भनेर पूर्वमन्त्री मिर्जा दिलसाद वेगदेखि इस्लामिक संघका महासचिव फैजान अहमदसम्मका सात संगठित हत्या र हत्या प्रयासलाई समेटिएको छ। अन्तर्राष्ट्रिय आपराधिक गिरोह 'अण्डरवर्ल्ड' जोडिएको भनिएका यी घटनामा भारतीय सुरक्षा र गुप्तचर संयन्त्रकै हात रहेको (फैजान हत्या त भारतीय सुरक्षाकर्मीबाटै भएको) दाबी गरिएको छ। नेपालका मुसलमानहरूमा पाकिस्तानी गुप्तचर संस्था 'आईएसआई' का एजेण्ट र 'आतंककारी' देख्ने भारतीय संस्थापनले आफ्नो आग्रहपछि पनि नेपाल सरकारले 'संदिग्ध व्यक्ति' हरूलाई कारबाही नगरेकोले आफैं अघि सरेको तथ्य स्थापित गर्न खोजेको लेखकको तर्क छ।  
 
एक प्रसंगमा लेखकले पूर्वयुवराज पारस शाह समेत भारतीय सुरक्षा–गुप्तचर संयन्त्रको निशानामा परेकोले विदेशमा बस्नुपरेको जनाएका छन्। संक्रमणकाल र परनिर्भर राजनीतिक मनोवृत्तिको फाइदा उठाएर भारतले नेपालको राष्ट्रिय सुरक्षाकै लागि प्रत्युत्पादक हुनसक्ने सुपुर्दगी सन्धि, स्काई मार्शल र फौजदारी अपराधमा आपसी कानूनी सहयोग सम्बन्धी सम्झ्ौता (एलएमए) गर्न दिइरहेको दबाबलाई किताबमा 'भारतीय चासोका अधुरा विषय' को रूपमा उठाइएको छ। 'लेन्डुप दोर्जेको खोजी' ले मुलुकको अखण्डतालाई वास्तविकताभन्दा बढ्तै संकटपूर्ण देखाउन खोजेको छ।
 
चिनियाँ पक्षले तिब्बती शरणार्थीहरूलाई 'स्वतन्त्र तिब्बत आन्दोलनका संवाहक' र 'चीनविरोधी दस्ता' ठान्ने गरेको तथा नेपालमा चुलिंदो युरोपेली–अमेरिकी चासो–सक्रियताले उसलाई झ्न् सशंकित बनाएको कुरा किताबमा उल्लेख छ। लेखकले गुप्तचर संयन्त्रको 'गोप्य प्रतिवेदन' को हवाला दिंदै नेपालका थुप्रै तिब्बती गुम्बा चीनविरोधी गतिविधिमा प्रयोग भइरहेको कुरा लेखे पनि स्वतन्त्र रूपमा पुष्टि गरेका छैनन्। ४ चैत २०६५ मा राजधानीमा पक्राउ परेका तीन व्यक्ति र उनीहरूबाट बरामद हतियार तथा गोलीगट्ठाबाट 'संविधानसभामा सभासद्हरूको सामूहिक हत्या गर्ने योजनाको ठूलो दुर्घटना टरेको' भन्ने कुरा पनि स्पष्ट पुष्ट्याईं विना राखिएको छ।
 
लेखकले यसमा अघिल्लो किताब जासूसीको जालो कै सनसनीपूर्ण शैली पछ्याएका छन्, यद्यपि आफैंले सूचनामूलक भनेको किताबलाई तथ्य र घटनाहरूको सिलसिलाबद्ध प्रस्तुतिले वजनदार बनाउन सकिन्थ्यो, सनसनीपूर्ण बनाइरहनै पर्दैनथ्यो। यस्ता कमजोरी रहे पनि विषयवस्तु, घटनाक्रम र अपराध, सुरक्षा तथा कूटनीतिसँग सम्बन्धित कतिपय नखुलेका पाटोको जानकारीका लागि किताब उपयोगी छ। भूमिका लेख्ने सुरक्षाविज्ञ प्रा. ध्रुबकुमारका शब्दमा, “पढेर मुटु बिझने यो पुस्तक अध्येताहरूका लागि सूचनाको भण्डार र ज्ञानी–अल्पज्ञानी सबैका निम्ति महत्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छ।” 
 
रामेश्वर बोहरा  
संगठित अपराधको  चिरफार 
p56a
 
 

ओपन सेक्रेट  
लेखक :  केपी ढुंगाना
प्रकाशक :  फाइनप्रिन्ट 
पृष्ठः २८९+१३,
मूल्यः रु.२५०

पत्रकार केपी ढुंगानाको ओपन सेक्रेट ले मुम्बईका 'अण्डरवर्ल्ड'को चुनौती, कमजोर कानूनी व्यवस्था, 'ओपन सेक्रेट' बनेको अपराध र त्यसका परिणामहरू पस्केको छ।  
 
काठमाडौं, नेपालगञ्ज, बुटवलमा २०५५ यता भएका सांसद् तथा पूर्वमन्त्री मिर्जा दिलसाद वेग, रोजगारीमा मलेसिया पुगेका कमलसिंह नेपाली, 'करेन्सी किङ' मजिद मनिहार, 'कन्ट्र्याक्ट किलर' शौकत वेग, सञ्चारउद्यमी जमिम शाह र इस्लामिक संघका महासचिव फैजान अहमदको हत्या तथा केन्द्रीय कारागारमा भएको युनुस अन्सारीको हत्या–प्रयासका भित्री पाटो उजागर गर्न धेरै हदसम्म सफल छन्, ढुंगाना। यी सातवटै निशाना कुनै समय कुनै रूपमा 'अण्डरवर्ल्ड' सँग जोडिएका, नजोडिएका भए पनि भारतको आधिकारिक स्तरबाट त्यस्तो आरोप लगाइएका र हत्यारा परिचालन पनि दक्षिणतिरबाटै भएको लेखकको दाबी छ। निहित स्वार्थनिम्ति नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहको क्रीडास्थल बनाउन भरथेग गरिरहेका कतिपय राजनीतिक दलका नेता, पैसाका लागि अपराधीसँग साँठगाँठ गर्ने प्रहरी–प्रशासनका अधिकारीहरूको कर्तुत किताबमा पर्दाफास गरिएको छ।  
 
अण्डरवर्ल्ड अपराधमा कुनै बेलाका 'जिगरी दोस्त' दाउद इब्राहिम र छोटा राजनको सहयात्रा तथा 'जानी दुश्मनी' र यसलाई लिएर भारतीय, पाकिस्तानी र अन्य गुप्तचर निकायका परस्पर विरोधी कामको बाछिटाको वृत्तान्त बनेको छ, किताब।  
 
सूचनाका हिसाबले किताब पुष्ट छ। काठमाडौंदेखि, मुम्बई र मलेसियादेखि दुबईसम्मको अपराध दुनियाँको तस्वीर उतार्न निकै मिहिनेत गरेका लेखकले त्यसको एउटै दृष्टिकोण मात्रै प्रस्तुत गरेर अरू आयाम नछुने कमजोरी देखाएका छन्। कतिपय घटना–प्रसंगमा अपनाइएको नाटकीय शैलीले विवरणलाई बढी पठनीय र सम्प्रेषणीय बनाए पनि तथ्यहरूमाथि न्याय भएको छैन।

 

comments powered by Disqus

रमझम